Logo

निर्वाचन नजिकिँदै जाँदा उम्मेदवार केन्द्रित आक्रमण बढ्दै, सरकारको सुरक्षा योजना फितलो बन्दै



काठमाडौं २ मंसिर ।
निर्वाचन सुरक्षा योजना बनाउने क्रममा गृह मन्त्रालय र सुरक्षा अधिकारीहरूको आकलन थियो, ‘स्थानीय तहको निर्वाचनमा जस्तै तर्साउन सामान्य किमिसका आक्रमण हुन सक्छन्, त्यसले ठूलो चुनौती हुँदैन ।’ केही दिनअघि रुकुम र रोल्पामा माओवादी केन्द्रका नेतामाथि पटक–पटक आक्रमण हुँदासमेत गृहका अधिकारीहरू त्यसलाई ‘अनुमान गरिएका घटना’ भनिरहेका थिए । तर, दुई–तीन दिनयता लगातार एमाले र कांग्रेसका उम्मेदवारमाथि पनि आक्रमण बढ्न थाल्यो, त्यसले उनीहरूलाई झस्काइ दिएको छ । गृह मन्त्रालयको निर्वाचन सुरक्षा योजना असफल जस्तै भएको छ । निर्वाचन आयोगले शुक्रबार सुरक्षा अवस्थाबारे सरकारको ध्यानाकर्षण गराउँदै विज्ञप्ति नै निकालेको छ ।

कांग्रेस, एमाले र माओवादी केन्द्रकै उम्मेदवारमाथि आक्रमण
शृंखलाबद्ध बम आक्रमणले विभिन्न दलका उम्मेदवार प्रचारप्रसारमा हिँड्नसमेत डराउन थालेका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलगायत समूहले दुई दर्जनभन्दा धेरै ठाउँमा आक्रमण गरिसकेका छन् । शुक्रबार कांग्रेस नेता डा. रामशरण महतमाथिको आक्रमण द्वन्द्वकाल सम्झाउने खालको थियो । तर्साउन मात्र नभई ठूलै क्षतिको उद्देश्यले आक्रमण भएको आकलन गरिएको छ । शुक्रबार नै रोल्पामा माओवादी केन्द्रका नेताहरू ओनसरी घर्ती, कृष्णबहादुर महरा र वर्षमान पुन चढेको गाडी लक्षित गरी बम आक्रमण भयो । यसअघि पश्चिम रुकुममा माओवादी केन्द्रका नेता जनार्दन शर्मा, रोल्पामा वर्षमान पुन, भोजपुरमा एमाले नेता शेरधन राई, संखुवासभामा एमाले उम्मेदवार राजेन्द्र गौतम, म्याग्दीमा कांग्रेस उम्मेदवार खमबहादुर गर्बुजा, गोरखामा माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठमाथि बम आक्रमणका घटना भइसकेका छन् ।

के छ गृहको नयाँ योजना ?
शुक्रबार नुवाकोटको घटनापछि गृह मन्त्रालयका अधिकारी नयाँ सुरक्षा योजना बनाउन छलफलमा जुटेका छन् । आक्रमणकारीविरुद्ध कठोर बन्न गृहले जिल्लाका सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएको छ । गृहप्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीका अनुसार थप सतर्कता अपनाएर चेकजाँच र कारबाही सशक्त बनाउन निर्देशन दिइएको छ । ‘सबै उम्मेदवारसँँग नियमित सम्पर्कमा रहन जिल्ला–जिल्लामा निर्देशन दिएका छौँ,’ उनले भने, ‘चुनावविरोधी गतिविधि नियन्त्रण र कारबाही सशक्त हुन्छ ।’

प्रहरी प्रवक्ता डिआइजी मनोज न्यौपाने भने सुरक्षा अवस्था सृदृढ नै भएको दाबी गरे । ‘लुकेर केही छिटपुट घटना भएका हुन्, सुरक्षा अवस्था सुदृढ नै छ,’ उनले भने, ‘आक्रमण बढेपछि थप सुदृढ बनाउने छौँ ।’ सुरक्षा थप सुदृढ बनाउने ठोस योजना भने उनले बताएनन् ।

पूर्व प्रहरी महानिरीक्षक कुवेरसिंह रानाले आक्रमणको तरिका अलि गम्भीर देखिएकाले सुरक्षा निकाय त्यहीअनुसार अघि बढ्नुपर्ने बताए । ‘नुवाकोटको शुक्रबारको घटना हेर्दा तर्साउन मात्र आक्रमण भएको देखिँदैन,’ उनले भने, ‘यस्तो अवस्थामा सुरक्षा निकाय अलि बढी प्रो–एक्टिभ तरिका अपनाउनुपर्छ । त्यस्तो समूहको खोजी, नियन्त्रण र कारबाहीलाई प्रभावकारी बनाउनुपर्छ ।’

एक सय ७५ थुनामा
उम्मेदवारमाथि आक्रमण, बम विस्फोट तथा चुनावविरोधी गतिविधिमा संलग्न भएको आरोपमा १७५ जना प्रहरी हिरासतमा छन् । देशभरिका प्रहरी कार्यालयमा शुक्रबार दिउँसोसम्मको तथ्यांकअनुसार १७५ जनालाई पक्राउ गरी कारबाही अघि बढाइएको केन्द्रीय प्रहरी डिआइजी मनोज न्यौपानेले बताए । पक्राउ पर्नेमध्ये १५० भन्दा धेरै विप्लव नेतृत्वको कम्युनिस्ट पार्टीका कार्यकर्ता छन् । केहीलाई सार्वजनिक तथा केहीलाई विस्फोटक पदार्थ ऐनअनुसार कारबाही अघि बढाइएको छ ।
नयाँपत्रिकाबाट



प्रतिक्रिया दिनुहोस्