Logo

निर्वाचन आचारसंहिता पालनाप्रति सरकार उदासिन



काठमाडौं १२ असोज । निर्वाचन आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय फिर्ता बोलाइएको विषयलाई निर्वाचन आचारसंहिता पालनाप्रति सरकार उदासिन रहेको घटनाका रुपमा लिएको छ ।
निर्वाचन आचारसंहिताको विषयमा उठेका प्रश्नका बारेमा सञ्चारकर्मीसँग कुराकानी गर्दै निर्वाचन आयुक्त सुधीरकुमार शाहले निर्वाचन आचारसंहिताको पूर्णपालना गर्न÷गराउन सरकार र राजनीतिक दलको पुनः ध्यानाकर्षण गराउनुभयो ।

निर्वाचन आयोगले प्राधिकरणका महानिर्देशकलाई फिर्ता बोलाइएको विषयमा मन्त्रालयसँग २४ घण्टे स्पष्टीकरण सोधेको थियो । उहाँले भन्नुभयो, ‘उच्च तहको कर्मचारीको काज खटाउँदा, फिर्ता बोलाउँदा वा सरुवा गर्दा आयोगसँग सहमतिसम्म माग नगर्ने अभ्यास गम्भीर विषय हो ।’

राजनीतिक दलले आफ्नो पार्टी कार्यालयमा चियापान र शुभकामना आदानप्रदान कार्यक्रम गर्नसक्ने उहाँले जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचन ज्यादै शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको बताउँदै आयुक्त शाहले निर्वाचनमा कुनै पनि हिंसात्मक घटना नभएको उल्लेख गर्नुभयो ।

स्थानीय तहको चुनावका सन्दर्भमा आयोगले ३७ वटा आचारसंहिता उल्लंघनका विषयमा स्पष्टीकरण सोधेकामा अब छ वटाको मात्र जवाफ आउन बाँकी रहेको जानकारी सो अवसरमा दिइयो । हालसम्म विभिन्न एक हजार ८ सय ५५ विषयमा सहमति माग भई आएकामा एक हजार १ सय ८५ लाई सहमति प्रदान गरिएको आयोगले जनाएको छ । – रासस



प्रतिक्रिया दिनुहोस्