Logo

महिला अधिकारकर्मी नै बोक्सीको आरोपमा निर्घात कुटीइन्



५५ वर्षीया महिला अधिकारकर्मी नै बोक्सीको आरोपमा दुव्र्यवहारको शिकार भएकी छिन् । वीरगञ्ज महानगरपालिका–८ पानीट्याङकीमा बस्दै आएकी जिल्ला महिला अधिकार मञ्च पर्साको अध्यक्ष राजकुमारी उपाध्यायलाई बोक्सीको आरोपमा कुटपीट गर्नुको साथै मानसिक यातना दिईएका छ ।

उपाध्याय झण्डै डेढ दशकदेखि महिला अधिकारको क्षेत्रमा क्रियाशिल एकल महिला हुन् । बहुविवाह, घरेलु हिंसा, लैङिगक हिंसा र बोक्सीको आरोपमा पीडित सयौं महिलाहरुलाई आफ्नै पहलमा न्याय दिलाएको बताउने उपाध्याय आज आफै पीडित बन्न पुगेकी छन् । नयाँ पत्रिकामा खबर छ ।

पानीट्याङकीमा डेरामा बस्दै आएकी उपाध्यायलाई उनी बस्ने घरमै डेरामा बस्दै आएकाहरुले नै आईतबार बिहान एक डेढ बजेको समयमा कुटपिट र दुव्र्यवहार गरेका हुन् । घटनामा सशस्त्र प्रहरी जवान योगेन्द्र कार्कीको समेत संलग्नता रहेको पीडित पक्षले बताए । पीडित पक्षले घटनामा संलग्न भएकाहरु विरुद्ध प्रहरीमा उजुरी दिएका छन् ।

उपाध्यायले आफूलाई सोही घरमा डेरा गरेर बस्ने २० वर्षीया सरिता श्रेष्ठ, उनकी दिदि २४ वर्षीया सोनु कार्की, सोनुको श्रीमान चितवन घरभई काठमाण्डौमा कार्यरत सशस्त्र प्रहरी जवान योगेन्द्र कार्की, ३५ वर्षीया प्रिति गुरुङ, उनका श्रीमान सुनिल मगर, छोरी १५ वर्षीया जिया गुरुङलगायतले मिलेर बोक्सीको आरोप लगाउँदै कुटपीट गरेको बताइन । जियालाई उपाध्यायले नै टुनामुना गरेर बिरामी पारेको अरोप उनीहरुले लगाएका थिए । तर, शनिबार रातिदेखि नै शरीरमा ‘अर्चना बाबा’ को शक्ति आउने बताउने सरिताले ‘तन्त्र मन्त्र’ गरेर जियाको समस्या समाधान गर्न खोजेको बुझिएको छ ।

घटना योजनाबद्ध भएपनि कार्यालयको काममा धनकुटा गएर आफू शनिबार बिहान मात्रै फर्केको र त्यसको थकानले गर्दा शनिबार दिउँसो र साँझ सुत्नुको साथै कसैसँग भेटघाट पनि नगरेकोले केही थाहा पाउन नसकेको उपाध्यायले बताइन । उनले भनिन्, ‘कतिजनालाई न्याय दिलाएँ, आज आफैंमाथि यस्तो घटना घट्यो ।’

कसरी घटाईयो घटना ?

‘खाना खाएर प्रेसरको औषधीसमेत खाएर राती ९ बजेतिर म सुतेकी थिए, बिहान १ बजेतिर जोड जोडले ढोका ढक ढकाएको आवाज आयो, को हो भनेर भन्दा कोही बोलेनन्, झनै जोड जोडले ढक ढकाएपछि मैले ढोका खोंले । त्यसपछि मेरो टाउकोमा अबिर अक्षता छर्केर जर्बजस्ती ‘म बोक्सी हुँ’ भनेर कबोल गर्न दवाव दिए ।

योगेन्द्रले भिडियो पनि खिचिरहेका थिए ।’ उनले भनिन् ‘अहिलेको जमानामा पनि बोक्सी हुन्छ ?यस्तो अन्ध विश्वासको कुरा पनि गर्ने ?त्यसो भन्नु गैरकानुनी हो, कहाँ हुन्छ बोक्सी? भनेर मैले सम्झाउन खोज्दै थिएँ । सरिताले मलाई जर्बजस्ती हात समातेर तानिन्, पछाडी चुल्ठो समातेर मेरो दायाँ गालामा एक झापड हानेर उनीहरुको कोठामा लगेर राखिन् । मेरो कानमा पनि तेल र अबिर हालियो । ’

उनीहरु धेरै संख्यामा भएको र आफू एक्ले भएकोले प्रतिकार गर्न नसकेको दुःखेसो उनले गरिन् । ‘ कोठामा लगेपछि पनि उनीहरुले ‘बोक्सी हुँ ’ भनेर कबोल गर्न दवाव दिएको र बाहिर निस्कनै नदिएको उनको भनाई छ । ‘ कोठामा पंखा पनि चलाईएको थिएन, ७÷८ जना मानिसहरु थिँए, मलाई बाहिर जान पनि दिईएन ।’ उनले भनिन् ।

उपाध्यायको अवस्था गम्भिर थियो

झण्डै डेढ घण्टापछि घटना स्थलमा पुगेका भिश्वाका अफताव हवारीले उपाध्यायको उद्दार गरेका थिए । ‘ मैले झ्यालबाट हेरे भूत झार्ने काम भईरहेको जस्तो देखिएको थियो । अर्चना बाबा’ आएको भनेर एक जना युवति अर्धनग्न अवस्थामा थिईन् । जिउमा सल मात्रै बेरेकी थिईन् ।

अन्टीलाई तँ तँ म म गरेर बोल्दै थिए, अबिर अछता छर्कदै थिए ।’ उनले भने ‘उनीहरुलाई अन्टिलाई बाहिर निकाल्छौ कि निकाल्दैनौं भनेर हप्काए, त्यसपछि बल्ल बाहिर आउन दिए, उहाँको अवस्था गम्भिर थियो, हिड्न सक्ने अवस्था थिएन, कन्जस्टेट रुममा धेरै मानिसहरु थिए पंखा पनि चलाईएको थिएन ।’ धेरै महिलाहरु भएकोले मैले केहि गर्न सक्ने अवस्था थिएन त्यसपछि मैले अन्टीलाई आफन्तहरुलाई फोन गर्न र घटनाबारे बताउन सल्लाह दिए । ‘३ बजिसकेको थियो ।

केहिको फोन उठ्यो कतिले उठाएनन् । एक जना आउनुभयो । त्यसपछि प्रशासनमा फोन गर्न सल्लाह दिँए गर्ने निर्णयमा पुग्यौं । प्रहरी तुरुन्तै आयो तर उनीहरु बाहिर निस्कान मानेनन् । प्रहरीले नै महिला प्रहरीहरुलाइै बोलायो । उनीहरु अझै आउन मानेका थिएनन् । पछि प्रहरीले नै उनीहरुलाई समातेर जिल्लामा ल्यायो ।’

बुहारी जयलक्ष्मी भन्छिन : मलाई घेरेर राखियो

उपाध्यायकी बुहारी जयलक्ष्मी ढकालले आफूलाई माथि नै घेरेर राखेर तल सासुलाई बोक्सीको आरोपमा दुव्र्यवहार गरिएको सुनाईन् ।‘तेरोे सासु बोक्सी हो, यसको जिउमा भूत लगाईदिएको छ । भन्दै हातमा अबिर अक्षता लिएर ७, ८ तल आमा भएको ठाउँमा गए ।’ उनले भनिन् । ‘सशस्त्र प्रहरीले मलाई घेरेर राखे, जसो तसो अर्को भाईको मोबाईल मागेर बुढालाई फोन गरे,आमालाई बोक्सीको भनेर झारफुक गर्दैछ, आमा विरामी हुनुहुन्छ । पंखा पनि चलाएका छैनन् । आमा त अब मर्नु हुन्छ भनेर फोन गरे । त्यसपछि उहाँले मान्छे पठाउनुभएछ । ’

दोषी पाईए जोसुकैलाई कारबाही गर्छौ : प्रहरी उपरीक्षक गिरी

सशस्त्र प्रहरीसमेतको संलग्नतामा घटना भएको पाईएपछि सुरुमा जिल्ला प्रहरी कार्यालय पर्सामा ड्युटीमा खटिएका प्रहरी अधिकृतहरुले घटनालाई दवाउने प्रयास गरेका थिए । उनीहरुले पीडितको भन्दा पीडकको पक्षमा वकालत गर्दै उपाध्यायको समर्थनमा पुगेका केही महिला अधिकारकर्मी र सञ्चारकर्मीहरुलाई समेत दुव्र्यवहार गरेका थिए ।

पीडित उपाध्यायले पनि प्रहरी कार्यालयमा आफूलाई सन्तोषजनक व्यवहार नगरेको गुनासो गरिन् । ‘सुगर र प्रेसरको रोगी छु, खुट्टा सुन्निएको छ । कहिले यता जा भन्छन्, कहिले उता जा भन्छन्, एकदमै सुस्त काम गरिरहेका थिए ।’ उनले भनिन् ‘ प्रहरीले राम्रो रेसपोन्स गरेन भन्ने लाग्यो ।’



प्रतिक्रिया दिनुहोस्