Logo

प्रदेश २ मा चुनावको चहलपहल बढ्यो



काठमाडौं १७ भदौ ।
असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको चुनावका लागि यतिखेर प्रदेश २ तातिएको छ । कतिपय दल उम्मेदवारी छनोटका लागि दौडधुपमा लागेका छन् भने कतिपयले घोषणा गरी प्रचारप्रसारमा लागिसकेका छन् । भदौ २१ गते उम्मेदवारी मनोनयन हुने समय तोकिएको छ तर प्रमुख दलहरूले नै अझै उम्मेदवारी टुङ्गो लगाएको छैन ।

जिल्लाहरूबाट उम्मेदवारको नामवाली केन्द्रीय कार्यालयमा आइसकेका छन् । त्यसलाई अन्तिम रूप दिन दलका नेताहरू छलफलमा जुटेका छन् । काँग्रेसका नेता विमलेन्द्र निधिले प्राप्त नामावलीमध्येबाट नै उम्मेदवार टुङ्गो लगाउने काम सकिएको र चाँडै सार्वजनिक हुने बताउनुभयो । त्यस्तै, माओवादी केन्द्रले पनि उम्मेदवारको टुङ्गो लगाइसकेको र औपचारिक घोषणा हुन बाँकी छ । त्यस्तै एमालेले पनि एक दुई दिनमै उम्मेदवारको टुङ्गो लाग्ने जनाएको छ ।

यसरी केन्द्रले उम्मेदवार टुङ्गो लगाउन बाँकी राखे पनि स्थानीय तहका सम्भावित उम्मेदवारहरूले आ–आफ्नो चुनावी क्षेत्रमा चुनावप्रचार तथा घरदैलो कार्यक्रममा लागेको सङ्घीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष प्रदीप यादवले जानकारी गराउनुभयो । तेस्रो चरणमा भइरहेको प्रदेश २ मा १३६ स्थानीय तहमा आगामी असोज २ मा निर्वाचन हुन लागेको हो । प्रदेश २ का आठ जिल्लामा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ स्थानीय तह छन् ।
त्यसमध्ये एउटा मात्र पर्सा जिल्लाको वीरगन्ज महानगरपालिकामा चुनावी चहलपहल निकै तातिएको छ । उद्योगी नगरीको रूपमा चिनिएको वीरगन्ज महानगरपालिकामा एक लाख १२ हजार मतदाता छन् । ३२ वटा वडा रहेको सो महानगरपालिकाका लागि अहिलेसम्म फोरम नेपालले मात्र मेयरको नाम घोषणा गरेको छ । उद्योगीको रूपमा परिचित विजय सरावगीलाई मेयरको रूपमा अघि सारिएको छ । उम्मेदवारी घोषणासँगै प्रचारप्रसार तथा घरदैलो कार्यक्रमलाई उहाँले तीव्रता दिनुभएको छ ।
अन्य दलले औपचारिक रूपमा घोषणा नगरे पनि नेपाली काँग्रेसबाट अजय द्विवेदी, नेकपा एमालेबाट बसरुद्दीन अन्सारी, नेकपा माओवादी केन्द्रबाट रोहवर अन्सारी, राजपा नेपालबाट विमल श्रीवास्तव र राजेशमान सिंहको पनि मेयरमा चर्चा छ । उहाँहरूले पनि आफ्नो उम्मेदवारको प्रचारप्रसारमा लाग्नुभएको छ । यद्यपि सरावगीबाहेक अन्यको नाम केन्द्रबाट टुङ्ग्याउन बाँकी रहेको बताइन्छ ।
प्रदेश २ मा जनकपुर, जितपुर–सिमरा र कलैया गरी तीन उपमहानगरपालिका छन् । यी उपमहानगरपालिकामा पनि चुनावी चहलपहल बढेको छ । धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा प्रख्यात धनुषा जिल्लाका जनकपुर उपमहानगरपालिकामा मेयर पदका थुप्रै आकाङ्क्षी देखिएका छन् ।
जानकारीअनुसार जनकपुर उपमहानगरपालिका लागि मेयरमा काँग्रेसको तर्फबाट मनोज साह, बजरङ्ग साहको चर्चा छ भने एमालेको तर्फबाट दीपेन्द्रकुमार यादव, लक्ष्मीनारायण भगत, माओवादी केन्द्रको तर्फबाट चन्द्रशेखर साह, फुलगेन साहको नाम चर्चामा छन् । त्यस्तै, राजपा नेपालको तर्फबाट लालकिशोर साह, शिवशङ्कर साहको नाम पनि चर्चामा छन् । फोरम नेपालले विष्णुदेव साहको नाम टुङ्गो नै लगाइसकेको छ ।
बारा जिल्लाको कलैया उपमहानगरपालिका लागि फोरम नेपालले मेयरमा प्रमोद गुप्ताको नाम सार्वजनिक नै गरिसकेको छ । गुप्ताले आफ्नो प्रचारप्रसार तीव्र पार्नुभएको छ । गुप्ताले आफ्नो प्रतिस्पर्धा काँग्रेससँग रहेको दाबी गर्नुभएको छ । पूर्वसभासद समेत रहेका गुप्ताले आफूले जित्ने दाबी गर्नुभयो । अन्य दलले मेयर पदको उम्मेदवारको नाम सार्वजनिक गरेको छैन । तर, केन्द्रदेखि स्थानीय तहसम्म चर्चामा काँग्रेसको तर्फबाट रमानन्द यादव, राजेश यादव, फुल महम्मद मन्सुर रहनुभएको छ ।
एमालेका तर्फबाट एम समिउलाह, सुरेश मोदक, विनोद साहको पनि मेयरमा चर्चा छ । माओवादी केन्द्रले स्थानीय स्तरमा मुकेश साहको नाम नै घोषणा गरिसकेको छ । सो पार्टीबाट अरू कसैको दाबी नरहेको जनाएको छ । राष्ट्रिय जनता पार्टी नेपालको तर्फबाट जयप्रकाश साहको नाम चर्चामा छ । कलैया उपमहानगरपालिकामा २७ वटा वडा छन् भने ५७ हजारभन्दा बढी मतदाता छन् ।
त्यस्तै, २४ वटा वडा रहेको बारा जिल्लाकै जितपुर–सिमरामा ५५ हजारभन्दा बढी मतदाता छन् । त्यहाँ माओवादी केन्द्रले राजन पौडेल, रापप्राले सोमराज उप्रेती, राष्ट्रिय जनमोर्चाले धर्मानन्द उपाध्यायको नाम मेयरको उम्मेदवारका लागि टुङ्गो लगाइसकेका छन् भने अन्य कुनै दलले कसैको नाम औपचारिक घोषणा गरेको छैन । तर, काँग्रेसको तर्फबाट ओमकृष्ण कार्की, कृष्णव्रत सिंहको नाम चर्चामा छन् । त्यस्तै, एमालेको तर्फबाट मेयरमा देवनारायण चौधरी, डा.केशव पौडेलको नाम पनि चर्चामा छन् भने फोरम नेपालको तर्फबाट प्रभु यादव र अफताव आलमको नाम चर्चामा रहेको सम्बद्ध पार्टी स्रोतले जनाएको छ ।
गोरखापत्रबाट



प्रतिक्रिया दिनुहोस्