Logo

केन्द्रमा १० प्रतिशत मात्रै महिला !



काठमाडौं १७ कार्तिक ।
प्रतिनिधिसभाको पहिलो चरण निर्वाचनमा महिलाको अत्यन्तै न्यून उम्मेदवारी दिएका दलहरूले दोस्रो चरणमा पनि कम प्राथमिकतामा राखेका छन् । प्रमुख दलले पहिलो र दोस्रो चरण गरी जम्मा १० प्रतिशत मात्रै महिला उम्मेदवार उठाएका छन् । निर्वाचन हुने जम्मा एक सय ६५ क्षेत्रमा प्रतिनिधिसभाका लागि १८ महिलाको मात्रै उम्मेदवारी परेको छ । मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि प्रत्यक्षतर्फ प्रमुख तीन दलबाट जम्मा १५ जना नेत्रीले मनोनयन दर्ता गराएका छन् ।

जम्मा ४५ जिल्लाका एक सय २८ क्षेत्रमा कांग्रेसका तर्फबाट सबैभन्दा बढी सात महिलाले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी, एमालेबाट पाँच र माओवादीबाट तीन महिला चुनावी मैदानमा उत्रिएका छन् । प्रतिनिधिसभामा कांग्रेसबाट उम्मेदवारी दिनेमा तेह्रथुम- १ बाट सीता गुरुङ, महोत्तरी-२ बाट किरण यादव, मकवानपुर- २ बाट महालक्ष्मी उपाध्याय डिना, काठमाडौं -३ बाट अम्बिका बस्नेत, दाङ- १ बाट सुशीला चौधरी, कैलाली- १ बाट ईश्वरीदेवी न्यौपाने र कैलाली- ५ बाट डा. आरजु राणा छन् ।

त्यसैगरी, एमालेले झापा-२ बाट पवित्रा खरेल, सुनसरी-३ बाट भगवती चौधरी, उदयपुर-१ बाट मञ्जु चौधरी, स्याङ्जा-२ बाट पद्मा अर्याल र कैलाली-१ मा गरिमा शाहलाई उठाएको छ । माओवादी केन्द्रले पार्टी प्रवक्ता पम्फा भुसाललाई ललितपुर- ३ बाट, उर्मिला अर्याललाई पर्सा-४ बाट र बीना मगरलाई कञ्चनपुर-१ बाट उम्मेदवार बनाएको छ ।

पहिलो चरणअन्तर्गत ३७ क्षेत्रमा हुने निर्वाचनका लागि कांग्रेसले सरस्वती बजिमय र चम्पादेवी खड्का तथा माओवादीले कमला रोकालाई उम्मेदवार बनाएका थिए । कांग्रेस नेत्री कल्याणी रिजालले दलहरूले दिएको महिला उम्मेदवारी सन्तोषजनक नभएको बताइन् । १ सय ६५ क्षेत्रमध्ये जम्मा १० प्रतिशत मात्र महिला उठाएर दलहरूले अपमानित गरेको प्रतिक्रिया दिएकी छन् ।

दोस्रो चरण निर्वाचनका लागि बिहीबार अन्तिम उम्मेदवारी दिने महिलामध्ये कोमल ओली निकै चर्चामा रहिन् । केही समयपहिले मात्रै राप्रपाबाट एमालेमा प्रवेश गरेकी उनले एमालेबाट टिकट नपाएपछि दाङ-३ मा स्वतन्त्र उम्मेदवारी दिएकी छन् । एमालेकी प्रभावशाली नेत्री एवं पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले प्रदेशसभाका लागि काठमाडौंबाट उम्मेदवारी दिएकी छन् ।

कैलाली- १ मा महिला उम्मेदवारबीच नै प्रतिस्पर्धा हुने भएको छ । यो क्षेत्रमा कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने र वाम गठबन्धनबाट एमाले नेत्री गरिमा शाह मैदानमा भिड्ने भएका छन् । यसअघि दुवै नेत्री समानुपातिकबाट सांसद थिए । बिहीबार उम्मेदवारी दिने कांग्रेसकी आरजु राणा प्रधानमन्त्रीपत्नी हुन् भने बीना मगर माओवादी अध्यक्ष पुष्पकमल दाहालकी बुहारी हुन् ।
अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्