Logo

झनै बढ्यो वाम वर्चस्व



काठमाडौं २५ मंसिर ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये आइतबार राति ११:३० बजेसम्म परिणाम आएका १ सय २५ स्थानमध्ये वाम गठबन्धनले ९५ स्थानमा विजय हासिल गरेको छ । गठबन्धनको प्रमुख घटक नेकपा एमालेले ६८ र माओवादी केन्द्रले २७ स्थानमा जित हासिल गरेका छन् । नेपाली कांग्रेसले १४ तथा राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम, नयाँ शक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतले १६ स्थानमा जितेका छन् ।

एमालेले १२, माओवादीले ८, नेपाली कांग्रेसले ८ र अन्यले १० स्थानमा अग्रता लिइरहेका छन् । समानुपातिकतर्फको मत गणनाको भने परिणाम आइसकेको छैन ।

आइतबार घोषित परिणामअनुसार धेरै शीर्ष नेता प्रतिनिधिसभामा पुगेका छन् भने कतिपयले पराजय व्यहोर्नुपरेको छ । एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र सदस्यहरू राजेन्द्र महतो र अनिल झा विजयी भइसकेका छन् । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव यसअघि नै विजयी भइसकेका छन् । शीर्ष नेताहरूमध्ये माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको परिणाम आउन बाँकी छ । चितवन–३ मा राप्रपाका विक्रम पाण्डेसँग दाहाल ५ हजार मतले अगाडि छन् ।

ठाकुर, महतो र यादवले यसअघि चुनाव लड्दै आएका साबिकका जिल्ला र क्षेत्र छाडेर अन्यत्रबाट जित हात पारेका हुन् । ठाकुरले यसअघि कांग्रेसमै रहँदा सर्लाहीबाट ०४८, ०५१ र ०५६ को संसदीय चुनाव जितेका थिए । तर, कांग्रेस छाडेर मधेसी दलको संस्थापक भएपछि ठाकुरले पहिलो पटक जित हात पारेका हुन् ।

०६४ र ०७० को संविधानसभा निर्वाचनमा उनले तत्कालीन तमलोपा पार्टीबाट सर्लाहीमा हारेका थिए । एमाले नेताहरू माधव नेपाल, झलनाथ खनालले पनि जित हासिल गरिसकेका छन् । राजपा परित्याग गरी वाम गठबन्धनबाट एमालेको सूर्य चिह्न लिएर चुनाव लडेका हृदयेश त्रिपाठी र वृजेश गुप्ताले पनि जित हात पारेका छन् । त्यस्तै, फोरमबाट कांग्रेस प्रवेश गरेका अभिषेकप्रताप शाहले पनि चुनाव जितेका छन् ।

एमालेका प्रभावशाली नेता वामदेव गौतमले भने बर्दियामा हार व्यहोरेका छन् । उनी कांग्रेस उम्मेदवार सञ्जय गौतमबाट थोरै अन्तरमा पराजित भए । वाम गठबन्धनबाट माओवादी नेता नारायणकाजी श्रेष्ठपछि पराजय व्यहोर्ने ठूला नेता उनै हुन् । वाम गठबन्धनले ठूलो बहुमतका साथ सत्तारोहणको तयारी गरिरहँदा गठबन्धनका सूत्रधार मानिने श्रेष्ठ र गौतम भने पराजित भएका छन् । श्रेष्ठ आफ्ना पूर्वसहयात्री नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईसँग गोरखामा पराजित भएका हुन् । वाम गठबन्धन तथा राजपा र फोरमको छुट्टै गठबन्धनको परिणामस्वरूप कांग्रेस खुम्चिन पुगेको छ । उसका धेरै केन्द्रीय नेताले चुनाव हारेका छन् ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तथा पूर्वमहामन्त्रीहरू विमलेन्द्र निधि र कृष्ण सिटौलासम्मले पराजय बेहोरेका छन् । पौडेलले ०४८ सालयता भएका ५ वटै चुनावमा तनहुँबाट जितेका थिए । तर, यस पटक वाम गठबन्धनका उम्मेदवारबाट उनी पराजित भएका छन् ।

धनुषा–३ मा निधिले राजपा नेता राजेन्द्र महतोबाट हार व्यहोर्नुपरेको छ । त्यस्तै सिटौलाले वाम गठबन्धनले सघाएको राप्रपा नेता राजेन्द्र लिङदेनसँग हारेका छन् । कांग्रेससँगको गठबन्धनबाट उम्मेदवार बनेका राप्रपा अध्यक्ष कमल थापा र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाले पनि हार व्यहोरिसकेका छन् । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्