Logo

ठूला नेताले छाडेपछि पश्चिममा राजपा कमजोर



काठमाडौं २१ कार्तिक ।  मधेस आन्दोलनका बेला हुने प्रदर्शनमा अग्रपंक्तिमा रहेर नारा लगाउँथे अजयकुमार गुप्ता । प्रादेशिक संरचना, सीमांकन, समानुपातिक प्रतिनिधित्व लगायतका विषय उनको माग हुन्थ्यो । तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) जिल्ला उपाध्यक्ष रहेका उनी विभिन्न ६ दल मिलेर राष्ट्रिय जनता पार्टी (राजपा) गठन भएपछि त्यसको उपाध्यक्ष पनि बने । मधेसवादी दलमा १० वर्ष खर्चेका उनी २० दिनअघि दल बदलेर राप्रपा (प्रजातान्त्रिक) का जिल्ला उपाध्यक्ष बनेका छन् । ‘मधेसको अधिकारका लागि भनेर १० वर्ष व्यर्थै खर्चिएँ,’ उनले भने, ‘नेतृत्व व्यक्तिवादी बन्यो ।’

राजपा केन्द्रीय उपाध्यक्ष रहेका ओमप्रकाश यादव (गुल्जारी) पनि ८ दिनअघि दल बदलेर एमाले प्रवेश गरे । उनी अहिले वाम गठबन्धनबाट रूपन्देही ४ का उम्मेदवार हुन् । राजपा बन्नुअघि उनी सद्भावनाका राष्ट्रिय उपाध्यक्ष थिए । गुल्जारी २०६४ को संविधानसभा निर्वाचन जितेर कृषि राज्यमन्त्रीसमेत बने । ‘अधिकांश समय मधेस आन्दोलनमा खटिएँ,’ उनले भने, ‘सिद्धान्त र विचारबाट मधेसवादी दल विचलित भएपछि छाडँे ।’ उनका अनुसार पार्टीले संविधान संशोधनलगायत माग पूरा नभएसम्म स्थानीय निर्वाचनमा भाग नलिने निर्णय गर्‍यो । ‘उक्त निर्णय अनुसार हामीले निर्वाचन बहिष्कार गर्‍यौं,’ उनले भने, ‘तर पार्टीको नीतिविपरीत स्वतन्त्र उम्मेदवार उठाइयो ।’ नीति पालना नगर्दा पार्टीभित्र गुट/उपगुट बनेको उनले बताए ।

राजपालाई नोक्सान : शुक्ल

रूपन्देहीको मर्चवार क्षेत्रमा पाका नेता तथा राजपाका वरिष्ठ उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्लले पार्टीले स्थानीय निर्वाचन बहिष्कार निर्णय गर्दा पनि निकटलाई स्वतन्त्र उम्मेदवारी दिन लगाए । यहाँका राजपा कार्यकर्ता शुक्लको त्यही निर्णयले पार्टीमा गुट/उपगुट सिर्जना गरेको आरोप लगाउँछन् । ‘मधेस आन्दोलनदेखि नै मैले मध्यमार्गी बाटो रोजें,’ सोमबार निवासमा भेटिएका शुक्लले भने, ‘अरूले समस्या चर्काउँदा मैले मिलाउने कुरा गरें ।’ विभिन्न सिद्धान्तका ६ दल एक ठाउँमा हुनु नयाँ अभ्यास भएको उनको भनाइ छ । ‘यस्तो अवस्थामा आन्तरिक खिचातानी र गुटबन्दी हुन्छ,’ उनले भने, ‘त्यस्ता खिचातानी र अन्तर्घात गर्नेले पार्टी छाडेको राम्रो हो ।’

उनले यस क्षेत्रमा नेताले दल बदले पनि कार्यकर्ता पार्टीमै रहेको दाबी गरे । ‘पश्चिमका ठूला नेताले पार्टी छाडेपछि शून्यता छाएको छ,’ उनले भने, ‘यसले प्रादेशिक रूपमा नोक्सान भएको छ ।’ पार्टी निर्माणकै चरणमा पश्चिमलाई ढिलो सम्बोधन गरिएका कारण शीर्ष नेताले पार्टी छाडेको उनले बताए । ‘हृदयेशजीलाई ३ महिनापछि अध्यक्ष मण्डलमा लगियो,’ उनले भने, ‘पछि पार्टी केन्द्रित गरेर निर्वाचन क्षेत्र निर्धारण गरियो, त्यसले पनि विभाजन निम्त्यायो ।’ नवलपरासीमा त्रिपाठी र कपिलवस्तुमा बृजेशकुमार गुप्ता पार्टीमा रहेको भए यहाँका मधेस क्षेत्रमा कांग्रेससित प्रतिस्पर्धा हुने थियो । ‘विभाजनले वाम गठबन्धन हावी भयो, पश्चिममा प्रतिनिधिसभामा पार्टीको अवस्था कमजोर छ,’ राजपा नेता शुक्लले भने । उनले प्रदेशसभामा भने आफ्ना उम्मेदवारले टक्कर दिने दाबी गरे ।

सूर्यमा भोट माग्दै अगुवा

कपिलवस्तुमा मधेस आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका अगुवा यस पटक पार्टी त्यागेर एमालेबाट प्रतिस्पर्धामा छन् । आन्दोलनताका जिल्लामा पूर्वी कमान्ड गुप्ता र पश्चिममा ईश्वरदयाल मिश्रले सम्हालेका थिए । तिनै नेता सूर्य चिह्नमा मत माग्दैछन् । गुप्ता २ र मिश्र ३ नम्बरबाट प्रतिनिधिसभामा होमिएका छन् । ‘एमालेका धेरै कुराले चित्त बुझ्यो,’ गुप्ताले भने, ‘त्यही भएर भावनात्मक रूपमा नजिक भयौं ।’ आफूलाई एमालेभन्दा फरक नपर्ने जनाउँदै उनले भने, ‘राजपाको दोहोरो चरित्र चित्त बुझेन ।’

प्रदेश २ लाई मात्र मधेस मान्ने प्रवृत्ति राजपाका नेतामा हावी हुनु दु:खद भएको गुप्ताको भनाइ छ । ‘यसले उनीहरूलाई घाटा हुन्छ,’ राजपा उपमहासचिवसमेत रहेका गुप्ताले भने ।’ ०५६ मा राप्रपा, त्यसपछि ०६४ र ०७० मा तमलोपाबाट चुनाव जितेका उनी यस पटक एमालेबाट लडदै छन् । उनको प्रतिस्पर्धा पूर्वराज्यमन्त्री तथा कांग्रेस सभापति सुरेन्द्रराज आचार्यसँग हुनेछ । मिश्रले पनि राजपाको आलोचना गरे । राजपा केन्द्रीय सदस्य रहेका उनले स्थानीय तह चुनाव कतै बहिष्कार गर्ने, कतै भाग लिने नीति नै राजपाको द्वैध चरित्र भएको बताए । ‘प्रदेश २ लाई मात्र मधेस मानेकाले राजपा परित्याग गरें,’ उनले भने, ‘बिनायोजना र रणनीति कहीं सफल भइँदैन, त्यही भएर समयमा बुद्धि पलाएर एमालेलाई समातियो ।’ राजपा कांग्रेसको पुच्छर भएको र उसले जे भन्यो त्यही गर्दै आएको उनले आरोप लगाए । उनी दोस्रो संविधानसभा निर्वाचनमा विजयी भएका थिए । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्