काठमाडौँ, २५ कार्तिक । प्रेस काउन्सिल नेपालका सदस्य एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोविन्दप्रसाद चौलागाईंले सम्पूर्ण मिडियाले निर्वाचनलाई सफल बनाउन सत्य, तथ्य र निश्पक्ष रुपमा समाचार सम्प्रेशन गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघ काठमाडौँ शाखामा आबद्ध पत्रकारलाई प्रशिक्षण दिँदै उहाँले पछिल्लो समय प्रेस काउन्सिलले सबै प्रकारका सञ्चार माध्यमको सूक्ष्म अनुगमन गरिरहेको जानकारी दिनुभयो ।
विगतको निर्वाचनजस्तो राष्ट्रिय महाअभियानलाई सफल पार्न सबै एकजुट भएर सत्य, तथ्य र निष्पक्ष ढंगले पत्रकारिता गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
क्षेत्रीय निर्वाचन कार्यालय र नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाको संयुक्त आयोजनामा राजधानीमा भएको ‘निर्वाचन र सञ्चार’ विषयक प्रशिक्षण कार्यक्रममा नेपाल पत्रकार महासंघ काठमाडौँका अध्यक्ष शन्तराम बिँडारीले स्थानीय तह निर्वाचनमा गरिएको मिडिया अनुगमनले देखाएको विकृति आगामी निर्वाचनमा सुधार गर्नुपर्ने बताउँदै त्यसका उपायका बारेमा चर्चा गर्नुभयो ।
क्षेत्रीय निर्वाचन अधिकारी विनोदकुमार दाहालले निर्वाचनका नीति र प्रक्रियाका बारेमा चर्चा गर्नुभयो । अध्यक्ष शन्तराम बिँडारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा साप्ताहिक, मासिक, दैनिक, अनलाइनलगायत सबै प्रकारका सञ्चार माध्यमका पत्रकारहरुको सहभागिता थियो । रासस