Logo

समयअगावै जन्मन थाले शिशु



काठमाडौं २४ असोज ।
पछिल्लो समय विभिन्न अस्पतालको तथ्यांक हेर्दा नौ महिना नपुग्दै बच्चा जन्मने दर बढेको पाइएको छ । थापाथलीस्थित प्रसूतिगृहमा मासिक करिब एक सय महिला सुत्केरी भएकामा १५ शिशु नौ महिनाअगावै जन्मिएको अस्पतालको तथ्यांक छ । यो तथ्यांक हरेक वर्ष बढै गएको प्रसूतिगृहका बालविशेषज्ञ डा. शैलेन्द्रवीर कर्माचार्यले बताए ।

विश्व स्वास्थ्य संगठनका अनुसार सामान्यतया आमाको गर्भमा बसेको ३६ हप्तापछि बच्चा जन्मनु स्वाभाविक समय हो । तर, पछिल्लो समयमा यो ‘साइकल’ अगावै शिशु जन्मने गरेको राजधानीका अधिकांश सरकारी अस्पतालहरूको तथ्यांकले देखाएको छ । महाराजगन्जस्थित शिक्षण अस्पताल (टिचिङ) को तथ्यांकअनुसार गत आर्थिक वर्षमा ४ हजार ३ सय ७४ महिला सुत्केरी भएका थिए । तीमध्ये ९५ शिशु नौ महिनाको ‘परिपक्व अवधि’ अगावै जन्मिएका थिए । पछिल्ला वर्षहरूको तथ्यांक तुलनामा समयअगावै शिशु जन्मने प्रवृत्ति बढिरहेको अस्पतालकी नर्सिङ निर्देशक कोपिला पालिखे श्रेष्ठले बताइन् ।

समयअगावै जन्मिने शिशुको राम्ररी वृद्धि विकास भइनसकेको हुँदा त्यस्ता शिशुलाई बचाउन गाह्रो हुने स्त्रीरोग विशेषज्ञ बताउँछन् । ‘यस्ता शिशु निकै कम तौलका जन्मिन्छन्, उनीहरूमा संक्रमण हुने सम्भावना पनि बढी हुन्छ,’ डा. कर्माचार्य भन्छन्, ‘शिशुको फोक्सो, कलेजो, मुटु, मिर्गाैलालगायत कुनै पनि अंगको पूर्ण विकास भइसकेको हुँदैन, लामो समयसम्म आईसीयूमा राखेर बचाउनुपर्ने हुन्छ ।’

टिचिङ अस्पताल एनआईसीयूकी नर्सिङ अफिसर प्रेमालक्ष्मी खागीका अनुसार समयअगावै जन्मने अधिकांश शिशुुको आईसीयूमै मृत्यु हुने गरेको छ । ‘यस्ता शिशु बाहिरको तापक्रम सुहाउँदो हुँदैनन्, ‘उनले भनिन्, ‘कम्तीमा २४ घण्टादेखि एक सातासम्म आईसीयूमा राख्नुपर्छ, नत्र हल्का चिसो हुनेबित्तिकै उनीहरूको मृत्यु हुन्छ ।’ एनआईसीयूको तथ्याकंअनुसार गत आर्थिक वर्ष समयअगावै जन्मिएका ३० शिशुको मृत्यु भएको थियो । ‘डिस्चार्ज भई घर पुगेकाको पनि उत्तिकै संख्यामा मृत्यु हुने गरेको खबर आउँछ,’ खागीले भनिन् । यस्तै समयअगावै जन्मने शिशुहरूमा अपांगता हुन सक्ने सम्भावना पनि बढी रहने बालचिकित्सकहरू बताउँछन् ।

सरकारले गर्भवती महिला, सुत्केरी आमा र नवजात शिशुको पोषका लागि विभिन्न कार्यक्रममार्फत २० वर्षअघि बच्चा जन्माउन नहुने चेतना फैलाइरहेको छ । यस्ता सन्देश गाउँगाउँमा अझै फैलाउन आवश्यक भएको प्रसूतिगृहका निर्देशक डा. अमीरबाबु श्रेष्ठले बताए । ‘हाम्रो देशमा बालविवाह नरोकिनुले पनि समयअगावै शिशु जन्मने क्रम रोकिन नसकेको हो,’ डा. श्रेष्ठले भने, ‘यसले पनि मातृशिशु मृत्युदर बढाइरहेको छ ।’ कान्तिपुरबाट

 



प्रतिक्रिया दिनुहोस्