Logo

ओलीले सोधे, ‘चुनाव दुई चरणमा गर्नुको औचित्य के हो ?’



काठमाडौं १५ भदौ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन दुई चरणमा गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएको छ ।

नियमित उपचार गरी थाइल्यान्डबाट बुधबार दिउँसो स्वदेश फर्केका एमाले अध्यक्ष केपी ओलीले दुई चरणमा निर्वाचन गर्ने निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले मंसिर १० गते एकैचरणमा गर्ने भनिएको चुनाव दुई चरणमा पुर्‍याउनुको औचित्य नभएको टिप्पणी गरे । ‘निर्वाचन आयोगले पहिले गरेको ४ र २१ को प्रस्तावलाई मिलाएर मंसिर १० गतेलाई तोकिएको हो,’ उनले भने, ‘फेरि २१ गते पुर्‍याउनुपर्ने र दोस्रो चरणमा गर्नुपर्ने आवश्यकता म देख्दिनँ ।’

उनले निर्वाचन आयोगको अप्ठ्यारा हो भने जिम्मेवार र प्रमुख दलहरुसँग परामर्श गरेर औचित्यको आधारमा चुनाव सार्नुपर्नेमा मन्त्रिपरिषद्ले एकलौटि निर्णय गरेको भन्दै सरकारको आलोचना गरे । ‘आयोगले जिम्मेवार दलहरुसँग छलफल, परामर्शका आधारमा कति दिन चुनाव सार्नुपर्ने हो, आवश्यकता र कारण पहिचान गरी निर्णय गर्ने हो, मन्त्रिपरिषद्ले आफ्नो ढंगले गर्ने होइन ।’

लामो समयको अन्तरालमा दुई चरणमा चुनाव गर्दा मतपेटिका रक्षालगायत कुरामा समस्या हुने उनले बताए । लोकतन्त्रलाई सृदृढ गर्नका लागि स्वच्छ, निष्पक्षता र शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउनुपर्नेमा जोड दिँदै ओलीले निर्वाचनको निष्पक्षतामाथि सत्तासिन कांग्रेस, माओवादी केन्द्र गठबन्धनको क्रियाकलाप, गतिविधिमा आमजनताको विश्वास नभएको दाबी पनि गरे ।



प्रतिक्रिया दिनुहोस्