काठमाडौं, १३ कार्तिक । करीब २ वर्ष अगाडि प्रदर्शनमा आएको चलचित्र ‘झोला’का निर्देशक यादवकुमार भट्टराईले ‘भोर’ को छायांकन सम्पन्न गरेको जानकारी दिएका छन् ।
मध्य पुर्वी नेपालको जनकपुरमा छठ पर्वको अबसरमा पत्रकार सम्मेलन गर्दै निर्माण टीमले चलचित्रिको सम्पुर्ण छायांकनको काम सकिएको जानकारी गराएको हो । निर्देशक भट्टराईले मैथिली भाषीहरुको बाहुल्यता भएको ठाउँमा उनिहरुकै समाजको समस्यालाई चित्रित गर्दै ‘भोर’ निर्माण गरेको बताए ।
मधेशमा जरो गाडेर बसेको दाईजो प्रथाको विषयलाई चलचित्रमा समेटिएको छ । यो फिल्ममा अधिकांश मैथिली भाषी कलाकारहरुको अभिनय छ । कृष्ण धारावासीको कथामा निर्माणाधीन यो चलचिको निर्देशन यादव कुमार भट्टराईले गरेका हुन् । देवेन्द्र प्रसाद सुवेदी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता राज तिमिल्सिना र रामगोपाल थापा हुन् ।
फिल्मलाई दिपक बज्राचार्यले खिचेका हुन् ।
वरिष्ठ साहित्यकार कृष्ण धारावासीको लेखनमा तयार भएको चलचित्रको पटकथा निर्देशक भट्टराईले नै लेखेका छन् । फिल्ममा मुख्य पात्रको रुपमा मिथिलाञ्चलका प्रसिद्ध कलाकार राम नारायण ठाकुर छन् ।
यस्तै, मदन ठाकुर, परमेश झा, बिएन पटेल, राजेश सक्सेना, डली सरकार, अनितारानी मण्डल, संगिता देव, सारथी लामा, रितेश पाटली, सुरेन्द्र राय, धीरज ठाकुर लगायतका कलाकारको पनि फिल्ममा अभिनय छ ।