Logo

रोकिएका मतदान केन्द्रमा २१ गते मतदान



काठमाडौं ११ मंसिर । रुकुमको दुईवटा मतदान कन्द्रमा पुनः मतदान गरिने भएको छ । आज भएको मतदानको क्रममा एसिड परेर मतपत्र जलेपछि पुनः मतदान गरिने निर्वाचन आयोगले जानकारी दिएको छ । रुकुम पश्चिमको बाँचीकोट गाउँपालिका–५ स्थित रत्ना निमावि मतदान केन्द्र र आठबीसकोट नगरपालिका–१२ गत्तासैना मतदान केन्द्रमा पुनःमतदान गरिने रुकुम पश्चिमका मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जानकारी दिए । यी दुई मतदान केन्द्रमा आगामी मंसिर २१ गते मतदान गरिने उनले बताए ।

रत्ना निमाविको मतदान केन्द्रमा प्रतिनिधिसभाको र गत्तासैना मतदान केन्द्रमा समानुपातिकतर्फको मात्र मतदान हुने उनले बताए । दुवै मतदान केन्द्रको मतपेटिकामा एसिड राख्ने मान्छेको पहिचान हुन नसकेको र उनीहरूको खोजीकार्य जारी रहेको रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिए । रत्ना निमाविमा २५० र गत्तासैनामा ३६५ मत खसेपछि एसिड परेर मतपत्र जलेकाले मतदान स्थगित भएको थियो ।



प्रतिक्रिया दिनुहोस्