Logo

ओपीडी बन्द, इमर्जेन्सीमा खचाखच



काठमाडौं ९ असोज ।
चिकित्सक आन्दोलनका कारण उपत्यकाका सरकारी अस्पतालहरूमा ओपीडी सेवा बन्द छन् । ओपीडी बन्द भएपछि त्यसको प्रत्यक्ष असर आकस्मिक कक्ष (इमर्जेन्सी) मा परिरहेको छ । ओपीडीबाट हुने सामान्य उपचार सेवासमेत दिनुपर्दा इमर्जेन्सी कक्षमा थामिनसक्नुको भीड लाग्न थालेको छ । अस्पताल आएका नयाँ र फलोअप अधिकांश बिरामी उपचारबिनै फर्कन बाध्य छन् ।

सरकारी अस्पतालका इमर्जेन्सी वार्डमा पर्याप्त बेड छैनन् । बेड अभावले सामान्य अवस्थामा पनि समस्या ल्याइरहेको हुन्छ । इमर्जेन्सीमा बेड पाउन यसै पनि १/२ दिन कुर्नुपर्छ । त्यसमाथि ओपीडी बन्दले भीड थपिएपछि कैयौं बिरामीले उपचारै नपाउने अवस्था आएको हो ।

वीर अस्पतालका इमर्जेन्सी वार्ड प्रमुख डा. केदार सेञ्चुरी भन्छन्, ‘हामीलाई यसै पनि सधैं कामको चाप हुन्छ, झन् ओपीडी बन्द भएपछि त बिरामीले राम्ररी खुट्टा राख्ने ठाउँ पाउन पनि मुस्किल हुन थालेको छ ।’

वीरको इमर्जेन्सीमा दैनिक २ सयजति बिरामी आउने अस्पतालको तथ्यांक छ । अहिले दोब्बरभन्दा बढी बिरामी जाँच्नुपर्ने बाध्यता आएको डा. सेञ्चुरीले सुनाए । ‘क्षमताभन्दा बढी बिरामी हेर्नुपर्छ, डाक्टरलाई त समस्या छँदै छ, बिरामीले समेत राम्रो सेवा पाउँदैनन्,’ उनले भने, ‘डाक्टरहरू क्षमताभन्दा बढी बिरामी हेर्न मानिरहेका छैनन् । यसरी धेरै दिन चल्न सक्दैन ।’

अस्पताल प्रशासनको तथ्यांकअनुसार वीरको ओपीडीमा दैनिक १६ सय बिरामी आउँछन् । चिकित्सकहरूको आन्दोलनबारे थाहा नपाएका अधिकांश बिरामी अस्पताल आएर उपचार नगराई फर्किरहेका छन् । आन्दोलनबारे नबुझेका कतिपय बिरामी अस्पतालसँग आक्रोशित हुने, रुने, रिसाउने गरिरहेको अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले बताए । ‘बिरामीलाई त सकस छ नै, अस्पताललाई पनि दैनिक १५ लाखजतिको आर्थिक घाटा भइरहेको छ,’ उनले भने ।

यता, महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सी वार्डमा पनि आइतबार बिरामीको भीड उस्तै देखिन्थ्यो । ओपीडी बन्द हुनुका कारण नबुझेका बिरामीहरू ओपीडी खुल्ने आसले दिनभर अस्पताल परिसरमा यताउता गरिरहेका भेटिए । टिचिङ अस्पताल प्रशासनको तथ्यांकअनुसार ओपीडीमा दैनिक २ हजार नयाँ बिरामी आउँछन् । अस्पताल प्रशासन प्रमुख गोविन्दबहादुर प्रधान भन्छन्, ‘फलोअपमा त अझ धेरै आउँछन्, सबैलाई फर्काउन बाध्य भएका छौं ।’

अस्पतालको इमर्जेन्सी वार्डमा धान्नै नसकिने गरी चाप बढेको इमर्जेन्सी प्रमुख योगेन्द्र कार्कीले बताए । ‘इमर्जेन्सीमा २३ वटा मात्रै बेड छन्, आइतबार एउटै बेडमा चार जनासम्म बिरामी राख्नुपरिरहेको छ,’ उनले भने । ओपीडी बन्दले अस्पताललाई दैनिक ५० लाखजति आर्थिक घाटा भइरहेको प्रमुख प्रधानले जानकारी दिए ।

राजधानीका ठूला सरकारी अस्पताल वीर, प्रसूति, त्रिवि शिक्षण, कान्ति र भक्तपुरको क्यान्सर अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र र भक्तपुर अस्पतालमा आइतबार पनि दिनभर ओपीडी खुलेनन् । केहीले इमर्जेन्सीबाटै उपचार पाए पनि अधिकांश बिरामी उपचारबिनै फर्किन बाध्य भएका छन् । प्रसूति मिति नजिकिएका महिला चिन्तित देखिन्थे । थापाथलीस्थित प्रसूति गृहमा भेटिएकी एक महिलाले भनिन्, ‘एउटै डाक्टरसँग देखाइरहेको थिएँ, हामीलाई अरू डाक्टर हेर्न पनि मान्दैनन्, शल्यक्रिया गर्नुपर्नेजस्तो छ भनेका थिए, मेरो त ज्यान नै जोखिममा छ ।’

आकस्मिक शल्यक्रियाका लागि फलोअप उपचारमा बोलाइएका बिरामी पनि उत्तिकै मर्कामा छन् । मकवानपुरबाट प्रोस्टेटको शल्यक्रिया गर्न टिचिङ अस्पताल आएका लीलाबहादुर आइतबार यत्तिकै फर्किए । ‘अपरेसन गर्न ढिलो भए जे पनि हुन सक्छ भनेका थिए । म ऋण गरेर आएँ, अब कता जानु ?’ उनले चिन्ता व्यक्त गरे ।

सरकारले उपचारका क्रममा डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भए सम्बन्धित चिकित्सकबाटै मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने गरी कानुन बनाउन निर्देशन दिएपछि त्यसविरुद्ध चिकित्सकहरू आन्दोलनमा उत्रिएका हुन् । सरकारले उक्त निर्णय फिर्ता लिए पनि अन्य मागबारे चासो नदेखाएको भन्दै चिकित्सकहरूले आन्दोलन जारी राखेका हुन् । सबै माग पूरा नभएसम्म अनिश्चितकालीन आन्दोलन जारी रहने उनीहरूको अडान छ । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्