Logo

मोर्चाले निर्वाचन विरोधी कुनै गतिविधि नगर्ने



भद्रपुर, १४ मंसिर । नेपाल राष्ट्रवादी संयुक्त मोर्चाले निर्वाचनको समयमा आफ्ना सबै गतिविधिलाई शान्तिपूर्ण बनाउने प्रतिबद्धता जनाएको छ ।

झापाका अग्रज अधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधिसँग संवाद समूहमा बुधबार भएको छलफलमा मोर्चाका केन्द्रीय पदाधिकारीले त्यस्तो प्रतिबद्धता जनाएका हुन् ।

उहाँहरुले आफ्ना विचार र कार्यक्रमलाई शान्तिपूर्ण बाटोबाट जनतासमक्ष पु¥याउने जनाएका छन् । ‘मोर्चाको कार्यक्रम, निर्वाचन र शान्ति–सुरक्षाको सवाल’ बारे भएको छलफलमा चार बुँदे प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

निर्वाचन रोक्न माग गरेको र विरोधी गतिविधि गरेको आरोपमा अघिल्लो साता मोर्चाका केन्द्रीय नेता बिर्तामोडबाट पक्राउ परेका थिए । छलफलमा मोर्चाका नेताले आफूहरु निर्वाचन विरोधी नभएको, निर्वाचन बिथोल्ने कुनै गतिविधि नगरेको र नगर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

झापाका अधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधिले जनभावनाको कदर गर्न र संविधानले दिएको अधिकार उपयोग गरी शान्तिपूर्ण ढंगबाट आफ्ना गतिविधि बढाउन उहाँहरुलाई सुझाव पनि दिनुभयो ।

संवाद समूह झापाले संयोजन गरेको छलफलमा मुलुकको आवश्यकता, मोर्चाका जायज माग सम्बोधनका लागि सरकार, राजनीतिक दल तथा सरोकारवाला सबैको ध्यानकर्षण गराउने समेत सहमति भएको छ ।

त्यस्तै पछिल्लो समय विभिन्न पक्षबाट शान्ति सुरक्षा खल्बल्याउन बम विस्फोट गराउनेलगायतका गतिविधि भइरहेको भन्दै मोर्चाका नेतासहित छलफलमा सहभागीले त्यस्ता गतिविधि तत्काल रोक्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।

प्रतिबद्धता तथा सहमतिमा मोर्चाका केन्द्रीय संयोजक रामचन्द्र क्षेत्री बानियाँ, संगठन विभाग प्रमुख महेन्द्र शर्मा, केन्द्रीय सदस्य सुरेन्द्र कार्की र झापा जिल्ला अध्यक्ष कृष्ण चुडालले हस्ताक्षर गरेका छन् ।

मोर्चाका नेताले ३७ जिल्लामा आफ्नो संगठन विस्तार भएको जनाउँदै मोर्चा शान्तिको पक्षमा रहेको बताएका छन् । छलफलको सहजीकरण पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी र अधिवक्ता खगेन्द्र खरेलले गर्नुभएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्