Logo

गुटगत सूचीले समानुपाति उम्मेदवार छान्न सकस



काठमाडौं २९ असोज । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची आज आइतबार निर्वाचन आयोगमा बुझाउनुपर्नेछ । तरपनि राजनीतिक दलहरूले त्यसको टुंगो लगाउन सकेका छैनन् । गठबन्धनको प्रयास र आकांक्षी बढी भएपछि प्रमुख दलहरूलाई उम्मेदवार टुंग्याउन सकस परेको हो ।तीन हजारभन्दा बढी सिफारिस

कांग्रेसले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि जिल्ला र क्षेत्रीय समितिलाई तीन–तीनजनाका दरले नाम सिफारिस गर्न परिपत्र गरेको थियो । तर, जिल्लाबाट आएका समानुपातिक उम्मेदवारको सिफारिसको संख्या तीन हजारभन्दा माथि छ । ‘हामीले संख्या गनेका छैनौँ, तर तीन हजारभन्दा बढी सिफारिस भएर आएका छन्,’ कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले भने ।

उम्मेदवार धेरै भएपछि कार्यदल

समानुपातिकबाट सांसद बन्न एउटै निर्वाचन क्षेत्र र प्रदेश सभाका लागि तीन हजार बढी सिफारिस भएपछि नामबारे अध्ययन गर्न संसदीय समितिले कार्यदल गठन गरेको छ । कार्यदलमा डा।रामशरण महत, डा।प्रकाशरण महत, महेश आचार्य र बालकृष्ण खाँण सदस्य छन् । ‘नाम धेरै आएपछि यिनै नामबाट वास्तविक उम्मेदवार खोज्ने सहजताका लागि हामीले कार्यदल गठन गरेका छौँ,’ कार्यदल सदस्य खाँणले नयाँ पत्रिकासँग भने, ‘सम्भावित उम्मेदवारबारे हामीले सिफारिस गरेपछि बोर्डले उम्मेदवारको अन्तिम टुंगो लगाउँछ ।’

शनिबार बिहान ८ देखि १२ बजेसम्म र बेलुका पनि उम्मेदवार छान्ने समितिको बैठक बसेको थियो । आइतबार दिनभर बैठक बसेर बन्दसूची निर्वाचन आयोगमा बुझाउने कांग्रेसको तयारी छ ।

सिट घटेपछि टिकट र समानुपातिक सूचीमा पार्नै हम्मे

संघीय संसद् २७५ सदस्यीय हुनेछ । यो संख्या समानुपातिककमा ११० र प्रत्यक्षमा १६५ जोड्दाको हो । यस्तो बन्दसूचीमा ११० जनाको नाम बुझाउँदा समावेशी कोटामा महिला, मधेसी, दलित, थारू, मुस्लिम, अल्पसंख्यक, पिछडिएको क्षेत्रसहितबाट मिलाउनुपर्ने हुन्छ । साथै, प्रत्यक्षमा पनि २४० बाट १६५ मा संख्या झारिएपछि मुख्य दाबेदार पनि प्रत्यक्षमा अटाउन सक्ने अवस्था छैन । यस्तोमा समानुपातिकतर्फ पनि नेताहरूको आँखा पर्ने देखिएको छ ।

 

एमालेको आज बस्ने स्थायी समितिले टुंगो लगाउने

एमालेमा प्रदेश र प्रतिनिधिसभाका समानुपातिकतर्फका उम्मेदवार टुंग्याउन ‘महाभारत’ देखिएको छ । प्रतिनिधिसभाका १ सय १० तथा प्रदेश सभाका २ सय ३० उम्मेदवारका लागि ७–८ गुना बढी संख्यामा सिफारिस आएको एमालेले जनाएको छ । बन्दसूची पेस गर्ने दिन आइतबारसम्म टुंगो लगाउने गरी स्थायी समितिमा औपचारिक छलफलसमेत भएको छैन ।

समानुपातिकतर्फका सिफारिस भएर आएका दुई हजारभन्दा बढी नाम केन्द्रीय कार्यालयमा जम्मा भइसकेको छैन । सबैको नाम प्रस्ताव गरेर छलफल गर्दा लामो समय गुज्रिने देखिएपछि प्रदेश संयोजकहरूमार्फत ‘सर्ट लिस्टिङ’ गरेर स्थायी समितिबाट समानुपातिकतर्फका उम्मेदवार टुंग्याउने गरी एमालेले अन्तिम गृहकार्य गरिरहेको छ । शुक्रबार राति अध्यक्ष केपी ओलीले प्रदेश संयोजक र मोर्चा संगठन प्रमुखबाट अन्तिम सम्भावित नामबारे ‘ब्रिफिङ’ लिएका छन् । शनिबार दिनभरिको गृहकार्यका आधारमा आइतबार बस्ने स्थायी समितिबाट टुंगो लगाएर बन्दसूची बुझाउने एमालेको तयारी छ ।

माओवादी कार्यदलले सर्ट लिस्ट गर्दै

माओवादी केन्द्रलाई प्रदेश र प्रतिनिधिसभातर्फ समानुपातिक सूची तयार गर्न सकस परेको छ । आवश्यकताभन्दा धेरै आकांक्षीको नाम जिल्लाजिल्लाबाट सिफारिस भएपछि उम्मेदवारको सूची तयार गर्न कठिन भएको हो । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले आइतबार बिहानसम्म प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेदवारको सूची तयार भइसक्ने बताइन् । ‘पार्टीले समानुपातिक लिस्ट तयार गर्न कार्यदललाई जिम्मेवारी दिएको छ,’ भुसालले भने, ‘प्रदेश सभाबाट अनुमोदन भएपछि कार्यदलले अन्तिममा फाइनल गर्नेछ ।’



प्रतिक्रिया दिनुहोस्