Logo

प्रदेश २ मा जातीय भोट निर्णायक



काठमाडौं २ असोज ।

मतदानको अघिल्लो दिनको रातलाई निकै संवेदनशील र महत्वपूर्ण मानिन्छ । यही समय हुने चलखेलले उम्मेदवारको जित-हारमा प्रभाव पार्ने गर्छ । मधेसका गाउँमा त आफ्ना जातीय उम्मेदवारलाई जिताउन गोप्य रूपमा जाति बैठार (बैठक) नै बस्छ । बैठकको आह्वान गाउँको माइजन (कुनै पनि जातिको गाउँको नेता) ले गर्छ । हरेक जातको माइजनले कसलाई जिताउने हो, सभामा छलफल गर्छन् ।

‘राम्रोभन्दा हाम्रो’ उम्मेदवारलाई जाति बैठारबाट रोजिन्छ । आफ्ना जातका उम्मेदवारलाई सबैले भोट दिने माइजनले निर्णय गर्छ । चुनावमा उम्मेदवारले जति प्रचारप्रसार गरे पनि कसलाई जिताउने भन्ने शक्तिचाहिँ गाउँको माइजनकै हातमा रहन्छ । प्रचार-प्रसार क्रममा छुट्टाछुट्टै पार्टीमा खटिए पनि अन्तिम रात जुनसुकै पार्टीको नेता होस् या कार्यकर्ता, जातीय बैठकमा सहभागी हुन्छ ।

गाउँपिच्छे सबै जातको माइजन (नेता) हुन्छ । माइजनले आफ्नो जातलाई मुख्य प्राथमिकता राख्दै चुनावमा मतदान गर्ने निर्णय लिन्छ । सोहीअनुसार भोलिपल्ट मतदान हुन्छ । यसका कारण जित्ने उमेदवार पनि हार्छन् । हार्ने उम्मेदवार पनि जातीय भोटले जित्ने गर्छन् ।

कुनै पनि दलले जतिसुकै प्रचार, भोज र पैसा बाँडे पनि जातिको जब कुरा उठ्छ, तब सबै जातका मतदाता राम्रोभन्दा आफ्नो जातको उम्मेदवार छान्नतिर लाग्छन् । ‘चुनावको भोट खस्नुभन्दा अघिको रात निकै संवेदनशील हुन्छ,’ महोत्तरीका एक सांसद भन्छन्, ‘मधेसमा पार्टीभन्दा जातीय हिसाबले मतदान हुन्छ ।’ विभिन्न जातिका टाटाबाठा (माइजन) को निर्णयका अधारमा कुल मतको ७० प्रतिशत मतदान जातीय आधारमा हुने गरेको ती सांसद् बताउँछन् ।
चुनावको अघिल्लो रात बस्ने जातीय बैठकको निर्णयका आधारमा कुल मतको ७० प्रतिशत मतदान हुने दाबी ।

‘७० प्रतिशत मत जातीय उम्मेदवारलाई खस्छ भने ३० प्रतिशत मात्र उम्मेदवारले मतदातालाई प्रलोभनमा पारेर हात पार्छन्,’ ती सांसद् भन्छन्, ‘व्यापारी र ठेकेदार भएका उम्मेदवारले माछा, मासु र रक्सी खुवाएर, मतदातालाई धाक-धम्की दिन लगाएर आफ्नो पक्षमा मतदान गराउँछन् ।’ दलले उम्मेदवार छान्दा नै जातीय भोट र उम्मेदवारको आर्थिक अवस्थालाई विशेष प्राथमिकतामा राख्ने गरेको टिमकियाका राजेश्वर यादव बताउँछन् । ‘जुन जातिको भोट जहाँ बढी छ, दलबाट त्यही जातिको उम्मेदवारलाई चुनावमा उठाइन्छ ।’

टिमकियाकै ५० वर्षीय रेवी मुसहरले जातिपातीमा भोटको कुरा हुने बताउँछन् । ‘भोट खसाउनुभन्दा पहिला बैठार बस्छ । बैठारमा माइजनले जसलाई भोट हाल भन्छ, उसैलाई मधेसमा भोट हाल्ने चल्न छ’, टिमकियाकै ६५ वर्षीय भरत साहले भने ।
अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्