Logo

जुम्लामा महिला मत निर्णायक



काठमाडौं २४ मंसिर ।  प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि मुख्य प्रतिस्पर्धी दलका उम्मेदवारहरू पुरुष मात्र छन् । तर मौसमी व्यापार र रोजगारीका लागि पुरुष मतदाता भने दिनहुँ जिल्ला छाडिरहेका छन् । त्यसैले जुम्लाको यसपटकको चुनावी नतिजामा महिलाको मत निर्णायक बन्दै छ ।

चुनाव आउन तीन साता पनि छैन । दिनहुँ सयौं मतदाता लर्को लागेर व्यापार र रोजगारीका लागि तराई झरिरहेका छन् । मध्यम वर्गका पुरुष कम्बल, ब्ल्यांकेट र गलैंचाको व्यापार गर्छन् भने निम्न वर्गीयहरू भारतमा ज्याला मजदुरीका लागि जाने गरेका छन् । सिंजा क्षेत्रका आधा पुरुष मतदाताले चुनावमा भाग लिने सम्भावना नै छैन ।

गोठीज्युलाका ४६ वर्षीय बिर्खबहादुर थापा मौसमी व्यापारका लागि शुक्रबार घरबाट निस्कँदै छन् । उनी सुरुमा काठमाडौं जानेछन् । त्यहाँ उनले झन्डै एक लाखको काम्लो, ब्ल्यांकेट र गलैंचा अर्डर गरिसकेका छन् । बिक्री गर्न यसपटक झापा जाँदैछन् । ‘१८/२० दिनमा त्यो बिक्न गाह्रै छ,’ उनले कान्तिपुरसित भने, ‘चुनाव भनेर काम छाडेर बस्न पनि भएन, भोट हाल्न आउन मुस्किलै छ ।’

थापा मौसमी व्यापारमा लागेको वर्षौं भइसक्यो । बर्खाभर गाउँमै बसेर खेतीपाती गर्ने र चाडपर्व मनाएपछि कात्तिक–मंसिरमा व्यापारमा जाने गर्छन् । ‘सिंजाको बेरोजगार मध्यम वर्गले यसै गरेर निर्वाह गर्दै आएको छ, हाम्रा लागि यो चुनाव बेमौसममा भयो,’ उनले भने ।

कनकासुन्दरी ६ साटवडाकी तिखु बुढाका पति नन्दबहादुर एक साताअघि नेपालगन्ज झरे । अब उनले जाडोभरि घरघरै पुगेर गलैंचा र ब्ल्यांकेट व्यापार गर्नेछन् । उनी कात्तिकमा खेती स्याहारेर घर छाडेपछि फागुनमा मात्र वर्षे खेती लगाउन फर्किने छन् ।

यसपटक मंसिर १० गते चुनाव परेकाले गाउँ फर्किन उम्मेदवार र तिनका आफन्तले उनलाई आग्रह गरे । तर बीचैमा व्यापार छाडेर फर्किने सम्भावना नरहेको तिखुले बताइन् । ‘घरमा रहेका हामी महिला भोट दिन्छौं,’ उनले भनिन्, ‘काममा गएका पुरुष भने फर्किन मुस्किलै छ ।’

तिखुका छिमेकीहरू माया बुढा र जयनन्दाका पति पनि रोजगारीका लागि बाहिरै छन् । जौ छर्ने बेला गाउँमा पुरुष नभएपछि खेतबारीमा महिला मात्र देखिन्छन् । ‘चुनाव भनेर कोही रोकिएनन्,’ जयनन्दाले भनिन्, ‘गाईबस्तु र खेतबारी हेर्ने मात्र हैन, सांसद छान्ने काम पनि महिलाकै भागमा परेको छ ।’

उम्मेदवार एक जना पनि महिला नभएको उनीहरूको गुनासो छ । ‘लोग्ने मान्छेहरू आफैं मात्र उठे । एकसेएक महिला छन् तैपनि कसैले देखेनन्,’ मायाले भनिन् । गाउँमा ६२ घरपरिवारको बसोबास छ । तीमध्ये स्थानीय जागिरे र विद्यार्थीबाहेक अधिकांश घरका पुरुष सदस्य व्यापार र रोजगारीका लागि तराई झरिसकेका छन् ।

श्रीमान्, बुबा र दाजुभाइ घरमा नभए पनि उनीहरूले उम्मेदवार छानेर भोट हाल्न अह्राएर गएको महिलाहरू बताउँछन् । कनकासुन्दरी २ की पञ्चरूपा रावतले भनिन्, ‘श्रीमानको भोट जता जान्छ, हामीले पनि उतै हाल्छौं । भोटका लागि किन घरबार बिगार्नु ?’ घर बाहिर रहेका पतिले फोन गरेर आफ्नो मन परेको पार्टी र उम्मेदवारलाई भोट हाल्न लगाउने गरेको उनले बताइन् । चुनावको मुखैमा घर छाड्नेहरूले उम्मेदवार छानेर गएको पञ्चरूपाकै सम्झना रावत बताउँछिन् । ‘अहिले गाउँमा पुरुषभन्दा महिला धेरै छन् । तर, भोट भने पुरुषले जहाँ भन्छन् त्यहीं दिने हो,’ उनले भनिन् । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्