Logo

बिदेसिएका युवाको प्रश्न, तपाईंले जितेपछि हामी खाडी जानुपर्दैन ?



काठमाडौं २८ कार्तिक । निर्वाचन क्षेत्र मंगलपुरका दिनेश चौधरी आइतबार झोला बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिए । उनी कतार एयरवेजको बिहान ११ः४० बजेको उडानबाट वैदेशिक रोजगारीका लागि दोहातर्फ हानिएका हुन् ।

विगत तीन वर्ष कतारमा काम गरी दसैं–तिहार र छठ पर्वका लागि घर बिदामा आएर पुनः विमानस्थलबाट फर्किंदै गरेका चौधरी नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको निर्वाचन क्षेत्रका मतदाता हुन् ।

आगामी १० र २१ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन नजिकिए पनि उनलाई निर्वाचन रौनकले छोएन । मुलुक निर्वाचनमय भएर विभिन्न दलका नेता कार्यकर्ताहरू आकर्षक चुनावी नारा लिएर भोट माग्न घर आँगनमा पुग्न थालेको उनलाई थाहा छ । तर निर्वाचनमा मताधिकारभन्दा उनको रोजीरोटी प्राथमिकतामा प¥यो । ‘चुनावी माहोलमा दुई दिन भुलिएर के गर्नु ? परिवार पाल्नै प¥यो, मत दिएर जिताएका नेताले विगतमा केही गरिदिएको भए चुनावको मुखैमा म किन बिदेसिनु पथ्र्यो र ?’ उनको दुखेसो छ ।

विमानस्थलबाट वैदेशिक रोजगारीका लागि पहिलोपटक कतार जाँदै गरेका रसुवाका नवराज न्यौपाने पनि निर्वाचनभन्दा आफ्नो दैनिक घर खर्च चलाउने पैसा कमाउने विषय प्राथमिकतामा रहेको बताउँछन् ।

उनले आफ्नै गाउँका नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका मोहन आचार्यलाई सहयोग गर्न छिमेकीले दबाब दिँदादिँदै पनि आगामी तीन वर्षका लागि कतार जान लागेको बताए ।

यहाँ बसेर अनेक दुःख गर्दा पनि परिवार पाल्न मुस्किल भएपछि बाध्य भएर वैदेशिक रोजगारीमा हिँडेको उनको भनाइ छ । उनी आइतबार दिउँसो साढे १ बजे जेट एयरवेजको नियमित उडानबाट दोहातर्फ लागेका हुन् ।

उनले आगामी निर्वाचनमा विभिन्न दलले आफ्ना घोषणापत्रमा नै उल्लेख गरी विदेशमा कार्यरत करिब ४० लाख नेपालीलाई घर फर्काएर स्वदेशमै आकर्षक रोजगारीको व्यवस्था मिलाउनेसम्मका आश्वासन दिएपछि अहिलेसम्म स्वदेशमा रोजगारी प्राप्त हुने कुनै संकेत नदेखिएको गुनासो गरे ।

दलका नेताहरूले यहाँका युवालाई स्वदेशमै रोजगारीको अवसर उपलब्ध हुने वातावरण मात्र बनाइदिएको भए हामी चुनाव आउन जम्मा १३ दिन मात्र बाँकी रहँदा किन बिदेसिन बाध्य हुन्थ्यौं र ?’ बिदेसिनुको पीडा सुनाउदै उनी भन्छन् ।

घरेलु कामदारका रूपमा दुबई जाने क्रममा त्रिभुवन विमानस्थलमा भेटिएका ताप्लेजुङका आशिष राई पनि निर्वाचनभन्दा परिवार पाल्ने विषय प्रमुख रहेको भन्दै बिदेसिए । विमानस्थल मूल गेटबाट बिदा हँुदै गर्दा उनलाई बिदाइ गर्न आएका परिवारसामु उनी भन्दै थिए, ‘म त हिँडे गाउँमा गएर तपाईंहरूले उम्मेदवार भेट्नुभयो भने सोध्नुहोला, तपाईंलाई मत दिएर जिताएपछि हामीजस्ता युवाले परिवार पाल्न खाडी राष्ट्र धाउने दिन जान्छन् त ?’
आइतबार अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गरेका चौधरी, न्यौपाने र राई केवल प्रतिनिधि पात्र मात्र हुन् । निर्वाचनको मुखैमा वैदेशिक रोगजारीका लागि खाडीलगायतका मुलुक जानेको लर्को विमानस्थलमा निकै लामो हुन थालेको छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार निर्वाचनको मिति नजिकिएसँगै दैनिक सरदर करिब १ हजार ६ सय जना कामदार वैदेशिक रोजगारीका लागि बाहिरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्