Logo

‘निर्दोष’ नेपाली १५ वर्षदेखि यूएई जेलमा



काठमाडौं २८ कार्तिक ।
राष्ट्रपति विद्या भण्डारीको संयुक्त राष्ट्र इमिरेट्स (युएई) को भ्रमणबाट दार्चुलाका कर्णबहादुर र धनमति बममा नयाँ आशा पलाएको छ । २००३ देखि दुबईको अविर जेलमा रहेका धारी ५ दार्चुलाका अमर बमलाई माफी दिलाउन राष्ट्रपति भण्डारीले युएईका राष्ट्रपतिसँग कुरा गर्नेछिन् भन्ने उनीहरुको आशा छ । राष्ट्रपतिको भ्रमण तय भएदेखि नै कर्णले नेताहरुसमक्ष आफ्नो छोरा छुटाइदिन अनुरोध गरेका थिए ।

उनले अहिलेसम्म छोरा अमरको मुद्दा लिएर राष्ट्रपति भण्डारी पूर्वराष्ट्रपति रामवरण यादव, पूर्व प्रधानमन्त्रीहरु बाबुराम भट्टाराई, केपी ओली र पुष्पकमल दाहाललाई भेटिसकेका छन् । ‘छोराको बिषय सारालाई थाहा छ,’ ७१ बर्षिय कर्णले कान्तिपुरसँग भने, ‘सरकारले पनि चासो दिएको छ । पक्कै यो बिषय राष्ट्रपतिले उठाउनुहुनेछ । र, मेरो छोरा आफ्नो देश फिर्नेछ ।’

 

भारतीय ब्यापारी शरद सेठ्ठीको हत्यामा संलग्न भन्दै युएइको अदालतले दुई भारतीयसहित बमलाई मृत्युदण्डको फैसला सुनाएको छ । तर, बमले चलाएको गाडीमा गएर सेठ्ठीलाई गोली हान्ने भारतीय नागरीकद्वय मनोज मुदाना र करनसिंह राजपुतले अमर निर्दोष रहेको लिखित बयान दिएका छन् । अमर हत्या योजनाबारे बेखबर रहेको र गाडीमात्र चलाएको भनेर उनलाई माफी दिन उनीहरुले औंठाछाप गरेर निवेदन पनि दिएका छन् । तैपनि, अमर छुटेका छैनन् ।
कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्