Logo

दोस्रो ठूलो चाड तिहार आजबाट सुरु



काठमाडौं ३१ असोज ।  नेपालीको दोस्रो ठूलो चाड तिहार आजबाट सुरु भएको छ । तिहारको पहिलो दिन आज कागको पूजा गरेर मनाइँदै छ । तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ ।

कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक भन्ने गरिन्छ ।यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठो–मीठो खान दिएर काग तिहार मनाइँदैछ । वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गरिन्छ । यस दिन कागलाई पूजा आजा गरी खान नदिइ आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ ।

वैदिक सनातन हिन्दू धर्मानुसार कागलाई यमदूतका रुपमा मानिन्छ । आजैका दिनदेखि यम दीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । तिहारको दोस्रो दिन कुकुर पूजा, तेस्रो दिन कात्तिक कृष्ण औंशीका दिन लक्ष्मीपूजा, चौथो दिन गाईपूजा, गोवद्र्धन पूजा, नेपाल सम्वत्को नयाँ वर्ष ११३८ र म्हःपूजा अर्थात् आत्मपूजा एवं तिहारको अन्तिम दिन कात्तिक शुक्ल द्वितीयाका दिन भाईटीका लगाई तिहार पर्व मनाइन्छ । यस वर्ष कात्तिक ४ गते मध्याह्न ११ बजेर ५१ मिनेटमा भाईटीकाको साइत उत्तम रहेको पञ्चांग निर्णायक समितिले जनाएको छ । आजको दिनलाई आयुर्वेदका चिकित्सकले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रुपमा लिने गर्छन् । विसं १९७४ मा काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरि जयन्ती मनाउन थालिएको थियो । त्रिविको आङ्गिक क्याम्पसका रुपमा सञ्चालित आयुर्वेद क्याम्पस हाल कीर्तिपुरमा सरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्