Logo

सेवा क्षेत्रमा काम गर्नेहरुको दशैँ



काठमाडौं १४ असोज । चितवनका प्रहरी प्रमुख दीपक थापाले प्रहरी सेवामा जागिर खाएको २३ वर्षमा १८ वटा दशैँ कार्यक्षेत्रमै मनाउनुभयो । पाँचवटा दशैँ भने संयुक्त राष्ट्रसंघको मिसनमा र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहँदा घरपरिवारसँग मनाउने अवसर मिल्यो ।

थापाका अनुसार तीन वर्षको दशैँका बेला मिसनमा पाउने २५ दिनको बिदा मिलाएर उहाँ घर आउनुभयो भने अख्तियारमा दशैँमा बिदा हुने गर्छ । अन्य सबै दशैँ सामान्य बेलामा भन्दा तनावै तनावमा बित्ने गर्छ । अरु सामान्य बेलामा कामको चाप कम हुने भएपनि दशैँको बेला अरु बढी सक्रिय हुनुपर्ने उहाँले बताउनुभयो ।

थापाले भन्नुभयो, “मेरोमात्रै होइन, हामी सबै सुरक्षाकर्मीको दशैँ कार्यक्षेत्रमै हुने गर्छ ।” त्यसो त अतिरिक्त सुविधा उनीहरुले पाउँदैनन् । तैपनि रमाएरै काम गर्नुपर्ने बाध्यता अत्यावश्यक सेवामा जागिर खानेहरुको छ ।

चाडपर्वकै बेला चोरीडकैती बढ्ने, विशिष्ट व्यक्तिहरुको आवागमन र सुरक्षामा जुट्नु पर्ने हुँदा कामको चाप बढी हुने गरेको उहाँले बताउनुभयो । उच्च पदका लागि मात्रै होइन, तल्लो तहका सुरक्षाकर्मीको दशैँ पनि यस्तै हुने गर्छ ।

जिल्ला प्रहरी कार्यालय चितवनमै कार्यरत प्रहरी नायब निरीक्षक शैलेन्द्रकुमार खड्काको दशैँ पनि थापाको जस्तै बित्ने गरेको छ । आलोपालो गरेर टीका लगाउन पाउने भएपनि अरुले झैँ घरपरिवारमा रहेर रमाएर दशैँ मान्न नपाएको खड्काले बताउनुभयो । १६ वर्षे जागिर यात्रामा १६ वटा दशैँ बित्यो, तर अधिकांश कार्यक्षेत्रमा नै दशैँ बितेको उहाँले बताउनुभयो ।

नेपाल प्रहरी झैँ कामको चाप कम हुने भएपनि नेपाली सेनाको दशैँ पनि कार्यक्षेत्रमै बित्ने गर्छ । द फेमस महिन्द्र दल गण, भरतपुरका गणपति सुरेन्द्र सापकोटाको जागिर यात्रा २१ वर्ष पुगेको छ । राज्यको जिम्मेवारीसँगै गणमै रहेर अधिकांश दशैँ बित्ने गरेको उहाँले बताउनुभयो । आलोपालो गरेर सेनाले भने छुट्टी पाउने गर्छन् । सुरक्षा निकायका सबैले गणभित्रै दशैँ मनाउने गर्छन् ।

सुरक्षासँगै स्वास्थ्य क्षेत्रमा काम गर्नेहरुको दशैँ पनि कामसँगै बित्ने गर्छ । भरतपुर अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डा रुद्र मरासिनी बहिरंग सेवाबाहेक अन्य सेवा निरन्तर हुने भएकाले पालो मिलाएर दशैँ मनाउनु पर्ने बाध्यता चिकित्सक र स्वास्थ्यकर्मीलाई रहेको बताउनुहुन्छ । अत्यावश्यक सेवा रोक्न नमिल्ने हुँदा चिकित्सक, स्वास्थ्यकर्मी तयारी अवस्थामा रहनु पर्ने उहाँले बताउनुभयो ।

फिजिसियन डाक्टर भोजराज अधिकारी दशैँ भनेर ढुक्कसँग बस्न नपाइने बताउनुहुन्छ । भरतपुरको चौबीसकोठीमा रहेको पुष्पाञ्जली अस्पतालका सञ्चालकसमेत रहनुभएका अधिकारीले अस्पतालमा भएका बिरामीलाई उपचार गर्नै पर्ने र अत्यावश्यक सेवा रोक्न नहुने हुँदा कामसँगै दशैँमा रमाउनु पर्ने बताउनुभयो ।

त्यसो त सञ्चारमाध्यममा काम गर्ने पत्रकारको दशैँ पनि यसैगरी बित्ने गर्छ । विगत १० वर्षदेखि रेडियोमा कार्यरत भरतपुरका राजु सापकोटा १० वर्षमा दुईवटा दशैँ मात्रै परिवारसँगै घरमा रमाएर बितेको बताउनुहुन्छ ।

यो अवधिको अधिकांश समय भरतपुरको कालिका एफएममा बिताउनुभएका सापकोटाले समाचार संयोजकको जिम्मेवारी भएकाले पनि साथीभाइलाई बिदा मिलाउँदै आफू भने टीका लगाएर आएर अधिकांश दशैँमा समाचार बनाएर पढ्नु परेको बताउनुभयो ।

हाल डिम्स एफएममा कार्यरत सापकोटाले रेडियो टेलिभिजनमा काम गर्ने अधिकांशको दशैँ यस्तै रहने बताउनुभयो । कालिका टेलिभिजनमा कार्यरत राजु थापा दशैँ तिहारमा पालो गरेर काम गर्नुपर्ने भएकाले अरुको जस्तो ढुक्कले परिवारसँग दशैँ मनाउन आफूहरुले नपाउने बताउनुहुन्छ ।

यस सँगसँगै सवारी चालकको दशैँ पनि कार्यक्षेत्रमै बित्ने गर्छ । ना ५ ख ५८३७ नंको बसका चालक दिलबहादुर तामाङको अधिकांश दशैँ कार्यक्षेत्रमै बित्ने गर्छ । छ वर्षदेखि गाडी चलाउँदै आउनुभएका तामाङले पालोमा नपरेको बेला भने रमाइलो गरी दशैँ मनाउने बताउनुभयो ।

नारायणगढ–बेनी बस चलाउँदै आउनुभएका ना ५ ख ३२४३ नंका बसका चालक दीपक राईले गाडी चलाएको २५ वर्ष भयो । सबै दशैँमा टीका लगाएर काममा जानु परेको उहाँले बताउनुभयो ।

टीकाको समयमा केहीबेर रोकिने भएपनि अधिकांश यात्रुबाहक सवारी दशैँका अरु समयका भन्दा बढी यात्रु लिएर सञ्चालन गर्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस्