Logo

विजय गच्छदार लोकतान्त्रिक फोरमबाट निष्कासित



काठमाडौं, ३० भदौ । नेपाल लोकतान्त्रिक फोरमका अधिकाश केन्द्रिय नेताहरुले पार्टी अध्यक्ष लगायत केही नेता नेपाली काँग्रेसमा प्रवेश गरेपनि आफूहरु कुनैपनि हालतमा कांग्रेसमा सहभागी नहुने स्पष्ट पारेका छन् ।

अध्यक्ष विजयकुमार गच्छदारले आज कांग्रेससँग पार्टी एकता गरेको केही समय नबित्दै रिपोर्टर्स क्लब नेपालमा असन्तुष्ट नेताहरुले पत्रकार सम्मेलन गरेर आफूहरु कांग्रेसमा नजाने बरु पार्टी अध्यक्ष गच्छदारलाई नै साधारण सदस्य समेत नरहनेगरि निश्कासन (कारबाही) गरेको सुनाए ।

नेपाल लोकतान्त्रिक फोरमका भानुराम थारुको संयोजकत्वमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थारुले यस्तो बताएका हुन।

सह–अध्यक्ष शिवलाल थापाले भने,‘हाम्रो पार्टी काँग्रेसमा विलय भयो भन्ने समाचारहरु आएका छन्, ती सबै हल्ला हुन, हामी यहप् पार्टीबाट कानुनले दिएसम्म चुनाव लड्छौँ, यदि मिलेन भने स्वतन्त्र रुपमा चुनावी मैदानमा उत्रिन्छौँ।’

थापाले अघि थपे,‘गच्छदारजीले बहुत ठूलो गल्ती गर्नुभयो, आगामी दिनमा उहाँले चाहे अनुसारको काँग्रेसमा पद मिल्दैन, त्यतिखेर उहाँ आफ्नै पार्टीमा फर्किनुहुन्छ, हामीले स्वागत पनि गर्नेछौँ।’
मुलुकमा रहेको गरिबी, दलित, उत्पीडित लगायत सबैको भलो गर्नको लागि आफूहरुको पार्टी रहिरहने भन्दै थापाले थपे,‘गच्छदारले पार्टीको नियम, नीती, निर्देशन विपरित काम गर्नुभएको छ, हामीले उहाँलाई आजैबाट साधारण सदस्य समेत नरहनेगरि निष्काशित गरेका छौँ।’

पार्टीद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ,‘पछिल्लो राजनीतिक परिस्थतिबाट पार्टीका पंत्ति र सदस्यहरुलाई विचलित नहुनको लागि आग्रह गर्दछौँ।’



प्रतिक्रिया दिनुहोस्