Logo

आजै मन्त्रीहरु मधेसबाट फर्किनुपर्ने, नफर्के कारवाही



काठमाडौं ३१ बैशाख । -निर्वाचन आयोगले प्रदेश २ का जिल्लामा मताधिकार प्रयोग गर्नेबाहेक अन्य मन्त्रीहरुलाई त्यस क्षेत्रमा नजान निर्देश गरेको छ । निर्वाचनको स्वच्छता, निष्पक्षतामा आँच पुग्न सक्ने भएकाले उनीहरु त्यहाँ उपस्थित भइराख्नु जरुरी नहुने आयोगले उल्लेख गरेको छ ।

शुक्रबार रातीबाट मौन अवधि सुरु भएकाले चुनावको दिनसम्म मन्त्रीहरुलाई त्यसतर्फ नजान निर्देश गरेको हो ।

चुनाव प्रचार अभियानमा कतिपय मन्त्रीहरु पनि सहभागी थिए । मौन अवधिमा पनि उनीहरु त्यहाँ बसेर प्रभावित पार्न सक्ने मुल्यांकन गर्दै आयोगले मताधिकार प्रयोग गर्ने बाहेकलाई त्यहाँ नबस्न निर्देश गरेको हो ।

‘आयोगले प्रदेश नं. २ का जिल्लाहरूमा आफ्नो मताधिकार प्रयोग गर्नु नपर्ने मन्त्रीज्यूहरूलाई उपस्थित नभइदिन आग्रह गरेको छ’ आयोग प्रवक्ता नवराज ढकालले जारी गरेको विज्ञप्तीमा छ । आयोगले मताधिकार प्रयोग गर्ने मन्त्रीहरुलाई पनि आचारसंहिताको उल्लंघन नहुने गरी आफ्नो भूमिका निर्वाह गर्न सचेत गराएको छ ।

आयोगले त्यसका लागि सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई शुक्रबार नै पत्र पठाएको छ । पत्रमा मन्त्रीहरुको भ्रमण नगराउन र सम्बन्धित मन्त्रीहरुलाई आयोगको निर्देशनबारे जानकारी गराउन पनि भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्