Logo

निर्वाचित भएपछि दाहाल पुनः घरदैलो अभियानमा



चितवन, २६ मंसिर । नेकपा९माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आजदेखि मतदातालाई धन्यवाद ज्ञापनका लागि घरदैलो अभियान शुरु गर्नुभएको छ ।

वाम गठबन्धनको सो क्षेत्रको निर्वाचन परिचालन समितिका संयोजक सूर्य सुवेदीअनुसार शिवनगरस्थित आफ्नै निवास रहेको महेन्द्र चोकबाट शुरु भएको अभियान फूलबारी, मंगलपुर, विजयनगर, रामपुर चनौली, ज्योतिनगर, पर्साढाप, गोलाघाट, लेबरनगर, शुक्रनगर हुँदै आज साँझ पार्वतीपुरको लाहुरेचोकमा आएर समापन हुँदैछ ।

बुधबार सोही क्षेत्रको माडी र भरतपुर महानगरपालिकाका जगतपुर, पटिहानी, गीतानगर, चोकबजार, गौरीगञ्ज हुँदै केन्द्रीय बस ट्रमिनलमा आएर अभियान समापन हुँछ । संयोजक सुवेदीका अनुसार गाडी नरोकीकनै दाहालले गाडी माथिबाट सबैलाई आभार प्रकट गर्ने कार्यक्रम तय गरिएको छ ।

मतदातालाई सडकमा नै गाडीमाथिबाट उहाँले धन्यवाद दिइरहनु भएको छ । सो क्षेत्रमा समर्थकले फूलमाला र पानीका घडा राखेर दाहाललाई स्वागत गरेका छन् ।

वाम गठबन्धनको सो क्षेत्रका प्रचार संयोजक सुरेशचन्द्र अधिकारीका अनुसार विजय पदयात्रामा दाहालसँगै सो क्षेत्र क प्रदेशबाट निर्वाचित नेकपा ९एमाले०का कृष्ण भूर्तेल र ख प्रदेशबाट निर्वाचित नेकपा माओवादी केन्द्रका रामलाल महतो पनि सहभागी हुनुभएको छ ।

आफू हुर्किबढेको ठाउँमा दाहाल पहिलो पटक निर्वाचन लड्न आउनुभएको हो । उहाँले राप्रपा९प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डेलाई नौ हजार ३२३ मतले पराजित गर्नुभएको थियो । दाहालले ४८ हजार २७६ मत पाउँदा पाण्डेले ३८ हजार ९३५ मत प्राप्त गर्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्