Logo

पत्रकार भट्टराईमाथि भएको आक्रमणको निन्दा



कालीकोट, २१ असोज । नेपाल पत्रकार महासंघ कालीकोटले महासंघका केन्द्रीय पार्षद् तथा प्रेस सेन्टर कालीकोटका अध्यक्ष अर्जुनप्रसाद भट्टराई माथि भएको आक्रमणको निन्दा गरिएको छ ।

नेपाल पत्रकार महासंघ कालीकोटका अध्यक्ष तुलाराम पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तिमा घाइते पत्रकारको उपचार तथा दोषीउपर कारबाहीका लागि सरकारसंग माग गरेको छ ।

त्यसैगरी विभिन्न संघ संगठनले पनि घटनामा संलग्न दोषीउपर कारबाहीका लागि स्थानीय प्रहरी प्रशासनसंग माग गरिएको छ । शुक्रबार साँझ भएको आक्रमणमा घाइते पत्रकार अर्जुनप्रसाद भट्टराईको जिल्ला अस्पताल कालीकोटमा उपचार हुन नसेकेपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा भर्ना गरिएको छ ।

पत्रकार भट्टराईको टाउकोमा गम्भीर चोट लागेको छ भने पिसाबबाट समेत रगत बगेको र अहिले उहाँको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

सदरमुकाम मान्म बजारको पुरानो बसपार्कमा क्यारमबोर्ड खेलिरहेको अवस्थामा विवाद हुँदा स्थानीय तीन जना युवाले पत्रकार भट्टराईमाथि आक्रमण गरेको बताइएको छ । आक्रमण गर्ने युवाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्