Logo

९ जना उच्च सरकारी अधिकारीमाथि अख्तियारको आँखा



काठमाडौं २८ कार्तिक ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप ९ जना सरकारी अधिकारीहरुमाथि छानबिन थालेको छ । गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले उनीहरुको सम्पत्ति अध्ययन र विश्लेषण सुरु गरेको हो । यसअघि नै पत्र बुझ्न नमानेको भन्दै अख्तियारले आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणी शर्माको घरमा ७ दिने म्याद टाँसिसकेको छ ।

अख्तियार उच्च स्रोतका अनुसार छानविनमा पर्नेमा नेपाल विद्युत प्राधिकरणका दुई उच्च अधिकारी छन् । प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवाल र ११ औ तहका निर्देशक दामोदर भक्त श्रेष्ठमाथि छानविन सुरु भएको छ । श्रेष्ठ चिलिमे जलविद्युत आयोजनाका प्रमुखसमेत हुन् ।

कृषि सामग्री कम्पनी लिमिटेडका ११ औं तहका अधिकृत अच्यूत पौडेलसमेत छानबिन दायरामा छन् । सडक विभागका उपसचिवस्तरका दुई ईञ्जिनियरहरु (सीडीई) दण्डपाणी पौडेल र ज्ञानेन्द्रकुमार झा समेत गैरकानुनी सम्पत्ति आर्जनको छानबिनमा परेका छन् । त्रिभुवन विमानस्थलका महानिर्देशक देवानन्द उपाध्याय पनि छानबिनमा परेका छन् ।

राजस्व समूहका चार अधिकृतको सम्पत्ति पनि छानबिन भइरहेको अख्तियार स्रोतले बतायो । राजस्व अनुसन्धान विभागका झविन्द्र पोख्रेल र शिवचन्द्र पन्त तथा आन्तरिक राजस्व विभागका अधिकृत रमेश भट्टराईमाथि समेत छानबिन सुरु भएको अख्तियार स्रोतले बतायो । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्