Logo

दुर्गममा मतदाताका पीडा , नेता चिनेर भोट हाल्ने दिन कहिले आउला ?



काठमाडौं २० कार्तिक ।
आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका सुगम र सुविधा सम्पन्न ठाउँमा चुनावी सरगर्मी बढिसकेको छ । उम्मेदवारसहित दलका नेता–कार्यकर्ता पटकपटक मतदाताकहाँ पुगिरहेका छन् ।

जाजरकोटका दुर्गम गाउँमा भने जनताले उम्मेदवारको अनुहार नै नदेखी मत हाल्नुपर्ने बाध्यता छ । भौगोलिक विकटता र यातायात असुविधाका कारण मतदाताले उम्मेदवारको अनुहार नै नदेखी मत हाल्नुपर्ने बाध्यता भएको हो ।

चुनावको मिति नजिकिँदै गर्दा दलहरूले केही ठाउँमा चुनावी सभा र घरदैलो कार्यक्रम गरे पनि दुर्गममा गाउँमा भने चुनावको चहलपहल नै छैन । ‘कताकता कार्यक्रम हुन्छन रे तर हाम्रो ठाउँमा त नेताका अनुहार कसैले देख्न पाएका छैनन्,’ बारेकोट गाउँपालिका–३ का रामबहादुर रोकायले टेलिफोनमा भने ।

‘भोट हाल्नुपर्ने नेताका कुरा सुन्न र अनुहार देख्न नपाउँदा दुःख लाग्छ,’ उनले भने । दुर्गममा मतदातासँग गाउँस्तरका कार्यकर्ताले नै नेताको प्रशंसा गरेर मत माग्ने दुर्गमको चुनावी प्रचार शैली बनेको स्थानीय शिक्षक भूमिलाल रोकायले बताए ।

‘अरू बेला नेता देख्ने र भेट्ने कुरै भएन, चुनावमा भेटेर गाउँका समस्या राख्ने हो, त्यो पनि अवसर जुट्दैन,’ छेडागाड नगरपालिका–७ टीकाचौरका यामलाल पुनले राजधानीसँग भने । ‘हाम्रो बस्तीका मतदाताले चुनावमा नेता चिनेर अंकमाल गर्दै भोट हाल्ने दिन कहिले आउला,’ उनी भन्छन् ।

‘पार्टी र उम्मेदवारको नाम सुनिन्छ तर भेट हुने छाँट छैन,’ जुनीचाँदे गाउँपालिका–७ जुर्कका रामकृष्ण घर्तीले गुनासो गरे । उनी यसपटक उम्मेदवार गाउँ आए भने गाउँको विकास गर्न अनुरोध गर्न नपाई भोट हाल्नुपर्ने बाध्यता हटाउने योजनाबारे सोध्ने योजनामा छन् । तीन नगरपालिका र चार गाउँपालिका रहेको जाजरकोटका अधिकांश ठाउँमा चुनावी प्रचारप्रसारमा राजनीतिक दलका नेता–कार्यकर्ता र उम्मेदवार पुग्ने अवस्था छैन ।

अप्ठ्यारो भूगोल र यातायात असुविधाका कारण सबै मतदातासँग भेट्ने चाहना पूरा नहुने वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतले बताए ।

‘सबै मतदातको भावना बुझ्न सकियोस भन्ने हो तर बाध्यता छ । त्यो सम्भव छैन तर सबै जनताको चाहना र भावनाको प्रतिनिधित्व गर्ने मेरो प्रतिबद्धता हो,’ बस्नेतले भने । चाहेर पनि सबै ठाउँमा पुग्न सम्भव नभएको नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार राजीवविक्रम शाहले बताए । ‘सबै ठाउँमा पुग्न नसके पनि कार्यकर्ता परिचालन गरेको छु,’ शाहले भने ।

१० मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाका निर्वाचनमा वामगठबन्धन र लोकतान्त्रिक गठबन्धनको प्रतिस्पर्धा देखिएको छ । स्थानीय तहको निर्वाचनको दलहरूले प्राप्त गरेको मतका आधारमा वाम गठबन्धन बलियो देखिएको छ ।

सातवटा स्थानीय तहमध्ये पाँचवटामा वाम गठबन्धनले जितेको छ भने दुईवटामा कांग्रेसले जितेको छ । प्रतिनिधिसभाका लागि वाम गठबन्धनबाट राष्ट्रिय राजनीतिक छवि बनाएका पूर्वगृहमन्त्री तथा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेत र लोकतान्त्रिक गठबन्धनका तर्फबाट समाजसेवा गरेर चर्चा कमाएका राजीवविक्रम शाह चुनावी मैदानमा छन् ।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा जाजरकोट–१ बाट निर्वाचित बस्नेत र २ बाट निर्वाचित शाह अहिले एउटै क्षेत्रमा एकअर्काको प्रतिस्पर्धी छन् । त्यस्तै, नयाँ शक्ति नेपालका शेरबहादुर शाही, संघीय समाजवादी फोरमका रतनबहादुर बोहरा र एकीकृत राप्रपा राष्ट्रवादीका युद्धवीरसिंह पनि चुनावी मैदानमा छन् ।

स्थानीय तह निर्वाचनमा एमालेले २० हजार ६ सय मत ल्याएर पहिलो भएको छ भने कांग्रेसले १८ हजार ४ सय ३९ मत ल्याएर दोस्रो भएको छ । त्यस्तै, माओवादीले १७ हजार ४ सय ६१ मत ल्याएको छ ।

प्रदेशसभातर्फ वाम गठबन्धनबाट प्रदेश (क) मा माओवादी केन्द्रका गणेशप्रसाद सिंह र (ख) नेकपा एमाले करवीर शाही, लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रदेश (क) वेदराज सिंह र प्र्रदेश (ख) मा दीपकजंग शाह प्रतिस्पर्धामा छन् ।
राजधानीबाट



प्रतिक्रिया दिनुहोस्