Logo

दोलखामा रोचक प्रतिस्पर्धा : कांग्रेसलाई कम्युनिस्टकाे गढ भत्काउने चुनौती



काठमाडौं २५ कार्तिक । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिएसँगै दोलखा जिल्लामा दलहरू आक्रामक रूपमा प्रचारमा जुटेका छन् । मंसिर १० गते हुने निर्वाचनमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने मतदाताहरूको आकलन छ ।

एमाले–माओवादीबीचको चुनावी तालमेलको प्रत्यक्ष फाइदा वाम गठबन्धनका उम्मेदवारहरूलाई छ । उसै पनि यो क्षेत्र एमालेको पकेट क्षेत्रका रूपमा चिनिन्छ । नेपाली कांग्रेसले ०५१ सालमा क्षेत्र नम्बर १ मा जित हासिल गरेको घटनाबाहेक यहाँ सधैँ वामपन्थी दल त्यसमा पनि विशेषगरी एमालेले बाजी मार्दै आएको छ । ०६४ सालमा क्षेत्र नम्बर १ र २ दुवै माओवादी केन्द्रले जितेको थियो । यसबाहेक बहुदलपछि अहिलेसम्म जति पनि संसदीय चुनाव भएका छन्, सबैमा एमाले विजयी भएको छ ।

पहिलेका पार्टनर नै अहिल प्रतिस्पर्धी

प्रतिनिधिसभातर्फका लोकतान्त्रिक गठबन्धनका उम्मेदवार रुद्रबहादुर खड्का र वाम गठबन्धनका पार्वत गुरुङ कुनै समयमा व्यावसायिक साझेदारसमेत हुन् । उनीहरू दुवै गौरीशंकर गाउँपालिकाका वासिन्दा हुन् ।
०४९ मा कांग्रेसबाट पाँच वर्षका लागि जिविस सभापति बनेका खड्का जिल्लामा लोकप्रिय छन् । त्यस्तै, गुरुङ पनि पुरानो तथा युवापुस्तामाझ उत्तिकै प्रभाव बनाइराख्न सफल छन् ।
झ्याँकु गाउँका खड्का २२ वर्षको उमेरदेखि नै राजनीतिमा लागेका थिए । उनी ३२ वर्षको उमेरमा जिल्ला विकास समितिको सभापति नै बने । जिविस सभापति छँदा विकास निर्माणमा गरेको उल्लेखनीय कामका कारण उनी चर्चित छन् ।

गुरुङ व्यापार–व्यवसाय र राजनीतिसँगै सामाजिक कामका कारण पनि चर्चामा आउँछन् । दोलखामा एमाले–माओवादी एकै ठाउँमा उभिए पनि जनताले यी दुईबीचको एकतालाई स्वीकार नगर्ने खड्काको दाबी छ । उनी तालमेलबाट असन्तुष्ट बनेका माओवादी कार्यकर्ताको मत तान्ने दौडमा छन् । अहिले एउटै गठबन्धनमा देखिएका माओवादी र एमालेबीच यहाँ द्वन्द्वकालदेखि नै टकराव रहँदै आएको छ ।
गुरुङ भने विगतका टकराव भुलेर जनताले वाम गठबन्धनका पक्षमा मत खसाल्नेमा आशावादी छन् । आदिवासी, जनजातिको मत आफ्नो पक्षमा आउने उनको विश्वास छ । यता, शेर्पा समुदायसँग विवाह गरेका खड्का पनि माथिल्लो भेगमा रहेका शेर्पा, गुरुङलगायतका आदिवासी जनजातिको मत आफ्नो पक्षमा पार्ने दौडमा छन् ।

प्रदेशमा उस्तै प्रतिस्पर्धा

प्रदेश ‘क’मा वाम गठबन्धनले माओवादी केन्द्रका उम्मेदवार विशाल खड्कालाई उम्मेदवार बनाएको छ । रोचक पक्ष के छ भने, अहिले एमालेले समर्थन गरेका उम्मेदवार खड्कामाथि स्थानीय निर्वाचनका एमाले कार्यकर्ताकै हत्या गरेको आरोप छ । जुंगु गाउँमा कुलबहादुर तामाङको हत्या भएपछि एमाले कार्यकर्ताले विशालसहित माओवादी केन्द्रका ३९ जिल्ला नेताविरुद्ध अदालतमा दायर गरेको मुद्दा अझै विचाराधीन छ ।

यस्तो टकरावपूर्ण स्थितिको फाइदा लिने ध्याउन्नमा छन्, लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार रहेका कांग्रेसका बर्मा लामा । उनी असन्तुष्ट एमाले कार्यकर्तासमेतको भोट पाएर विजयी हुने बताउँछन् । यस निर्वाचन क्षेत्रमा कांग्रेसको पनि राम्रै मत छ । माओवादीका खड्का एमालेले साथ दिने भएकाले जित सुनिश्चित भइसकेको बताउँछन् ।

प्रदेश ‘ख’ एमालेको राम्रो जनमत भएको अर्को क्षेत्र हो । तर, यहाँ एमालेसामु आफ्नै पूर्वनेता तगारो बनेका छन् । वाम गठबन्धनबाट पशुपति चौलागाइँ उम्मेदवार बन्ने भएपछि असन्तुष्ट बनेका एमाले नेता नेता लालबहादुर केसीले माले प्रवेश गर्दै उम्मेदवारी दिएका छन् । कांग्रेसका केशवराज चौलागाइँ यही टकरावको फाइदा लिने दाउमा छन् । यस निर्वाचन क्षेत्रअन्तर्गत केही ठाउँमा कांग्रेसको राम्रो जनमत छ ।



प्रतिक्रिया दिनुहोस्