Logo

उम्मेदवारको खर्चमा होड : पेट्रोल, रजनीगन्धा, पानमसला र मासुभातको पूर्ण व्यवस्था



काठमाडौं ३१ बैशाख । जनकपुरको एउटा रेस्टुराँमा वेटर राजु साह एमालेको चुनाव चिह्नअंकित सूर्य छाप टिसर्ट लगाएको भेटिए । चुनाव प्रचारका क्रममा उनले विभिन्न दलको गरेर झन्डै ६ वटा टिसर्ट बटुलेका छन्। ‘प्रचारमा सहभागी भएपछि टिसर्ट पाइने भएकाले ज-जसले दिए, लिएँ’, उनले भने, ‘टिसर्ट सबैको लिने, भोट इच्छा लागेको ठाउँमा हाल्ने।’ आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

चुनाव प्रचारको अन्तिम दिन राजपाले जनकपुर उपमहानगरपालिकामा निकालेको र्‍यालीमा १९ वर्षीय निरज महतो भेटिए। ‘र्‍यालीमा आएपछि खाजा र खानाको व्यवस्था हुन्छ। रमाइलो पनि हुन्छ। त्यसैले आएको’, उनले भने। जनकपुरमै रहेको एउटा पेट्रोल पम्पमा कांग्रेसको झन्डा बोकेको एउटा ठूलो हुल मोटरसाइकलमा पेट्रोल भर्दै थियो। ‘चुनावभरि गाडीमा तेल, गोजीमा रजनीगन्धा, पानमसला र खानामा मासुभातको पूर्ण व्यवस्था उम्मेदवारको तर्फबाट भएको छ’, हुलभित्रै कार्यकर्ता गफिँदै थिए।

शुक्रबार जनकपुरमा देखिएका यी दृश्य प्रदेश २ का आठै जिल्लामा चुनाव अवधिभर सरीबरी देखिए। चुनावमा ‘पैसाको खोलो’ बगेको बाक्लै चर्चा घरदेखि चियापसलसम्म प्रशस्त सुन्न पाइन्छ। ‘मनोनयन हुँदादेखि नै पैसाको व्यापक चलखेल भएको छ’, नेपाल पत्रकार महासंघ धनुषा जिल्ला अध्यक्ष अनिल मि श्र भन्छन्, ‘प्रचारप्रसारमा उत्तिकै भयो। अब मौन अवधिमा मतदाता प्रभावित पार्न खोजिन्छ।’

जनकपुरमा जस्तै वीरगन्ज, कलैया, गौर, चन्द्रनिगाहपुर, मलंगवा, बर्दीवास, जलेश्वर, लहान, राजविराज आदि ठाउँमा पनि उम्मेदवारबीच पैसा खर्च गर्ने होड नै चलेको छ।

महोत्तरीको बर्दीवासस्थित एक पेट्रोल पम्प व्यवसायीका अनुसार अहिले दैनिक ५ सय लिटर पेट्रोल निर्वाचन प्रचार प्रयोजनका लागि बिक्री हुन्छ। पेट्रोल पम्पले पार्टीको कुपन हेरेर तेल दिन्छ। हरेक मेयरका उम्मेदवारले प्रतिदिन ४० देखि ५० वटा गाडी प्रचारप्रसारका लागि प्रयोग गरिरहेका छन्। जसको भाडा दैनिक ३५ सयदेखि ४५ सयसम्म हुने गर्छ।

चुनाव प्रचारमा हिँड्ने कार्यकर्तालाई उम्मेदवारले कम्तीमा २ सय जनालाई खाजा र खाना खुवाउनुपर्ने हुँदा दैनिक ४ लाखसम्म खर्च भइरहेको एक नेताले बताए।

जनकपुर उपमहानगरपालिकामा सञ्चालित करिब २० वटा अफसेट प्रेसले मात्रै ५० लाख हराहारीमा निर्वाचन सामग्री छापेको देखिन्छ।

न्यू गोपाल कला कुञ्जका सञ्चालक सुरेश श्रेष्ठ अहिले भोक, निद्रा बिर्सेर झन्डा बनाउन व्यस्त छन्। आफूले अहिलेसम्म २० हजारजति झन्डा बनाएर बेचिसकेको र अहिले पनि एक लाख प्रति अर्डर रहेको उनले बताए।



प्रतिक्रिया दिनुहोस्