Logo

पौडेलको ‘प्रधानमन्त्री’ सपना



काठमाडौं २६ कार्तिक ।
दमौली बजारको केन्द्रमा चार तलाको घर छ । त्यही घरको छतमा शनिबार बिहान कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल चुनावी प्रचारमा निस्कने हतारोमा थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार ताप्लेजुङको चुनावी सभामा जान पौडेललाई आग्रह गरेका थिए । तर, आफ्नो क्षेत्रको कार्यक्रम छुटाउन सक्दिनँ भन्दै उनले देउवाको अनुरोध अस्वीकार गरे । र, व्यास नगरपालिकामा मत माग्न हिँडे ।

पौडेलमाथि मुलुकभर कांग्रेसलाई जिताउने जिम्मेवारी पनि छ । तर, आफ्नै निर्वाचन क्षेत्रमा थपिएको चुनौतीले उनलाई गाँजेको छ । एकातिर वामपन्थी गठबन्धन, अर्कोतर्फ आफ्नै दलका नेता गोविन्दराज जोशी पक्षको असहयोग । त्यसमाथि ‘पटकपटक एउटै व्यक्ति उम्मेदवार किन ?’ भन्ने प्रश्न पनि झेल्नुपरेको छ । पाँचपटक तनहुँबाट सांसद भइसकेका पौडेल यी चुनौतीका बीच छैटांैपल्ट किन उम्मेदवार बनेका छन् त ? प्रश्नको जवाफ उनले घुमाउरो शैलीमा दिए । जवाफभित्र उनको स्पष्ट संकेत थियो– प्रधानमन्त्री बन्ने चाहना ।

 

‘मेरो केही मिसन छ, त्यो पूरा भएको छैन,’ उनले कान्तिपुरसंँग भने, ‘प्रधानमन्त्री मैले आफंै भन्ने कुरा होइन, तर मेरा केही भिजन छन्, आर्थिक योजना छन्, त्यसलाई कार्यान्वयन गर्न मैले पाउनुपर्छ भन्ने मेरो दाबी छ ।’

आफूले कांग्रेसमा इमानको राजनीति गरेको र आफ्ना कारण दलको इज्जत र सम्मान बढेको उनको दाबी छ । त्यसैले चुनावपछि दलसँग त्यसको हिसाब माग्ने तयारीमा पौडेल छन् ।

‘मैले जिम्मेवारी पाएँ भने पार्टीको प्रतिष्ठा र सम्मान झन् बढ्छ, पार्टी सम्मानित हुन चाहन्छ भने मेरो कदर हुनुपर्छ,’ उनले भने, ‘जसरी पनि जोडघटाउ गरेर आफैंले मात्र सत्ता अँठ्याएर राख्दा पार्टीको विकास कसरी हुन्छ भन्नेतर्फ नेताहरूले अब सोच्न जरुरी छ ।’

०४८ सालमा तनहुँ १ बाट चुनाव जितेका पौडेल त्यसयताका चारवटा निर्वाचनमा तनहुँ २ बाट सांसद निर्वाचित भए । निर्वाचन क्षेत्र पुन:संरचनापछि तनहुँका ३ निर्वाचन क्षेत्र घटेर २ वटा भए । यसपटक उनी तनहुँ १ बाट उम्मेदवार छन् । यसपालि निर्वाचित भए आफ्नो मिसन पूरा गर्न सफल हुने ठानेका छन् उनले । त्यसैले युवा पुस्तालाई अवसर नदिएको भन्ने आक्रोशलाई उनले ‘भावी अवसर’ को आश्वासन दिँदै थुमथुम्याइरहेका छन् । ‘राजनीतिमा संन्यास भन्ने हँुदैन तर एक/दुई वर्ष समय पाएँ भने मेरो उद्देश्य पूरा हुन्छ,’ नेता पौडेलले भने, ‘त्यसपछि नयाँ व्यक्तिहरूका लागि अवसर आइहाल्छ, अहिले पनि म उहाँहरूकै प्रतिनिधिका रूपमा उभिएको छु ।’

भावी प्रधानमन्त्रीकै रूपमा कार्यकर्ताले पौडेलको प्रचार गरिरहेका छन् । ‘लोकतन्त्र र शान्तिका लागि उहाँ वर्षौंदेखि लड्नुभयो, जे जिम्मेवारी दिइएको छ, त्यो पूरा गर्नुभयो,’ शनिबारको एउटा चुनावी जमघटमा कांग्रेसका जिल्ला सभापति वैकुण्ठ न्यौपानेले भने, ‘अब प्रधानमन्त्रीको पनि हामीले पाउने अवस्था छ, त्यसैले उहाँलाई जिताउनुपर्छ ।’

पौडेलमाथि पहिलो तगारो पार्टीभित्रैबाट तेर्सिएको छ । सुरुमा उनलाई उम्मेदवार नै बन्न नदिन पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले जुलुसै निकाले । त्यसरी रोक्न नसकेपछि स्वतन्त्र उम्मेदवारी दिए । जोशीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि पौडेललाई केही सहज त भयो तर आयोगको निर्णय पौडेलकै दबाबमा भएको भन्दै जोशी पक्ष आक्रोशित छ । उम्मेदवारी नै खारेज भएपछि जोशीले खुला रूपमा त केही भनेका छैनन् । तर, जोशीप्रति सहानुभूति राख्नेहरू अझै पौडेलको पक्षमा उभिएका छैनन् ।

‘झन्डै ३० वर्षदेखि उहाँले तनहुँमा एकछत्र शासन गर्दै आउनुभएको छ, २/४ जनाको घेरामा मात्र बस्नुभएको छ,,’ शनिबार पौडेलकै चुनावी कार्यक्रमनजिक भेटिएका जोशी पक्षका अगुवा कार्यकर्ता नरनाथ काफ्लेले भने, ‘सबैलाई समेट्ने प्रयास गर्नुभएन भने अहिले उहाँले राम्रो पाठ सिक्नुहुनेछ ।’ राष्ट्रिय नेता भए पनि पौडेलले जिल्लामा केही गर्न नसकेको र पार्टीभित्रको सबै पक्षलाई नमिलाएको आक्रोश जोशी पक्षको छ ।

मतदानको दिन नजिकिँदै गर्दा पौडेलले जोशी पक्षका कार्यकर्तालाई सन्तुष्ट पारेर आफ्नो पक्षमा ल्याउनुपर्ने चुनौती छ । जोशी पक्षको असन्तुष्टि पौडेलले राम्ररी बुझेका छन् । जोशीको असन्तुष्टिले कति असर गर्छ त ? ‘उम्मेदवारी रद्द भएको छ अबै केही मिलाउनुपर्ने कुरा छन् भने त्यसका लागि मैले पहल गरिरहेको छु,’ पौडेलले भने । पौडेल उपप्रधानमन्त्री, सभामुख, गृह, सञ्चार, कृषि, शान्ति तथा पुनर्निर्माणमन्त्री भइसकेका छन् । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्