Logo

उत्तरी मोरङका मतदाताको मागः सडक र बिजुली



मोरङ, १४ मंसिर । मोरङ भन्ने बित्तिकै एउटा सुगम जिल्लाको रुपमा चिनिन्छ । तर मोरङ जिल्लाका कतिपय यस्ता विकट क्षेत्र छन् जहाँ अहिलेसम्म पनि सहज यातायात सेवा, बिजुली र स्वास्थ्य सेवा पुग्न सकेको छैन ।

मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिँदै जाँदा दलका उम्मेदवार यसपटक पनि ती विकट क्षेत्रमा सडक र बिजुली पु¥याइदिने पुरानै प्रतिबद्धता बोकेर मतदाताकहाँ पुगेका छन् । निर्वाचनमा भोट माग्न आउने नेतासँग २२ वर्षदेखि गाउँमा सुविधा सम्पन्न सडक र बिजुलीको माग गरे पनि पूरा हुन नसकेको मिक्लाजुङ गाउँपालिका–१ रमितेखोलाकी लिला लिम्बूले बताउनुभयो ।

गाउँमा सुविधा सडक र बिजुली माग गरेको दुई दशक पार गर्दा पनि पूरा हुन सकिरहेको छैन । उहाँका अनुसार निर्वाचन आउँदा नेताहरुले वर्षौंदेखि सडक र बिजुलीको एजेण्डा मात्रै बोकेर आउने गरेका छन् ।

निर्वाचनका बेला नेताका लागि रमितेखोला सडक र बिजुलीको मुख्य एजेण्डा बन्ने स्थलका रुपमा मात्रै परिचित भएको लिम्बूले बताउनुभयो । बिसं २०५२ बाट टाँडीदेखि आइतबारेसम्मको १३ किलोमिटर सडकको ट्रयाक खोलिए पनि त्यहाँबाट स्तरोन्नतिको कुनै काम हुन सकेको छैन ।

विसं २०६० सम्ममा ट्रयाक खोल्ने काम पनि सकियो । तर त्यसको १४ वर्षसम्म सडकको स्तरोन्नतिका लागि कुनै काम हुन सकेको छैन ।

मोरङको साविक टाँडी गाविस हालको मिक्लाजुङ गाउँपालिका–३ देखि साविकको रमितेखोला गाविस हालको मिक्लाजुङ–१ सम्म सडकको ट्रयाक खोल्ने काम स्थानीयस्तरको दबाबमा भए पनि त्यसपछि सडक विकासका कुनै काम भएका छैनन् । सुगम जिल्लाका रुपमा चिनिने मोरङको रमितेखोला जिल्लाकै कर्णालीका रुपमा परिचित छ ।

अतिनै दुर्गम र विकट स्थानका रुपमा रहेको रमिते खोलासम्म पुग्ने सडक अति नै जीर्ण छ ।खोलिएको ट्रयाकमा सवारी आवागमन गर्न एकदमै गाह्रो छ । स्थानीय बासिन्दा ज्यान जोखिममा राखेर यात्रा गर्न बाध्य छन् ।

स्थानीय बताहा खोलामा बर्खामा आउने बाढीका कारण टाँडी र रमिते खोलासम्म सवारी आवागमन ठप्प भएर आवतजावत बन्द हुनुका साथै रमितेखोलाको पूर्वी मोरङसँग सम्पर्कनै विच्छेद हुने गरेको छ । रमितेखोलामा हालसम्म केन्द्रीय प्रसारणको विद्युत् पनि पुग्न सकेको छैन ।

रमितेखोलास्थित टाँडी माविका प्रधानाध्यापक अमृत राईले नेतामा इच्छा शक्तिको कमी हुँदा सुगम जिल्ला भनेर चिनिने मोरङको दुर्गम र विकट क्षेत्रका बासिन्दा सधैँभरि पीडामा हुने गरेको बताउनुभयो ।

स्थानीय समाजसेवी पर्वत राईले स्थानीयस्तरमा सडक, बिजुली, स्वास्थ्य र शिक्षाको समस्या रहेको बताउनुभयो । उच्च शिक्षा अध्ययनका लागि विद्यार्थी सुविधा सम्पन्न सहरसम्म पुग्नुपर्ने बाध्यता छ ।”

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा मोरङको निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने मिक्लाजुङमा धेरै नेता भोट माग्न पुगिसकेका छन् ।

स्थानीयवासीका अनुसार सबै नेताले रमितेखोलामा विद्युत् र सुविधासम्म सडक आफ्नो प्राथमिकतामा रहेको भाषण गर्ने गरेका छन् । रमितेखोलामा एक हजार ३०० मतदाता छन् । रासस



प्रतिक्रिया दिनुहोस्