Logo

मधेसमा गठबन्धन प्रयास असफल : यस्तो छ खतरा !



काठमाडौं २१ भदौ । दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा दलहरूको चुनावी गठबन्धन असफल भएको छ । पहिलो र दोस्रो चरणमा सम्पन्न भएका ६ वटा प्रदेशमा चुनावी तालमेल गरेर लडेका कतिपय दल पनि दुई नम्बर प्रदेशको चुनावमा भने एक्लै लड्ने तयारी गरेपछि चुनावी गठबन्धन असफल बनेको हो।

एक्लै मैदानमा
मंगलबार बेलुकीसम्म कतिपय स्थानमा दलहरूले गरेको तालमेल प्रयास सफल नभएपछि त्यस क्षेत्रमा मुख्य प्रतिस्पर्धी भनेका कांग्रेस, एमाले, माओवादी केन्द्र तथा मधेसकेन्द्रित दल संघीय समाजवादी, राष्ट्रिय जनता पार्टी र फोरम लोकतान्त्रिक एक्लै चुनावी मैदानमा भिड्न लागेका हुन् ।

तालमेल घोषणा
१३६ स्थानीय तहमध्ये यो समाचार तयार पार्दासम्म कांग्रेस-माओवादी केन्द्रबीच चारवटा स्थानीय तहमा मात्रै चुनावी तालमेल भएको छ । अन्य स्थानमा भने कुनै पनि दलले चुनावी गठबन्धन बनाएका छैनन् । कांग्रेस-माओवादीबीच मंगलबार धनुषाको मिथिला नगरमा मेयर कांग्रेस, उपमेयर माओवादी, लालबन्दीमा मेयर माओवादी, उपमेयर कांग्रेस, निजगढमा मेयर कांग्रेस, उपमेयर माओवादी तथा जितपुर सिमरामा मेयर माओवादी र उपमेयर कांग्रेसले लिने गरी तालमेल घोषणा गरेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

भत्कने खतरा
दुई-दुई स्थानमा मेयर लिने गरी भागबन्डामा तालमेल गरेका यी दुई पार्टीको माथिल्लो निर्णयलाई स्थानीय स्तरमा कांग्रेस नेता-कार्यकर्ताले नमान्ने बताएपछि बनेका तालमेल समझदारी पनि भत्कने खतरा बढेको छ ।

जिम्मेवारी
मधेसमा चुनावी तालमेललगायत विषयमा रणनीति बनाउन माओवादीले प्रदेश इन्चार्ज मात्रिका यादव र संयोजक विश्वनाथ साह तथा कांग्रेसले केन्द्रीय नेता आनन्दप्रसाद ढुंगानालाई जिम्मेवारी दिएको थियो। कांग्रेस-माओवादीका यिनै दुईपक्षीय नेताको मंगलबार बिहान भएको छलफलले चार स्थानीय तहमा तालमेलको समझदारी बनाएका थिए । तर, लालबन्दी र जितपुरसिमरा माओवादीलाई मेयर छाड्ने ढुंगानाको निर्णयलाई नमान्ने भन्दै दुवै तहमा कांग्रेसले त्यस क्षेत्रमा आफ्नै उम्मेदवार उठाएका छन् ।

कहाँ-कहाँ भयो तालमेल प्रयास
१) धनुषाको मिथिला
कांग्रेस (मेयर)
माओवादी केन्द्र (उपमेयर)
२) लालबन्दी नगर
माओवादी (मेयर)
कांग्रेस (उपमेयर)
३) बाराको निजगढ नगर
कांग्रेस (मेयर)
माओवादी (उपमेयर)
४) जितपुरसिमरा उपमहानगर
माओवादी (मेयर)
कांग्रेस (उपमेयर)



प्रतिक्रिया दिनुहोस्