Logo

विद्यालयका लागि १ करोड संकलन



बाबियाचौर, म्याग्दी, १९ असोज । म्याग्दीको ग्रामीण क्षेत्रमा रहेको एक सामुदायिक विद्यालयको तह थप गर्न समुदायले रु एक करोड जुटाएका छन् ।

मालिका गाउँपालिका–५ देवीस्थानमा रहेको भीम माविको स्तरवृद्धि गर्ने उद्देश्यले सञ्चालित चन्दा संकलन अभियानमार्फत सो रकम जुटेको हो । विद्यालय स्थापना भएको ५० वर्ष पुगेको अवसरमा डेढ वर्षसम्म सञ्चालित अभियानका क्रममा समुदायबाट रु एक करोड जुटाइएको प्रअ डम्मरबहादुर घर्तीले जानकारी दिनुभयो ।

२०७३ वैशाख ६ गतेदेखि शुरु भएको अभियानको २०७४ असोज १७ गते विशेष समारोहको आयोजना गरी समापन गरिएको थियो । स्थानीयवासी, विश्वका विभिन्न देश र नेपालका विभिन्न ठाउँमा बसोबास गर्ने देवीस्थान बासी, पूर्व विद्यार्थी, छिमेकी गाउँका बासिन्दा र म्याग्देलीबाट सो सहयोग जुटेको हो ।

सो रकम खर्च कटाएर अक्षयकोष स्थापना गर्ने र त्यसको ब्याजबाट विद्यालयमा पुस्तकालय, कम्प्युटर कक्ष, विज्ञान प्रयोगशाला सञ्चालनका साथै दश जोड दुई तह र प्राविधिक विषयको कक्षा सञ्चालनमा परिचालन गर्ने लक्ष्य राखिएको अभियानका मूल संयोजक समेत रहनुभएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर पुनले बताउनुभयो ।

‘देवीस्थानवासीको अग्रसरता, समुन्नत समाज र गुणस्तरीय शिक्षामा हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ सञ्चालित अभियानमा देवीस्थान घर भई हाल काठमाडौँ निवासी बेलायती गोर्खा सैनिकका सेवानिवृत्त क्याप्टेन जीतबहादुर घर्तीले सबैभन्दा बढी रु २० लाख सहयोग गर्नुभएको छ ।

देवीस्थान समाज, काठमाडौँले समेत अभियान सफल बनाउन सहयोग गरेको विद्यालयले जनाएको छ । रु दश हजारभन्दा बढी सहयोग गर्नेको विद्यालय परिसरमा स्थापना गरिने शिलालेखमा नाम राखिने भएको छ । अभियानको समापन गरिए पनि शिलालेख स्थापना नहुँदासम्म इच्छुकले चन्दा दिन सक्ने विद्यालयले जनाएको छ ।

हाल कक्षा दशसम्मको पठनपाठन हुने सो विद्यालयमा २५६ जना विद्यार्थी अध्ययनरत छन् । देवीस्थानका विद्यार्थी एसइई तह उत्तीर्ण भएपछि उच्च शिक्षा हासिल गर्न गाउँ छाडेर दरवाङ, ताकम, सदरमुकाम बेनी र जिल्ला बाहिर जाने गरेका छन् । गाउँमै उच्च शिक्षाको व्यवस्था भएमा गरिब, विपन्न समुदायका विद्यार्थीलाई सहज हुने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्