काठमाडौं १७ कार्तिक ।
झापा १ : विश्वप्रकाश शर्मा र सुरेन्द्र कार्की –
झापा १ मा वाम गठबन्धनका सुरेन्द्र कार्की (राम कार्की) र कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा उम्मेदवार बनेका छन् । उनीहरूबीचको प्रतिस्पर्धा निकै रोचक हुने देखिछन् ।
झापा ३ : कृष्ण सिटौला र राजेन्द्र लिङदेन
कांग्रेसका प्रभावशाली नेता कृष्ण सिटौला समानुपातिकमा बस्न नचाहेर झापा ३ बाट प्रत्यक्ष उम्मेदवार भएका छन् । उनका प्रतिस्पर्धीका रूपमा राप्रपा महामन्त्री राजेन्द्र लिङदेन देखिएका छन् । लिङदेनलाई वाम गठबन्धनले समर्थन गर्ने भएपछि सिटौला दबाबमा परेका छन् ।
मोरङ ६ : डा. शेखर कोइराला र लालबाबु पण्डित
दुई चर्चित नेताबीचको प्रतिस्पर्धाले मोरङ ६ चर्चामा छ । कांग्रेसका डा. शेखर कोइराला र एमालेका लालबाबु पण्डितबीच यो क्षेत्रमा प्रतिस्पर्धा हुँदै छ ।
चितवन ३ : चितवन ३ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उम्मेदवारी दिएका छन् । यो क्षेत्रबाट ०७० को निर्वाचनमा राप्रपाका विक्रम पाण्डे विजयी भएका थिए । कालिका कन्सट्रक्सनका मालिक पाण्डे बहालवाला वनमन्त्री हुन् । पाण्डेलाई कांग्रेसले समर्थन गरेको छ ।
काठमाडौं १ : कांग्रेसको प्रभाव क्षेत्रका रूपमा रहेको काठमाडौं १ मा विवेकशील साझा पार्टीबाट रवीन्द्र मिश्र उम्मेदवार बनेपछि चर्चामा आएको छ । यस क्षेत्रमा कांग्रेसबाट प्रकाशमान सिंह उम्मेदवार बनेका छन् । वाम गठबन्धनबाट माओवादी केन्द्रका अनिल शर्माले उम्मेदवारी दिएका छन् ।
काठमाडौं २ : काठमाडौं २ मा एमाले वरिष्ठ नेता माधकुमार नेपालले उम्मेदवारी दिएका छन् । कांग्रेसबाट निवर्तमान सांसद दीपक कुइँकेल उम्मेदवार बनेका छन् । नेपाल र कुइँकेलसँग विवेकशील साझा पार्टीका डा. सूर्यराज आचार्य प्रतिस्पर्धामा छन् ।
काठमाडौं ४ : दुई युवा नेताको उम्मेदवारीले काठमाडौं ४ चर्चामा छ । कांग्रेसका चर्चित युवा नेता गगन थापाविरुद्ध वाम गठबन्धनले एमालेका युवा नेता राजन भट्टराईलाई उम्मेदवार बनाएको छ । स्वास्थ्यमन्त्री भइसकेका थापा र नेपाल–भारत प्रबुद्ध समूहका सदस्य भट्टराईबीचको प्रतिस्पर्धालाई रोचक रूपमा हेरिएको छ ।
काठमाडौं ५ : एमाले महासचिव ईश्वर पोखरेल र कांग्रेस नेता डा. प्रकाशशरण महतबीच काठमाडौं ५ मा प्रतिस्पर्धा हँुदै छ । यो क्षेत्रमा विवेकशील साझा पार्टीले उज्ज्वल थापालाई उम्मेदवार बनाएको छ ।
धनुषा ३ : कांग्रेसका विमलेन्द्र निधि र राजपाका राजेन्द्र महतोको प्रतिस्पर्धाले धनुषा ३ चर्चामा छ । कांग्रेस र राजपाबीच तालमेलको प्रयास असफल भएपछि निधि र महतोबीच प्रतिस्पर्धा हुन लागेको हो ।
सप्तरी २ : सप्तरी २ पनि चर्चामा आएको छ । यस क्षेत्रबाट संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिएका छन् । उनी ०६४ र ०७० को संविधानसभा निर्वाचनमा सुनसरी र मोरङबाट निर्वाचित भएका थिए । उनलाई टक्कर दिन वाम गठबन्धनले संसद्मा कुर्सी मिल्काएर चर्चा कमाएका माओवादी नेता उमेश यादवलाई उठाएको छ ।
गुल्मी २ : गुल्मी २ मा फेरि एकपटक एमालेका प्रदीप ज्ञवाली र कांग्रेसका चन्द्र भण्डारीबीच प्रतिस्पर्धा हुँदै छ । ०७० को निर्वाचनमा भण्डारीले ज्ञवालीलाई पराजित गरेका थिए । दुवै भाषण कलामा पोख्त छन् ।
नवलपुर १ : कांग्रेस महामन्त्री डा. शशांक कोइराला र सूर्य चुनाव चिह्न लिई स्वतन्त्र उम्मेदवारी दिएका हृदयेश त्रिपाठीबीचको प्रतिस्पर्धाले नवलपुर १ लाई चर्चामा ल्याइदिएको छ । पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा कोइराला नवलपरासीबाट विजयी हुँदै आएका थिए । त्रिपाठी भने केही समयअघि राजपा छाडेर स्वतन्त्र समूहका रूपमा चुनावी मैदानमा उत्रेका छन् । नयाँपत्रिकाबाट