Logo

रोल्पामा महरा–पुन द्वन्द्व



काठमाडौं २२ कार्तिक ।
माओवादी नेता कृष्णबहादुर महरा यसपटक रोल्पाबाट उम्मेदवार बन्न चाहन्थे । बाधक बने अर्का नेता वर्षमान पुन । उनले महराको योजना सफल हुन दिएनन् । बाध्य भएर दाङको क्षेत्र न‌ं. मा २ झरे, महरा । उनले चुनाव प्रचार थालिसके । तर, रोल्पालाई अझै पनि पहिलो प्राथमिकतामा राखेको संकेत दिइरहेकै छन् । उनी आफ्नो चुनावी क्षेत्र दाङ छोडेर सोमबार लिबाङ पुगे ।

रोल्पा नगरपालिका–१ मेबाङस्थित आफ्नो पुरानो घरबास रहेको ठाउँमा स्थापित टेक्निकल कलेज उद्घाटन कार्यक्रमको बहाना बनाएर उनी आफू यही रहेको सन्देश दिन आएका थिए । उनले भाषणमा पटकपटक आफुले रोल्पा नछोडेको अभिव्यक्ति दिइरहे । ‘म दाङबाट चुनाव लड्न थाले पनि रोल्पा छोडेको छैन । यही छु । मलाई यही भएको ठान्नुस्,’ उनले भने, ‘म यहीकै विकासमा क्रियाशील छु । चुनाव उताबाट लड्ने कुराले केही फरक पार्दैन ।’

उनले दाङबाट चुनाव लड्नु बाध्यता भएको भाव व्यक्त गरे । लिबाङमा आयोजित पत्रकार भेटघाटमा भने पुन पनि सहभागी भए । पुनको छेउमा पनि महराले आफू रोल्पामै रहेको दोहोर्‍याए । कलेज उद्घाटन कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता महरालाई फूलमालासहित स्वागत गर्न लामबद्ध भए । एक किलोमिटरको दूरी पर्ने लिबाङ बजारमा रहेका पुन उक्त कार्यक्रममा गएनन् ।

रोल्पाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार भएर चुनावी मैदानमा रहेका पुनभन्दा दाङबाट उम्मेदवार रहेका महरा बढी महत्वका विषय भए । उपप्रधानमन्त्रीको भूमिकामा सुरक्षाकर्मीको लावालस्करसहित गाउँ पुगेका महराप्रति सबैको ध्यान तानिएको थियो । प्रमुख जिल्ला अधिकारीलगायतका सरकारी अधिकारी पनि उनकै पछि लागे ।

चुनावको समयमा महरा आफ्नो क्षेत्रमा आएकोप्रति पुन सन्तुष्ट थिएनन् । महराले अनावश्यक चुनावी चलखेल गर्न थालेको पुनको आशंका थियो । कलेज उद्घाटनका क्रममा गरेको भाषणमा महराले एकपटक पनि पुनको नाम उच्चारण गरेनन् । प्रदेशसभा सदस्यका उम्मेदवार कुलप्रसाद केसी र दीपेन्द्रकुमार पुनलाई भोट मागे तर पुनबारे केही बोल्न चाहेनन् ।

रोल्पामा एउटा मात्रै निर्वाचन क्षेत्र भएकाले यहाँको अगुवा को बन्ने भन्नेमा महरा र पुनबीच लामै संघर्ष चलिरहेको छ । पुन भने महरा रोल्पा छोडेर दाङ गइसकेको सन्देश दिन चाहन्छन् । महरा अनेक उपायले रोल्पा नछोडेको प्रमाणित गर्न खोज्छन् । उनले पोबाङमा रहेको ३० रोपनी जग्गा दान गरी टेक्निकल कलेज स्थापना गरिदिएका छन् । आफ्नै घरबारीमा रहेको कलेजको थप विकासमा निरन्तर लागिरहने बताए । ‘यो बारीमा म २५ वर्ष बसेको छु । मकै, भटमास र केराको खेती गर्थ्यौ । मेरी श्रीमतीले भैंसी पालेकी थिइन्,’ उनले भने, ‘हाम्रो जीवन सामान्य तरिकाले बितेको थियो । यो ठाउँलाई महत्त्वपूर्ण थलोका रूपमा विकास गर्न म सरकारमा हुँदा या नहुँदा पनि लागिरहन्छु ।’ उनले रोल्पामा निरन्तर जोडिइरहने उपायका रूपमा प्राविधिक कलेजलाई लिएका छन् । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्