Logo

मतादानमा महिला सहभागिता ‘उत्साहजनक’



 

काठमाडौं ३ असोज ।
तेस्रो चरण अन्तर्गत प्रदेश नम्बर दुईमा सोमबार भएको स्थानीय तहको निर्वाचनमा महिलाको सहभागीता उत्साहजनक मात्र रहेन्, पुरुषको तुलनामा बढी देखियो । भित्री मधेसका केन्द्रमा पुग्दा पुरुष भन्दा महिलाका लाइन लामा देखिएका थिए । मतदान संख्या हेर्दा महिलाको खण्डमा बढी रातो मसी लगाइएको थियो ।

दुई वर्ष अघि संविधानसभाबाट जारी संविधानले स्थानीय तहमा महिला सहभागिता सुनिश्चित गरिदिएकाले उनिहरुको उपस्थिती तुलनात्मक रुपमा बढी भएको वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसका समाजशास्त्रका उपप्रध्यापक विरेन्द्रप्रसाद साहले बताए ।
‘मतदानमा मात्र हैन्, चुनावी प्रसार प्रसारमा समेत महिलाको सहभागिता उल्लेख रह्यो,’ उनले भने, ‘महिला मैत्री संविधानले गर्दा यसपालीको निर्वाचनमा सहभागिता बढेको हो ।’ संविधानमै गाउँपालिका, नगरदेखि महानगरपालिका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षमा एकजना महिला अनिवार्य गरिएको छ । सदस्यमा पनि एक दलित महिला सहित दुई जना अनिवार्य छ ।

‘हरेक वडाबाट महिला नेतृत्वको सुनिश्चितता संविधानले गरेको छ,’ उनले भने, ‘त्यही भएर यसपालीको निर्वाचनमा महिला सहभागिता बढी देखिएको हो ।’ चुनावी अभियानमा उम्मेदवारसँग सँगै ४/५ जना सहयोगी महिलापनि घरदैलो देखि लिएर हरेक प्रचार प्रसारका गतिविधीमा सक्रिय रुपले लागेका थिए ।

यो सँगै पछिल्लो समय मधेसी महिला पनि शिक्षित भइरहेको र अधिकारका लागि सचेत बनेको देखिएको छ । विगतका निर्वाचनमा कतिपय गाउँमा मतदानका दिन घरमा हुँदा हुँदै पनि महिला भोट हाल्न मतदान केन्द्रसम्म जाने गरेका थिएनन् । ‘एकात्मक पुरुषवादी समाज विस्तारै भत्किदै छ,’ समाजशास्त्री साह भन्छन्, ‘यो मधेसी समाजका लागि सकारात्मक संकेत हो, जाहाँ महिलालाई घरको चौकठ पार्न गर्न बन्देज लगाइको थियो ।

महिलामा पनि जागरुकता फैलिएको छ ।’ मतदान केन्द्रमा समेत करिब ४० प्रतिशत महिला कर्मचारी खटिएका थिए । वाराको भरवलीया निवासी साहको मतदान केन्द्रमा ८४.४९ प्रतिशत मत खसेको छ । खसेको मतमा महिलाको संख्या ६० प्रतिशत रहेको उनले जनाए । ‘भित्री मधेसमा खसेको मतले जनता निर्वाचनका लागि कति व्यग्र प्रतिक्षा गरेका थिए भन्ने सन्देश दिएको छ,’ उनले भने, ‘त्यसमा महिलाको बढो सहभागिताले चुनावमा झन उत्साह थपिएको छ ।’

उनका अनुसार पछिल्लो समय गैर कृषि पेशामा बढो आवद्धताले पनि मतदानमा पुरुषको सहभागिता केही कम भएको हो । बढो गरिबी र बेरोजगारले मधेसका युवा रोगजारका लागि तेस्रो मुलुक जान थालेका छन् । वैदेशिक रोजगारमा जानेको संख्या मधेसमै बढी छ । ‘खेती किसानीको सिजन नभएकाले पनि पुरुष सदस्य भारत वा मुलुककै अन्य सहरमा दैनिक ज्यालादारी, घर निर्माण लगायतका पेशामा गएका छन्,’ कुहडीका राजकिशोर यादवले भने, ‘प्रदेश नम्बर दुई वाहेक अन्य ठाउँमा बिदा नभएकाले पनि पुरुषहरु भोट मात्र खसाल्नका लागि गाउँ आएनन् ।’ दैनिक ज्यालादारीमा गएका युवा चाडपर्व र खेतीको सिजनमा घर फर्किने गरेको उनले जनाए ।

चिटिक्क परेर मतदान

भित्री मधेसमा प्राय कुनै उत्सवको माहौल हुँदा मात्र गृहणी श्रृंगार गरी, खुट्टामा रातो रंग लगाएर वाहिर निस्कने चलन रहँदै आएको छ । झन्डै २० वर्ष पछि भएको स्थानीय तहको चुनावमा आफ्नो प्रतिनिधी चयन गर्न आएका महिला कुनै उत्सवमा सहभागि हुन आएको जस्तै देखिएका थिए । मेला भर्न, माइतबाट विदाई हुँदा वा पारिवारिक भेटघाटका लागि जाँदा गाउँका महिला श्रृंगार गर्ने गर्छन् । सोमबार भोट खसाल्न आएका अधिकांश महिला सजिएर उत्सवमा सहभागित हुन आए जस्तै देखिएका थिए ।

‘घर वाहिर निस्किदा राम्रो देखिन जो पनि चाहन्छन, यो सामाजिक प्रेस्टिजको कुरो पनि हो,’ समाजशास्त्री साह भन्छन्, ‘महिलाले चुनावलाई उत्सवको रुपमा मनाए ।’

आइतबार राति पानी परेकाले अधिकांश केन्द्रमा पानी जमेको थियो । साडीलाई हातले केही माथि सारेर पानी छुपछुप गर्दै महिला मत खसाल्न आइरहेका थिए । बेहुली झै बनेर घुँघट तानेर लामवद्ध देखिन्थे । केहीले हातमा महेन्दी लगाएका थिए । अनेक जात/जाति र वर्गका महिला आफ्नो प्रतिनिधी चयन गर्न सँगै एउटै लाइनमा उभिरहेको दृश्य कम रोचक थिएन । मध्यान्ह घाम चर्किएको बेला लामवद्ध भएका महिला छाता ओढेर पालो पर्खे । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्