Logo

प्रधानमन्त्री आज न्युयोर्क जाने



काठमाडौं ३ असोज । प्रधानमन्त्री शेरबहादुर देउवा आज न्युयोर्क प्रस्थान गर्दै छन् । संयुक्त राष्ट्रसंघको ७२औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा न्युयोर्क जान लागेका हुन् ।

उनले ७ असोजमा राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवाले महासभामा नेपालले विश्वमा शान्ति स्थापनामा पु¥याएको योगदान, नेपालको शान्ति प्रक्रिया, संविधान कार्यान्वयन र स्थानीय तहको निर्वाचनका साथै आगामी मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको विषयमा विश्व मञ्चलाई जानकारी गराउनेछन् ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा उपप्रधान तथा परराष्ट्रमन्त्रीसहित २४ जना सहभागी हुनेछन् । टोलीमा न्युयोर्कस्थित नेपाली नियोगबाट थप २१ सदस्य सहभागी हुनेछन् । प्रधानमन्त्री भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी आरजु राणा देउवा सल्लाहकारका रूपमा सहभागी हुँदै छिन् ।
उपप्रधानमन्त्री कृष्णबहादुर महरा, उनका प्रमुख स्वकीय सचिव युवराज चौलागाईं तथा परराष्ट्र मन्त्रालयका राष्ट्रसंघ महाशाखाका प्रमुख भरतराज पौडेल आइतबार नै न्युयोर्क पुगेका छन् ।

प्रधानमन्त्रीसँगै महिला बालबालिका तथा समाजकल्याणमन्त्री आशा कोइराला, परराष्ट्र सचिव शंकरदास बैरागी, परराष्ट्र मन्त्रालयका विभिन्न महाशाखाका प्रमुखसहित थप सात प्रतिनिधि रहनेछन् । भ्रमण टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराईसहित प्रधानमन्त्रीको निजी सचिवालय, प्रधानमन्त्री कार्यालयका प्रतिनिधि, सुरक्षा टोलीका सात जना सहभागी हुनेछन् भने सरकारी सञ्चारमाध्यमका तीन जना सञ्चारकर्मी सहभागी हुनेछन् ।

यसैबीच न्युयोर्कबाट फर्किने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले खाडी राष्ट्रका राजदूतहरूलाई निर्देशन दिने कार्यक्रमसमेत तय भएको छ । खाडी राष्ट्रका राजदूतहरूलाई ओमानको मस्कटमा रहेको नेपाली दूतावासमा प्रधानमन्त्रीले खाडी क्षेत्रमा नेपालीको सुरक्षाका विषयमा केन्द्रित रहेर निर्देशन दिनेछन् ।
परराष्ट्र मन्त्रालयका अनुसार सो भेलामा साउदी अरेबिया, कतार, बहराइन, इजिप्ट, इजरायल, कुवेत, यूएईका राजदूतहरू सहभागी हुनेछन् । प्रधानमन्त्री देउवा १२ असोजमा स्वदेश फर्किनेछन् ।



प्रतिक्रिया दिनुहोस्