Logo

छैटौं ‘लडाइँ’ मा माओवादी भर



काठमाडौं २१ कार्तिक ।
२०७४-‘युवालाई अवसर नदिएर किन आफैं उम्मेदवार बन्नुभयो ?’ यस्तो प्रश्न सुन्नेबित्तिकै एमाले वरिष्ठ नेता (पूर्वअध्यक्ष तथा पूर्वप्रधानमन्त्री) झलनाथ खनाल मुस्काए । ‘म पनि त ६८ वर्षीय युवा हुँ,’ बुढ्यौली छोप्दै उनले ठट्यौली शैलीमा भने, ‘यो उमेरमा झन् सक्रिय हुन मन लाग्दोरहेछ ।’

खनालले फेरि उम्मेदवार बन्ने चाहना गरेपछि अन्य नेताले चुनाव लड्ने सपनै देखेनन् । उनी सर्वसम्मत उम्मेदवार भए । त्यसो त उनले युवालाई अघि बढाउन नचाहेका पनि होइनन् । जिल्लाका युवा नेताले नै आफैंलाई उठ्न जोड गरिदिएपछि के चाहियो ?

‘यस पटक युवालाई छाडौं भनेको, मान्दै मान्नुभएन, युवाले नै तपाईं उठ्नैपर्छ भन्नुभयो,’ खनालले छैटौं पटक प्रतिनिधिसभाका लागि टिकट लिँदाको अनुभव सुनाए । खनालले विगतमा जस्तो चुनौती यो निर्वाचनमा महसुस गरेका छैनन् । माओवादी साथ पाएकाले उनी आफ्नो जितप्रति ढुक्क देखिन्छन् जति पहिले जितेका चुनावमा पनि हुँदैनथे । ‘विगतभन्दा यस पटक मतदाताले गहिरो माया दिनुभएको छ,’ फिक्कल नगरपालिका बौद्ध धाममा भेटिएका खनालले कान्तिपुुरसँग भने, ‘त्यसकारण मलाई झन् सहज भएको छ ।’ एमाले र माओवादीबीच चुनावी गठबन्धनबाट हौस्याएका छन् उनी ।

कांग्रेसका पुराना कार्यकर्ता भूपेन्द्र कट्टेलसँग प्रतिस्पर्धामा उत्रिएका खनालको यो प्रतिनिधिसभाका लागि छैटौं प्रतिस्पर्धा हो । इलाम १ बाट प्रतिनिधिसभामा उम्मेदवार भएका खनालले कार्यकर्ताको आरोप र गुनासो उत्तिकै झेलिरहेका छन् । तिनै गुनासालाई कांग्रेसका उम्मेदवारले मुद्दा बनाएका छन् ।

कांग्रेस उम्मेदवार कट्टेलले करिब ३० वर्ष राजनीति गरेर पनि खनालले काम नगरेको आरोप लगाए । ‘उहाँ (खनाल) प्रधानमन्त्री भए पनि यो क्षेत्रमा खासै काम गर्नुभएको छ्रैन, त्यसकारण यो क्षेत्रमा नयाँ जनप्रतिनिधि आवश्यक परेको छ,’ उनले भने, ‘३० वर्षसम्म एउटै व्यक्ति उम्मेदवार हुनु निरंकुश शैली हो ।’

खनाल भने यो मान्न तयार छैनन् । यसबीच इलामले धेरै विकास र प्रगति गरेको दाबी गर्दै उनले त्यसलाई पूर्णता दिन बाँकी रहेको सुनाए । ‘कृषिलाई आधुनिकीकरण, सडकको विस्तारलगायत कामलाई पूर्णता दिन फेरि निर्वाचित हुुनुपरेको हो । जनताका गुनासा भए सम्बोधन हुँदै जान्छन् ।’

कांग्रेस उम्मेदवार कट्टेल सूर्योदय नगरपालिका फिक्कलका पुराना कांग्रेस कार्यकर्ता हुन् । २०४३ सालमा राष्ट्रिय पञ्चायतको उम्मेदवार बनेका उनले वामपन्थी उम्मेदवार खनालसँग आफ्नो दह्रो प्रतिस्पर्धा हुने बताए । प्रचारप्रसारलाई तीव्रता दिने तयारीमा फिक्कलमा भेटिएका कट्टेलले आफू जनताको सेवाका लागि राजनीतिमा लागेको बताए ।

‘प्रतिस्पर्धामा हेबिवेट भन्ने हुँदैन, उहाँ (खनाल) एमालेका ठूलो नेता हो, मेरो प्रतिस्पर्धी मात्र हो,’ उनले भने ।

निर्वाचनको मिति तोकिनासाथ उनले इलाम १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने प्रचार गरे । जब कि एमाले नेता खनालले यही क्षेत्रबाट पुन: प्रतिस्पर्धा गर्ने टुंगो लागिसकेको थियो । कट्टेलको चाहनाबमोजिम नै पार्टीले उनलाई वाम गठबन्धनविरुद्ध उम्मेदवार तोक्यो ।

बहुदल आएपछिका सबै निर्वाचनमा उनले उक्त क्षेत्रबाट प्रतिस्पर्धा गर्दै आएका छन् । हालसम्म यो क्षेत्रबाट एक पटक मात्र पराजित खनाल दुई पटकको संविधानसभा निर्वाचनसहित चार पटक विजयी भएका छन् । खनालले ०४८, ०५१, ०६४ र ०७० सालमा यो क्षेत्रबाट जितेका हुन् । ०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा भने कांग्रेसका बेनुपराज प्रसाईंसँग पराजित भएका थिए ।

‘एक पटक खुट्टा जिप्टियो, मेरो लापरबाही पनि भयो,’ उनले पराजित भएको चुनाव सम्झँदै भने । मतदाताको अपेक्षाअनुसार आफ्नो क्षेत्रमा नआएको आरोप उनीमाथि छ । ‘मतदाताको चाहनाअनुसार सधैं आउन सकिँदैन, तर यहाँका मतदाता शिक्षित छन् । कुरा बुझ्छन्,’ उनले भने ।

माओवादी केन्द्रका जिल्ला कार्यवाहक इन्चार्ज कान्छा लावतीले गठबन्धनभित्र अन्तरघात नहुने दाबी गरे । ‘जनमतका आधारमा एक मात्र प्रदेशसभा टिकट पाएका हौं,’ उनले भने, ‘कुनै अन्तरघात हुँदैन ।

यसअघि तीनवटा निर्वाचन क्षेत्र रहेको इलाममा नयाँ प्रावधानअनुसार प्रतिनिधिसभामा दुई क्षेत्र कायम छन् । पछिल्लो संरचनाअनुसार इलाम १ मा माई र सूर्योदय नगरपालिकासहित रोङ, माइजोगमाई र सन्दकपुर गाउँपालिका छन् । स्थानीय तहमा रोङ गाउँपालिकाबाहेक एमालेले जितेको छ । एक गाउँपालिका कांग्रेसले जितेको छ । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्