Logo

हिन्दू राष्ट्रको माग गर्दै ज्ञापनपत्र



बाजुरा, २४, असोज। राष्ट्रिय प्रजातन्त्र पार्टी बाजुराले हिन्दू राष्ट्र कायम गर्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीमार्फत ज्ञापनपत्र बुझाएको छ ।

देशव्यापीरुपमा हिन्दू राष्ट्र कायम गर्न माग भएपनि अहिलेको सरकारले कुनै चासो नदेखाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई पत्र बुझाएको जिल्ला कार्यसमिति संयोजक उमेशजंग शाहीले जानकारी दिनुभएको छ ।

शाहीले दिएको जानकारीअनुसार सडकदेखि सदनसम्म हिन्दू राष्ट्रका पक्षमा वकालत गर्दै आएको राप्रपाको मागमा सरकारले चासो नदेखाएको बताउनुभयो ।

ज्ञापनपत्रमा धर्मनिरपेक्षताको आडमा हाल पनि योजनाबद्ध र संगठितरुपले लोभलालच, त्रास र भ्रम सिर्जना गरेर लाखौँ नेपालीको धर्म परिवर्तन गराउने कार्य जारी रहेको उल्लेख गरिएको छ ।

धर्म परिवर्तनको कार्यबाट नेपालको धार्मिक, सांस्कृतिक पहिचान संकटमा पर्ने खतरा छ भने अर्कोतिर सदियौँदेखि नेपाली समाजमा कायम रहेको सद्भाव र एकता खलबलिँदै धार्मिक द्वन्द्व बढ्ने सम्भावना रहेकाले धर्मनिरपेक्षता हटाइनुपर्ने पत्रमा भनिएको छ ।

आसन्न मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्रत्यक्ष अभिमत लिई राष्ट्रिय जनमत संग्रहको माग ज्ञापनपत्रमा गरिएको छ । रासस

 



प्रतिक्रिया दिनुहोस्