Logo

शिक्षक सेवा आयोगमा तालाबन्दी



काठमाण्डौँ, २६ कार्तिक । यहि कार्तिक २१ गते आन्तरिक शिक्षक नियूतिको लागि विज्ञापन गरेको बिरोधमा उत्रिएको विद्यार्थी संघर्ष समितिले शिक्षक सेवा आयोगको भक्तपुरस्थित कार्यालयमा तालाबन्दी गरेको छ ।

समितिले गएको २३ गते बुझाएको २४ घण्टे अल्टिमेटमा आयोगले कुनै सम्बोधन नगरेको भन्दै आज बिहान तालाबन्दी गरेको सहसंयोजक दिग्गज धौरालीले जानकारी दिए । समितिसँग कुनैपनि सहमति नगरि कसैले ताला खोल्ने प्रयास गरेमा कडा आन्दोलन गर्ने संघर्ष समितिले चेतावनी दिएको छ ।

आन्दोलनपछि हुने मानवीय, भौतिक, आर्थिक लगायत सम्पूर्ण प्रकारको क्षतीको जिम्मेवारी आयोगले लिने संघर्ष समितिको भनाई छ। ‘हामी जस्तोसुकै कदम चाल्न पनि बाध्य हुनेछौँ’,समितिका सहसंयोजक धौरालीले भने ।

शिक्षा ऐन २०२८ को नवौँ संशोधन तत्काल खारेज गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस किर्तिपुर, उपत्यकाका ताहाचल, भक्तपुर शिक्षा क्याम्पसलगायत दर्जनौँ क्याम्पसका विद्यार्थीहरु आन्दोलित भएका छन् ।

ऐन खारेजको माग गर्दै विद्यार्थीहरुले गएको आइतबार विरोध प्रर्दशन गरेका थिए । संघर्ष समितिका सह–संयोजक दिग्गज धौरालीले शिक्षामन्त्री गोपालमान श्रेष्ठ र सरकारले शिक्षा ऐन संशोधन गरेर गल्ती गरेको बताए । तत्काल खारेजीको माग गरेको बताउँदै उनले खारेज नगरिए कडा आन्दोलनमा जाने बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गएको कार्तिक ६ गते शिक्षा ऐन नवौँ संशोधन प्रमाणिकरण गरिसकेकी छन् । प्रमाणीकरण गरिएको विधेयकमा अस्थायी दरबन्दीमा कार्यरत शिक्षकको कूल दरबन्दी संख्याको ७५ प्रतिशत अस्थायी र २५ प्रतिशत मात्र खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने प्राबधान राखिएको छ ।



प्रतिक्रिया दिनुहोस्