Logo

बालविवाह न्यूनीकरणका लागि अक्षयकोषको घोषणा



बाबियाचौर, म्याग्दी, २३ असोज । प्रवासीले बालविवाह र बाल हिंसा न्यूनीकरणका लागि अक्षयकोष स्थापनाका गरेका छन् । रोजगार, पेशा, व्यवसाय र अध्ययनका लागि विश्वका विभिन्न देशमा पुगेका प्रवासी म्याग्देलीको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तरराष्ट्रिय कार्यसमितिको दरवाङमा आइतबारदेखि शुरु भएको महाधिवेशन उद्घाटनका क्रममा अक्षयकोष स्थापनाको घोषणा गरिएको हो ।

जिल्लाको सामाजिक, आर्थिक, स्वास्थ्य, शिक्षा र मानव विकासका लागि प्रमुख समस्या मानिएको बालविवाह र महिला हिंसाको समस्या न्यूनीकरणका लागि परिचालन गर्ने गरी अक्षयकोषको रकम परिचालन गरिने मोनाकी उपाध्यक्ष टीका गुरुङले बताउनुभयो ।

महाधिवेशन उद्घाटनका क्रममा उपस्थित अतिथि र सहभागीबाट अक्षयकोषका लागि रु २० लाखभन्दा बढी सहयोगको घोषणा भएको उपाध्यक्ष गुरुङले बताउनुभयो । अक्षयकोषका लागि मोनाले रु पाँच लाख, गैरआवासीय नेपाली संघ ९एनआरएनए०का अध्यक्ष शेष घले र उहाँकी श्रीमती जमुना घलेले रु पाँच लाख, एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले रु पाँच लाख, उपाध्यक्ष भवन भट्टले रु दुई लाख सहयोग गर्नुभएको छ ।

महाधिवेशनको उद्घाटन गर्नुहुँदै गैरआवासीय नेपाली संघ ९एनआरएनए०का अध्यक्ष शेष घलेले विदेशमा आर्जन गरेको सीप र स्रोतलाई नेपालको समृद्धिमा परिचालन गर्न चाहेको बताउनुभयो ।

उहाँले भूकम्प र विभिन्न प्राकृतिक प्रकोपमा परेका पीडितको राहत र पुनःनिर्माणका लागि प्रवासमा रहेका नेपालीले उल्लेख्य मात्रामा सहयोग गरेको बताउनुभयो ।

संस्थापक अध्यक्ष महतोले नेपालमा राजनीतिक परिवर्तनपछिको विकास र समृद्धिको अभियानमा गैरआवासीय नेपालीले सहकार्य गरेर अघि बढ्न चाहेको बताउनुभयो ।

महाधिवेशन उद्घाटनका अवसरमा एनआरएन उपाध्यक्ष भवन भट्ट, जमुना घले, कुल आचार्य, रञ्जु वाग्ले, त्रिलोक गुरुङ, अर्जुन श्रेष्ठलगायतले एनआरएनको अभियानलाई गाउँ केन्द्रित गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सांसदत्रय नवराज शर्मा, नरदेवी पुन र रेशमबहादुर बानियाँले म्याग्दीको जलविद्युत्, पर्यटन र कृषि क्षेत्रको विकासका लागि लगानी भित्र्याउन पहल गर्न प्रवासी म्याग्देलीलाई आग्रह गर्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्