Logo

प्रधानमन्त्रीलाई २०७० को भर, पहिलो संविधानसभा र स्थानीय तह परिणाम निराशाजनक



काठमाडौं २० कार्तिक । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई वाम गठबन्धनका कारण प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन चुनौतीपूर्ण देखिएको छ । स्थानीय तह निर्वाचनमा वाम गठबन्धन आबद्ध दलले प्राप्त गरेको मतका आधारमा वाम गठबन्धन अघि देखिएपछि प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले विजयका लागि मतदातामाझ निकै मेहनत गर्नुपर्ने देखिएको हो ।

स्थानीय तह निर्वाचनमा वडाध्यक्ष र प्रमुख तथा अध्यक्षले प्राप्त गरेको मतमा कांग्रेस गठबन्धन दलभन्दा झन्डै १० हजार मत पछि छ । स्थानीय निर्वाचनमा कांग्रेसले १९ हजार ५ सय २३ मत ल्याएको छ भने एमालेले १६ हजार ९ सय १५ र माओवादी केन्द्रले १० हजार ९ सय ४५ मत ल्याएको छ । २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचन परिणाम पनि देउवाका लागि सकारात्मक देखिएको छैन ।

त्यसबेला देउवाले २० हजार ५ सय २९ मत पाएर विजयी हँुदा उनका प्रतिद्वन्द्वी एकीकृत माओवादीका उम्मेदवार खगराज भट्टले १९ हजार १ सय ६१ मत पाएका थिए । तेस्रो स्थानमा एमालेका उम्मेदवार विक्रमबहादुर शाहीले ७ हजार ९ सय ८२ मत पाएका थिए ।

२०७० को संविधानसभा निर्वाचन आँकडा भने देउवाको पक्षमा देखिन्छ । २३ हजार ९ सय २० मतसहित देउवा विजयी हुँदा एकीकृत माओवादीका उम्मेदवार खगराज भट्ट १२ हजार ४ सय ९३ मत र एमालेका डा. तारा जोशी ७ हजार १ सय ९० मतमा सीमित भए ।

स्थानीय तहमा कांग्रेसको मत कमजोर हुनु देउवापछि धेरै मत पाउने एमाले र माओवादी केन्द्रबीचको गठबन्धन आक्रामक प्रचारमा उत्रनु देउवाका लागि चुनौती बनेको छ ।

देउवालाई जित्न चुनौती रहेको बार एसोसिएसनका अध्यक्ष विष्णु भट्टको बुझाइ छ । देउवाले जिल्लामा आएर असन्तुष्टहरूलाई मिलाउन नसक्ने हो भने क्रमभंगता हुने सम्भावना बढी रहेको वामपन्थी विश्लेषक हरिप्रसाद भट्ट बताउँछन् । तर, स्थानीय कांग्रेस नेता–कार्यकर्ता भने देउवा नेतृत्वमा संविधान कार्यान्वयन भएको, वाम गठबन्धनपछि कांग्रेस मात्र प्रजातान्त्रिक र लोकतन्त्रवादी शक्ति रहेको भन्दै मतदाताले सहज रूपमा देउवालाइ रोज्ने बताउँछन् ।

देउवाको व्यक्तित्वले पनि हामीलाई चुनाव जित्न सजिलो छ, उहाँको नेतृत्वमा मुलुक मात्र होइन, जिल्लाको पनि मुहार फेरिएको मतदाताले बिर्सिएका छैनन्,’ कांग्रेसका तर्फबाट जिल्ला समन्वय समिति संयोजक गणेशप्रसाद भट्ट भन्छन् ।



प्रतिक्रिया दिनुहोस्