काठमाडौं १४ भदौ । मुलुकको ‘लाइफ लाइन’ को रुपमा रहेको प्रदेश २ को एक मात्र महानगरपालिका वीरगन्जमा बाजी मार्न दलले सम्पूर्ण साधन, शक्ति र स्रोत प्रयोग गर्ने रणनीति अघि सारेका छन् । आक्रामक प्रचार प्रसारका लागि उम्मेदवारले चुनावी भिडियो निर्माण गर्न लगाएका छन्, केहीले भारतबाट ‘आईटी’ विशेषज्ञ नै झिकाएका छन् । दलबीच चुनावी ‘भिडन्त’ सुरु भइइसकेको छ ।
गत साता राष्ट्रिय जनता पार्टी (राजपा)ले पनि भाग लिने निर्णय गरेपछि मधेसमा निर्वाचनको रौनक छाएको छ । ६ महिना लामो मधेस बन्द, साढे चार महिनाको नाकाबन्दी र भर्खरै आएको बाढी र डुबानको चपेटामा परेका यस भेगका जनतालाई आफ्नो पक्षमा पार्न ठूला दलका शीर्ष नेता नै मधेस झरेका छन् । बाढी र डुबानको पीडा खेप्नु परेपनि मतदाता स्थानीय सरकार गठनमा उत्सुक देखिएका छन् ।
स्थानीय तहमा सोमबार निर्वाचन अधिकृतको कार्यालय खोलिदा स्थानीय राजनीतिक दल र जनताको व्यापक सहभागिता देखिएको थियो । प्रदेशका ८ जिल्लामा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १ सय ३६ स्थानीय तह कायम छन् ।
राज्य पुन:संरचनापछि पहिलोपटक हुन लागेको स्थानीय तह निर्वाचनमा मत खसाल्न मतदाता आतुर छन् । पछिल्लो तीन दिनदेखि एमालेका शीर्ष नेताहरु वीरगन्जमै चुनावी छलफल, प्रशिक्षण र घरदैलो अभियानमा सामेल भएका छन् । शनिबार राजपा अध्यक्ष महन्थ ठाकुर पर्साको ग्रामीण भेगमा पार्टी प्रवेश कार्यक्रममा सहभागी भएका थिए । संघीय समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पनि केही दिनभित्रै वीरगन्ज आउने भएका छन् ।
पछिल्लो मधेस आन्दोलन र भारतको अघोषित नाकाबन्दीको ‘केन्द्रविन्दु’ वीरगन्ज बनेको थियो । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा पनि सबैको केन्द्रविन्दु पनि यहीं नगर बनेको छ । मधेसकेन्द्रित दलदेखि लिएर ठूला दलले २ नम्बर प्रदेशको एकमात्र महानगर वीरगन्जलाई कब्जा गर्ने रणनीति बनाइरहेका छन । त्यही अनुसार प्रचार र रणनीति बनाउन व्यस्त छन् । बजारमा चर्चित अनुहार र पैसावालालाई टिकट दिने देखि लिएर पार्टीका प्रभावशाली नेतालाई यहांको मेयर उम्मेदवार घोषणा गर्ने तयारीमा दल रहेका छन् ।
यस्ता छन् मेयरका उम्मेदवार
सत्तारुढ दल कांग्रेस स्थानीय तह निर्वाचनको पहिलो र दोस्रो चरणमा दोस्रो स्थानमा आएपछि प्रदेश नम्बर दुईमा अत्यधिक सिट जितेर पहिलो हुने रणनीतिमा छ । वीरगन्ज महानगरको मेयरका लागि प्रभावशाली उम्मेदवार मानिएका जिल्ला सभापति तथा पूर्व सभासद अजय द्धिवेदीलाई टिकट दिने करिब पक्का भएको छ । ०४९ सालमा उपमेयर भएका द्धिवेदी पहिलो संविधान सभाको निर्वाचनमा पर्साको क्षेत्र नम्बर २ बाट निर्वाचत भएका थिए ।
दोस्रो संविधान सभाको निर्वाचनमा त्यही क्षेत्रमा एमालेसँग पराजित भएका द्धिवेदी विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा उदाएका हुन् । सम्भावना भएका, मृदुभाषी, प्रष्टवक्ता र सैद्धान्तिक ज्ञान भएको मानिएपनि द्धिवेदीका वरिपरि भिजन नभएका कार्यकर्ताको गुट हावी भएको कांग्रेसजनको आरोप छ । अन्य राजनीतक दलले द्धिवेदीलाईनै प्रमुख प्रतिद्धन्द्धीको रुपमा लिएका छन् । आधिकारिक रुपमा घोषणा नभइसकेकाले द्धिवेदीले प्रसार प्रसारलाई तीव्रता दिएका छैनन् । प्रमुख प्रतिपक्षी एमालेले नवप्रवेशी बशरुद्दिन अन्सारीलाई मेयरमा लडाउने घोषणा नै गरिसकेको छ ।
यहाँस्थित नेशनल मेडिकल कलेजका प्रबन्द निर्देशक समेत रहेका अन्सारी एमालेबाट मेयरको टिकट पाउने आश्वासनमा गत जेठ अन्तिम साता एमाले प्रवेश गरेका थिए । दोस्रो संविधान सभा निर्वाचनमा एमाओवादीबाट चुनाव लडेका अन्सारी राजनीतिक गतिविधीमा संलग्न रहेपनि उनको पृष्ठभूमि भने राजनैतिक हैन् । मिजासिला स्वभावका अन्सारी लो–प्रोफाइलमा बस्न रुचाउने जानकार बताउँछन् । मधेस आन्दोलनका क्रममा एमालेलाई लक्षित गरी मधेसकेन्द्रीत दलले छरेको भ्रम चिर्दै अन्सारी नेता र कार्यकर्ता लिएर आक्रामक प्रसार पसार थालेका छन् । कार्यवाहक अध्यक्ष बामदेव गौतम, वरिष्ठ नेता माधव नेपाल, शंकर पोखरेल लगायतका नेता अन्सारीको घरदैलो अभियानमा सहभागि भएका छन् ।
संघीय समाजवादी फोरम नेपालले व्यापारी विजय सरावगीलाई मेयरको चुनावी रणभूमिमा उतारेको छ । वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सरावगी ट्रेडिङ र वित्तीय संस्थाका सञ्चालक हुन् । ५ महिना अगाडि पार्टी अध्यक्ष उपेन्द्र यादवको हातबाट टिका र माला लगाएर फोरम प्रवेश गरेका सरावगी उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य समेत भइसकेका छन् । मधेस आन्दोलनमा सहभागी नभएपनि जिल्ला अध्यक्ष प्रदीप यादव र कार्यकर्ताको बलियो साथ पाएका सरावगी मधेसको माग र अधिकारका लागि संघर्षरत पार्टीको ‘लिगेसी’ र व्यापारिक छवि देखाएर आफ्नो पक्षमा माहौल बनाउने रणनीतिमा रहेका छन् । गत वैशाखमा ६ दल मिलेर गठन भएको राजपा चुनावमा भाग लिने निर्णय गरेसँगै आन्तरिक द्धन्द्ध सडकमा प्रदर्शन हुन थालेको छ । तत्कालिन तराई मधेस लोकतान्त्रिक पार्टीका विमल श्रीवास्तव र राष्ट्रिय मधेस समाजवादी पार्टीका राजेशमान सिंहले वीरगन्जको मेयरका लागि दाबी गरेपछि पार्टीलाई विवाद समाधान गर्न हम्मे परेको छ । उम्मेदवार छनौटका लागि केन्द्रले खटाएका पर्यवक्षेक विजय गुप्ताकै अगाडि गत शुक्रबार दुई पक्षले टिकटको दाबी गर्दै शक्ति प्रदर्शन गरेपछि कार्यक्रम विथोलिएको थियो । शाहीकालको स्थानीय निकायको चुनावसँगै ४ पटक वीरगन्जको मेयर भइसकेका श्रीवास्तव राजनीतिमा आधारभूत तहबाट आएका राजनीतिका पुराना खेलाडी मानिन्छन् ।
राजपाबाटै मेयरका अर्का आकांक्षी राजेशमान सिंह पछिल्लो मधेस आन्दोलनमा सक्रिय सहभागि रहेका थिए । ०५४ को स्थानीय निकायको चुनावमा वीरगन्जको ३ नम्बर वडा सदस्यमा जीतेका सिंह ०५७ मा नगरपारिषदको अध्यक्षमा स्वतन्त्र समूहबाट बिजयी भएका थिए । ०५७ देखि संविधान सभाको पहिलो निर्वाचनसम्म श्रीवास्तवको सहयोगीको रुपमा रहेका सिंह दोस्रो संविधान सभामा प्रतिद्धन्द्धी भएर देखापरे । सिंह र श्रीवास्तबीच मत बाँडिदा कांग्रेसका राजेन्द्र अमात्यले जीतेका थिए । सिंह र श्रीवास्तव मिलेर एकजना चुनाव लडेमा जोसुकैका लागि बलियो प्रतिस्पर्धी हुने राजनीतिक विश्लेषकको बुझाई छ । युवा माझ लोकिप्रिया रहेका सिंह ‘एक्शन ओरियन्टेड’ नेताको रुपमा चर्चित छन् । अर्को सत्तारुढ दल माओवादी केन्द्रले आर्थिक तथा व्यापारिक नगरीको मेयरमा युवा उम्मेदवार रहबर अन्सारीलाई अगाडि सारेको छ ।
विदेशमा अध्ययन गरेका ३१ वर्षीय अन्सारी वीरगन्जको गण्डक अस्पतालका निर्देशक हुन् । हंगेरीको बुडापेष्टमा रहेको सेन्ट्रल युरोपियन युनिभर्सिटीबाट सार्वजनिक नीति र शासन प्रणालीमा स्नाकोत्तर गरेका अन्सारी माओवादीका जिल्ला सदस्य र माओवादी निकट मुस्लिम मुक्ति मोर्चाका केन्द्रीय सदस्य पनि हुन् । निर्वाचन प्रचारका लागि उनले युट्युबमा अपलोड गरेको भिडियोले बढी चर्चा बटुलेका छन् । फोरम लोकतान्त्रिक र राप्रपा नेपालले अझसम्म मेयरको उम्मेदवार कसलाई बनाउने भनेर तय गरिसेकका छैनन् । राजपाका बागीलाई टिकट दिने रणनीतिमा दुबै पार्टी रहेको जानकार बताउँछन् ।
यस्तो छ महानगर
निर्वाचन कार्यालयका अनुसार ३२ वडा रहेको महानगरमा एक लाख ८ हजार पाँच सय एक मतदाता रहेका छन् । १६ गाउँका वासिन्दा बिना पूर्वाधार एकैपटक महानगरवासी बन्न पाउँदा सेवा सुविधा थपिने आशा लिएका छन् । २०७१ मंसिर १६ मा सरकारले उपमहानगर विस्तार गर्ने क्रममा ११ गाविस उपमहानगरपालिकामा गाभेको थियो । गाविसबाट उपहानगर हुँदै अहिले महानगरवासी बनेका नयाँ ५ सहित १६ गाविसका वासिन्दालाई भौतिक पूर्वाधार, सरसफाई लगायतका सेवा सुविधा पुर्याउन महानगरपालिकालाई चुनौती थपिएको छ । न्युनतम पूर्वाधारको विकास बिना नै राजनीतिक उद्देश्यका लागि महागर घोषणा गरिएकाले चुनौती र जिम्मेवारी थपिएको महानगरपालिकाका कर्मचारीको भनाई छ ।
एक सय ३२ दशमलव सात वर्गकिलोमिटर क्षेत्रफल रहेको महानगरपालिकाको पूर्वमा वारा जिल्ला र दक्षिणमा भारतको विहार राज्यसँग सीमा जोडिएको छ । मुलुकको मुख्य प्रवेशद्धार र औद्योगिक व्यापारिक नगरी वीरगन्ज पछिल्लो समय अव्यस्थित बन्दै गएको छ । घन्टाघर, माइस्थान, आदर्शनगर, छपकैयाक्षेत्रमा बढो सवारी चापका कारण आवागमन कठिन बन्दै गएको छ । २ लेनको सडकमा रिक्सा, साइकल, मोटरसाइकल, टांगा, बयलगाडा, कार, जीप लगायतका ‘मिश्रित’ सवारी साधन गुड्ने गरेका छन् । पाँच दशक अगाडि जुन योजना अनुसार सडक निर्माण गरिएको थियो, त्यसको क्षमताले यातायात र आवागमनको चापलाई थेग्न नसक्ने अवस्था छ । जनसंख्या वृद्धिका कारण पनि सडक वृद्धि अनिवार्यजस्तो बन्न पुगेको छ । सडकको चौडा विस्तार नगरेसम्म व्यवस्थित सहरको कल्पना गर्न मात्र सकिन्छ । वीरगन्जवासीको दैनिक जीवनलाई सहज र व्यवस्थित बनाउन सडक विस्तारलाई व्यवस्थित तरिकाले लैजानुपर्छ ।
व्यापारिक नाका विस्तार योजना अन्तर्गत विराटनगर, भैरहवा र नेपालगन्जका मूख्य सडक ६ लेन निर्माण भएपनि वीरगन्जको त्रिभुवन राजमार्ग अझै फराकिलो हुन सकेको छैन् । योजना अन्तर्गत सडक विभागले प्रयास गरेपनि यहाँका केही नेता र उद्योगी/व्यापारीले अवरोद्ध सृजना गर्दै आएका छन् । विमलेन्द्र निधि भौतिक योजना तथा निर्माण मन्त्री हुँदा उनी निकट मानिएका नेता र व्यापारीले मन्त्रालयनै पुगेर वीरगन्ज–पथलैया सडक विस्तारको नक्सांकन नै परिवर्तन गर्न लगाएका थिए । हाल निर्माणाधिन रहेको उक्त सडकखण्ड पथलैया देखि वाराको परवानीपुर हुँदै वीरगन्जको सुक्खा बन्दरगाह जाने सडक फराकिलो पार्ने कार्य भइरहेको छ ।
सडक विभागका एक इन्जिनियरका अनुसार वीरगन्जको केही नेता र व्यापारीको दबाबले रेखाकंन परिवर्तन नगरिएको भए अहिले परवानीपुरदेखि वीरगन्जको हुँदै भन्सारसम्मको सडक फराकिलो पार्ने कार्य सम्पन्न भइसकेको हुन्थ्यो । विभिन्न मञ्चहरुमा तिनै नेता र उद्योगीले राज्यले वीरगन्जलाई हेला गर्यो भनेर भाषण समेत गर्छन् । योजनाविहिन वस्ती विस्तारका कारण सहर अव्यस्थित बन्दै गएको छ । कान्तिपुरबाट