Logo

निर्वाचन सुरक्षा : सबै स्थानमा पुग्यो सेना



 

काठमाडौं १९ कार्तिक ।
२०७४-नेपाली सेनाले निर्वाचनका बेला उम्मेदवारले आफ्नो सुरक्षा अवस्था आकलन गर्दै सुरक्षा निकायसँग समन्वय गर्न आग्रह गरेको छ । सबै उमेदवारलाई निगरानी गर्दै सुरक्षा विश्लेषण गरे पनि आफूमाथि पर्न सक्ने खतरा व्यक्ति आफैंलाई थाहा हुन सक्ने भएकाले सुरक्षा सचेतता अपनाउन सेनाले आग्रह गरेको हो ।

सुरक्षासम्बन्धी सानो सूचना पनि सुरक्षा निकायलाई दिन कन्जुस्याइँ नगर्नसमेत सेनाको सुझाव छ । सेनाको उच्च स्रोतका अनुसार सुरक्षा खतरामा रहेका उम्मेदवारलाई सेनाले व्यक्तिगत रूपमा नै जानकारी दिँदै आफूले दिएको सुरक्षाबारे अवगत गराएको छ । आफ्नो संयन्त्रबाट जानकारी पाएपछि उम्मेदवारलाई त्यस्तो सन्देश प्रवाह गर्ने गरेको र कतिपय सुरक्षा निकाय आफैंले ‘ह्यान्डल’ गर्ने गरेको सेनाको भनाइ छ ।

कतिपय नेताहरू सार्वजनिक समारोहमा जाँदा ध्यान दिनुपर्ने र राति अबेरसम्म हिँडा समस्या पर्न सक्ने भन्दै सचेत गराएको सेना सम्बद्ध स्रोतले बतायो । तराईका केही स्थानमा त्यस्तो चुनौती रहेको सेनाले उल्लेख गरेको छ । स्रोतका अनुसार सेनाले सुरक्षा खतरामा रहेका नेतालाई सादा पोसाकमा कार्यकर्ताझंै रहेरसमेत सुरक्षा दिइरहेको छ । त्यस्तै उम्मदेवारको सुरक्षामा सेनाले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलसँग समेत समन्वय गरेको छ । नेपाल प्रहरी तथा सशस्त्र बलले पनि आफ्नो तवरबाट नेताहरूलाई सुरक्षा दिइरहेका छन् । कतिपय अवस्थामा त्यो अपुग हुन सक्ने भन्दै सचेत रहन व्यक्तिगत रूपमा जानकारी दिएको सेनाका अधिकारीले बताए ।

पहिलो र दोस्रो घेरामा सुरक्षा दिने नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग समेत सेनाले ‘सुरक्षा थ्रेट’ रहेका नेताको विषयमा विश्लेषण गर्दै यस्तो सचेतता अपनाएको हो । हरेक निर्वाचनको मुखमा निर्वाचनविरोधी केही गतिविधि हुने हुनाले सुरक्षा निकाय मात्र होइन, उम्मेदवार आफैं सचेत रहनुपर्नेमा सबै सुरक्षा निकाय सहमत हुँदै त्यस्तो सुझाव दिइएको हो । सेनाले त्यस्ता सबै स्थानमा आफ्नो सुरक्षाकर्मी खटाइसकेको छ । सुरक्षाको अवस्थाबारे पृतनापतिसहितको छलफलपछि थप सजगता र नयाँ रणनीति तय गर्ने सेनाले जनाएको छ ।

‘निर्वाचनविरोधी गतिविधिमा संलग्न हुन सक्ने सम्भावित पक्षलाई हामीले नजिकबाट नियालिरहेका छौं,’ सेनाका प्रवक्ता सहायक रथी नयनराज दाहालले भने, ‘सादा पोसाकमा प्रहरीहरू जसरी खटिन्छन्, त्यसैगरी नेपाली सेनाले पनि आफ्नो निगरानी जारी राखेको छ । हामीले सबै उपाय अवलम्बन गरेका हुन्छौं । चुनावविरोधी गतिविधिमा कुनै छुट हुने छैन । हामीले आफ्नो तयारी गरिसकेका छौं । सेना आआफ्नो स्थानमा पुगिसकेको छ ।’ सेनाले अति संवेदनशील, संवेदनशील, सुरक्षाको चुनौती रहेको र सामान्य क्षेत्र गरी चार भागमा बाँडेर सुरक्षा योजना बनाएको छ ।

जिल्लामा मतदान स्थल सुरक्षाको तेस्रो घेरामा नेपाली सेना रहनेछ । मतदान स्थलको भित्री घेराबाहेक बाहिरी सुरक्षाको सम्पूर्ण जिम्मेवारी सेनाको हुनेछ । चुनावका लागि केन्द्रदेखि जिल्ला तहसम्म रिजर्भ फौज, बम डिस्पोजल टोली, मतपत्र छपाइको सुरक्षा, मतपत्र, मतपेटिका तथा अन्य सामग्री ढुवानी, हवाई पेट्रोल तथा स्ट्राइकिङ फौज, हरेक पृतनामा हेलिकप्टर राख्ने लगायतको काम सेनाले गरिसकेको छ ।

सेनाले पाएको जिम्मेवारीमा कुनै पनि कोणबाट नचुक्ने गरी तयारी अघि बढाएको स्पष्ट पार्दै प्रवक्ता दाहालले भने, ‘यस्तै तयारी अन्य सुरक्षा निकायको पनि रहेकाले हामी समन्वयमा नै अघि बढ्ने छौं ।’ मंसिर १० र २१ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धानका अधिकारीहरू खटिएका छन् । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्