Logo

अधिकांश उम्मेदवार दल–बदलु



काठमाडौं २० कार्तिक ।
२०४६ को परिवर्तनपछि रामेश्वर राय यादव सरकारी जागिर छाडेर सद्भावना पार्टीमा लागे । २०५२ मा पहिला कानुन अनि समाजकल्याण र वनमन्त्री बने । उपेन्द्र यादवले मधेसी जनअधिकार फोरमलाई राजनीतिक दल बनाएपछि उनी त्यतै घर सरे । विजय गच्छदारले जब फोरम फुटाएर लोकतान्त्रिक फोरम बनाए, यादव उतै जोडिए ।

पार्टीमा गच्छदारपछिको भूमिकामा (वरिष्ठ उपाध्यक्ष) रहेका उनी गत स्थानीय तह निर्वाचनताका सपरिवार माओवादी केन्द्रमा प्रवेश गरे । छोरा विक्रमलाई तत्काल माओवादीबाट टिकट दिलाएर चक्रघट्टा गाउँपालिकाको अध्यक्ष बनाए । नवप्रवेशी उनै रामेश्वर माओवादीबाट सर्लाही ३ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाइएका छन् । आफूले ‘बिग जम्प’ गरेको (ठूलो फडको मारेको) विशेषण दिने यादव स्वयं निर्वाचनको मैदानमा ‘केही असहज’ महसुस गरिरहेका छन् । ‘यो पृथ्वीको एक ध्रुबबाट अर्कामा गएजत्तिकै हो । तर म जस्तो वातावरणमा पनि भिज्ने र रम्ने व्यक्ति भएकाले हुनुपर्ने जति असहजता भएको छैन,’ उनले भने, ‘वाम गठबन्धनका कार्यकर्ताबाट पनि उत्साहजनक सहयोग पाइरहेको छु ।’

यादव मात्र होइन, माओवादीबाटै सर्लाही ४ मा प्रतिस्पर्धा गरिरहेका शिवपुजन राय राजपाका केन्द्रीय सदस्य थिए । चुनावका बेला पार्टी फेरेका उनले माओवादीमा रगत–पसिना बगाएका धेरैलाई पछि पार्दै सजिलै टिकट पाए । राजपाकै जिल्ला अध्यक्ष मण्डल छाडेर आएका दिनेश यादव अर्का भाग्यमानी हुन्, जसले सर्लाही २ बाट माओवादीको उम्मेदवारी पाए ।

रोचक संयोग नै मान्नुपर्छ– सर्लाहीबाट माओवादीले प्रतिनिधिसभा र प्रदेशसभामा गरी ९ जनालाई उम्मेदवार बनाएको छ, सबै आयातित अर्थात् अन्य पार्टीबाट आएका । कांग्रेसले पनि जिल्लाका ४ क्षेत्रमध्ये दुइटा प्रतिनिधिसभाका र दुइटा प्रदेशसभाका गरी ४ जना आगन्तुकलाई उम्मेदवार बनाएको छ । वाम गठबन्धनको बाँडफाँडमा क्षेत्र १ एमालेको भागमा पर्‍यो । माओवादीबाट उक्त क्षेत्रमा उठ्ने आसमा रहेका शम्भुलाल श्रेष्ठको बाटो नै थुनियो । माओवादीबाट सांसद र ऊर्जा राज्यमन्त्री भइसकेका उनी अन्तत: कांग्रेसमा पसे र त्यहींबाट टिकट पाए ।

कांग्रेसबाट क्षेत्र २ को प्रतिनिधिसभामा भिडिरहेका जंगीलाल राय राजपाका महामन्त्री थिए । चुनावअघि पार्टी बदलेका उनलाई आउँदाआउँदै ठूलै अवसर मिल्यो । त्यहाँ कांग्रेसका जिल्ला सभापति नागेन्द्रकुमार राय मुख्य आकांक्षी थिए । ‘सर्लाही २ मा कांग्रेस कमजोरै थियो । जंगीलालजीले यता आएर उठ्ने चाहना राख्नुभयो । जित्न सक्नुहुन्छ भनेर म ब्याक भइदिएँ,’ सभापति रायले भने, ‘जित्नुपर्ने र वाम गठबन्धनलाई तोड्नुपर्नेजस्ता कारण पार्टीले यस्ता उम्मेदवार खोजेको हो । यसले कार्यकर्ता पंक्तिमा खुसी नै छाएको छ ।’

प्रदेशमा पनि आगन्तुकै आगन्तुक

माओवादीबाट सर्लाही १ (ख) मा प्रतिस्पर्धा गरिरहेका रामचन्द्र कुसबाह राजपाबाट, २ (क) का राजकुमार यादव राजपाबाटै, २ (ख) का सुरेश साह कांग्रेसबाट र ४ (ख) का रासनारायण राय राप्रपाबाट आएका हुन् । एमालेबाट गाविस अध्यक्ष जितेका फकिरा महतो पछि सद्भावनामा प्रवेश गरे । त्यसलाई पनि छाडेर केही वर्षअघि माओवादीमा आएका उनी ४ (क) बाट उम्मेदवार बनाइएका छन् । ३ (ख) बाट उठाइएका रामबाबु सिंह कुसबाहको पृष्ठभूमि पनि मधेसवादी दल नै हो । उनी केही वर्षअघि तमलोपा छाडेर माओवादीमा आएका थिए ।

कांग्रेसतर्फ ३ (ख) का कृष्णदेव यादव संघीय फोरमबाट आएका हुन् भने २ (क) मा उठाइएका नागेन्द्रप्रसाद यादव स्वतन्त्रबाट मलंगवा नगरपालिकाको दुई पटक मेयर भए । गत स्थानीय तहमा पनि स्वतन्त्रैबाट मेयरमा उठेका थिए, कांग्रेसका निरसल साहसँग थोरै मतान्तरले हारे । संसदीय चुनावमा भने आफैंलाई हराउने कांग्रेसमा पसेर प्रदेशसभामा प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतिनिधिसभामा १ र प्रदेशमा २ गरी ३ वटा उम्मेदवारी भागमा पाएको एमालेले भने आयातित खोजेको छैन । मधेसवादी दलको तालमेल भएकाले त्यहाँ पनि उम्मेदवार यता–उता भएका छैनन् ।

आकांक्षी निराश

माओवादीले क्षेत्र ३ मा बाहिरबाट ल्याएर रामेश्वर रायलाई टिकट दिएपछि त्यही क्षेत्रका प्रबल दाबेदार माओवादीका राजकुमार राय आक्रोशित भएका छन् । नवप्रवेशीलाई टिकट दिएर इमानदार कार्यकर्तामाथि पार्टीले अन्याय गरेको उनले गुनासो गरे । १५ वर्षदेखि माओवादी राजनीतिमा क्रियाशील उनले इमानदारीपूर्वक पार्टीको झोला बोक्नु अर्थहीन रहेको बिलौना सुनाए । ‘जनयुद्धमा भाइ गुमाएँ,’ उनले भने, ‘पार्टी संगठन मजबुत बनाउन लगातार मेहनत गरें । संगठन बलियो भएपछि नवप्रवेशीलाई टिकट दिनु अन्याय हो । यो अन्यायले दिएको पीडा व्यक्त गर्ने मसँग कुनै शब्द छैन ।’ पार्टी निर्णय ‘काम गर्ने कालु मकै खाने भालु’ जस्तै भएको उनको टिप्पणी छ ।

कारक गठबन्धन

जब वाम गठबन्धन बन्यो, प्रतिवादस्वरूप लोकतान्त्रिक गठबन्धन पनि बन्यो । थ्रेसहोल्डको कानुनी प्रावधानका कारणसमेत साना दल ठूलामा समाहित हुन थाले । ठूला दललाई आफ्ना गठबन्धन बलियो पार्नुपर्ने भयो । त्यसको प्रभावस्वरूप उम्मेदवार ‘आयात’ गर्नुपर्ने अवस्था आयो । ‘जसरी पनि चुनाव जित्नुपर्छ भन्नेमा दुवै गठबन्धन कस्सिएर लागेका छन्, होडबाजी छ,’ माओवादी केन्द्रका जिल्ला नेता रमेश बुढाथोकीले भने, ‘त्यही कारण जित्ने उम्मेदवार खोज्नु परेको हो । हाम्रो पार्टीमा त्यही भएको हो, सायद कांग्रेसमा पनि त्यस्तै भएको हुन सक्छ ।’ उनले पार्टीले निर्णय गरेर बनाइएका उम्मेदवारलाई लिएर कार्यकर्ता पंक्तिमा कुनै किसिमको असन्तुष्टि नरहेको दाबी गरे ।

कांग्रेस जिल्ला सभापति रायले पनि गठबन्धनकै कारण यस्तो ‘प्रतिस्पर्धात्मक’ स्थिति आएको प्रस्ट पारे । तर यसले आफ्नो दलको छवि नबिगारेको, कार्यकर्तामा निराशा नबढाएको उनको दाबी छ । उम्मेदवार भने आफूलाई दल मन परेर आएको र योग्यता हेरेर पार्टीले मौका दिएको बताउँछन् । क्षेत्र ३ का माओवादी उम्मेदवार यादवले भने, ‘पुरानो दलमा नेताहरू सानातिना स्वार्थमा अल्झिएका, मिसनभन्दा कमिसनमा लागेका थिए । माओवादीमा त्यस्तो छैन । नेतालाई भन्दा नीतिलाई हेरिन्छ । त्यही देखेर यता आएको हुँ ।’

क्षेत्र ४ मा राजपा छाडेर माओवादीको टिकटमा लडिरहेका शिव पुजनले मधेसको मुद्दा सम्बोधनमा माओवादीको भूमिका अग्रस्थानमा रहेका कारण आफूले दल बदलेको बताए । मधेसवादी दलमा १० वर्ष बिताएका उनी स्थानीय चुनावअघि माओवादीमा प्रवेश गरेका हुन् । प्रतिस्पर्धी उम्मेदवारले दल बदल्दै हिँड्ने भनेर प्रचार गरेको बाहेक नवआगन्तुक भएकै कारण कुनै समस्या नव्यहोरेको उनले सुनाए ।

माओवादी छाडेर कांग्रेसबाट टिकट लिएका क्षेत्र १ का प्रत्याशी शम्भुलाल श्रेष्ठले पुरानै पार्टीमा फर्केकाले साथीहरूले नवप्रवेशीका रूपमा नहेरेको बताए । उनी पहिला कांग्रेसबाट माओवादीमा गएका थिए । ‘प्रवेश गर्नेबित्तिकै टिकट दिएकामा थोरै साथीमात्र असन्तुष्ट छन् । घरदैलोमा जाँदा मतदाताले यो प्रश्न उठाउन सक्छन्,’ उनले भने, ‘जवाफ त दिनैपर्ने हुन्छ । मैले सुरुदेखि नै काम गरेको पुरानै पार्टीमा फर्केको हुनाले अलि सहज ठानेको छु ।’
कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्