Logo

व्यापारीको कब्जामा तरकारीको भाउ



सरदर दुई महिना मिहिनेत गरेका किसानलाई तिरेकोभन्दा चार गुणा बढाएर उपभोक्तालाई बिक्री –

किसानले उब्जाउ गरेको तरकारीको भाउ थोक व्यापारीको नियन्त्रणमा पुगेको छ । जसकारण अहिले तरकारीको भाउ अकासिँदा उपभोक्ताले चर्को मूल्य तिर्नुपरेको छ । औसतमा दुई महिना लगाएर तरकारी उत्पादन गर्ने किसान न्यून मूल्यमा बिक्री गर्न बाध्य छन् । मंगलबार धादिङको तरकारी संकलन केन्द्र धार्केमा धुनीबेसी नगरपालिका– ५, पुरानो धार्केका कृषक रामभक्त भुजेलले स्थानिय काउली ५० रुपैयाँ प्रतिकिलोमा बिक्री गरे । उनीसँग ५० रुपैयाँ प्रतिकिलोमा काउली खरिद गर्ने व्यवसायीले आधा घण्टापछि उपभोक्तालाई ९० रुपैयाँ प्रतिकिलोमा बिक्री गरे ।

धार्केस्थित तरकारी संकलन केन्द्रका व्यवसायीले काठमाडौंको कालिमाटी तरकारी बजारमा दिनहुँ तरकारी पठाउँछन् । संकलन केन्द्रका व्यापारीले काठमाडौं पठाउने तरकारीको भाउ थाहा पाउँदैनन् । ‘हामीले तरकारी पठाउने हो, भाउ कालिमाटीकै व्यापारीले तोकेर हामीले पाउने भाग पठाइन्छन्’ त्यहाँका एक व्यवसायी भन्छन् । किसानले ५० रुपैयाँ प्रतिकिलोमा बेचेको काउली कालिमाथीको थोक बजारमा मंगलबार बिहान ५ बजे ९० रुपैयाँ प्रतिकिलोमा काठमाडौंका साना बजार, पसल र ठेलागाढामा राखेर बिक्री गर्ने व्यवसायीले खरिद गरेका थिए ।

थोकमा ९० रुपैयाँ पुगेको काउली कालिमाटीकै खुद्रा बजारमा बिहान ७ बजेबाट प्रतिकिलो १ सय १० रुपैयाँमा बिक्री भएको थियो । कालिमाटीबाट टाढा रहेका उपभोक्ताले यो मूल्य पनि पाउँदैनन् । कालिमाटीबाट तरकारी लैजाने साना खुद्रा व्यापारीले ढुवानी खर्च, पसल भाँडा, ज्याला लगायत जोड्छन् । जसकारण उपभोक्ताको भान्सासम्म पुग्दा काउली झन् महगिन्छ । मंगलबार बिहान ९ बजे ललितपुरको भैंसेपाटीस्थित एक तरकारी पसलमा काउली १ सय ४० रुपैयाँ प्रतिकिलोमा उपभोक्ताले खरिद गरेका छन् । नयाँपत्रिकाबाट

तरकारी कम आएको छैन
मंगलबार बिहान ५ बजे कालिमाटीको थोक बजार पुग्दा त्यहाँ सबै प्रकारका तरकारी उपलब्ध थिए । व्यापारील आ–आफ्नो स्टलमा करिब एउटै भाउ लगाएर तरकारी बिक्रीका लागि राखेका थिए । विभिन्न बजार तथा पसलमा लगेर तरकारी बिक्री गर्ने उदेश्यले खरिद गर्न पुगेका खुद्रा बिक्रेताले भ्यान र मोटरसाइकलमा मनग्ये तरकारी लगेको दृश्य देखिन्थ्यो । थोकमा प्रति ५ किलोका दरले सबै तरकारी उपलब्ध थिए । उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले मागअनुसार आपूर्ती नहुँदा मूल्य बढेको भन्ने दाबी झुट भएको बताउँछन् । ‘व्यापारीले भनेको मूल्य हाल्छु भन्दा जुनसुकै तरकारी पनि पाइन्छ, कम मूल्यमा मात्र नपाइएको हो’ उनले भने ।

थोक व्यापारीले मूल्य तोक्छन्
केही दिनअघि कालिमाटी तरकारी बजारमा मूल्यको अनुगमन गर्न पुगेको आपूर्ती व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागका कर्मचारीले थोक व्यापारी भेला भई खुद्राका लागि मूल्य तोक्ने गरेको भेटाएको छ । ‘थोक व्यापारीले एक ठाउँमा भेला भई मूल्य तोक्ने र खुद्रामा पाउने गरेका अनुगमनबाट देखिएको छ’ विभागका महानिर्देशक कुमारप्रसाद दाहालले भने ।

यस्तो छ मूल्य श्रृङ्खला
१) किसानले आफ्नो बारीमा औषतमा २ महिना लगाएर तरकारी उत्पादन छन् । तरकारी बजारमा पहुँच बिहिन किसानले स्थानिय संकलन केन्द्रले तोकेको दर भाउमा तरकारी बेच्छन् । जुन भाउले किसानको मेहनत पाउँदैनन् । ‘हरेक दिनजसो आँखै अगाडी आफ्नो उत्पादन आधा नाफा खाएर व्यवसायीले विक्रि गर्छन, हेरेर बस्नुको विकल्प छैन । तरकारीको मुल्य पनि व्यापारीले नै निर्धारण गर्छन् । प्रतिबाद गरौं भने तरकारी विक्री हुँदैन, नबेचौं जिविका चल्दैन’ धादिङस्थित धुनीबेसी नगरपालिका– ५, पुरानो धार्केका कृषक रामभक्त भुजल गुनासो गर्छन् ।

२) स्थानिय संकलन केन्द्रले तरकारी बिक्री हुने सहरी क्षेत्रमा प्रतिकिलो १ देखी ५ रुपैयाँ नाफा लिएर पठाउँछन् । गाउँको संकलन केन्द्रले यसका लागि कुनै लगानी गरेका छैनन् । सडकको पेटी वा चोकको छेऊमा त्रिपाल ओछ्याएर तरकारी राखिएको हुन्छ । बेलुका ट्रक आएर तरकारी सोही ठाउँबाट उठाउँछन् । गाउँका संकलन केन्द्रबाट उपभोक्तालाई तरकारी बिक्री गर्ने थोक व्यापारी होइन, विभिन्न बजारमा तरकारी बिक्री गर्ने व्यवसायीसँग सम्पर्क भएका ठूला थोक व्यापारी कहाँ पुग्छ ।

३) काठमाडौं उपत्यकाको हकमा सबैभन्दा धेरै कालिमाटी बजारमा तरकारी आइपुग्छ । ट्रक र कन्टेनरमा आउने तरकारी ठूला थोक व्यापारीले स्टल लिएर बसेका अन्तिम थोक व्यापारीलाई दिन्छन् । ठूला थोक व्यापारीले पनि स्टल राखेका छन् । दुवै व्यापारीको प्रत्यक्ष भेटघाट हुने भएका कारण नाफाको दर आपसी समझदारीमा तय गर्छन् ।

४) कालिमाटीमा स्टल लिएकार केही थोक बिक्रेताले सोझै संकलन केन्द्रबाट तरकारी आपूर्ती पनि गर्ने गरेका छन्, तर यस्ता थोकको संख्या कम छ । अन्तिम थोक बिक्रेताले खुद्रामा बिक्री गर्ने तरकारीको भाउ निर्धारण गर्न भेला बस्छन् । र, तराईका विभिन्न जिल्लादेखी उपत्यका आसपासका जिल्लादेखी ल्याएको तरकारीको परिमाण र ढुवानी लागतसबै हिसाब गरी प्रचुर नाफा राखेर खुद्राका लागि थोक मूल्य गर्छन् ।

५) उपभोक्तालाई तरकारी उपलब्ध गराउने पसले, ढेलागाढा संचालक, साना तरकारी बजारका व्यवसायीलगायत प्रत्येक दिन बिहान कालिमाटीको थोक बजार पुग्छन् । त्यहाँ आलू, प्याज प्रतिबोरा, गोलभेडा प्रति क्यारेट र अन्य तरकारी ढक (प्रति पाँच किलो) मा बिक्री हुन्छन् । त्यहाँबाट खरिद गर्नेले उपभोक्तालाई आफैले निर्धारण गरेको भाऊमा बिक्री गर्छन् ।

६) खुद्रा पसलेकहाँ पुगेर दिनुहँ बार्गिनिङ गरी तरकारी खरिद गर्नु उपभोक्ताको नियति बनेको छ ।



प्रतिक्रिया दिनुहोस्