Logo

चलचित्र ‘कृ’ को ट्रेलरले रच्यो किर्तिमानी रेकर्ड



काठमाडौं, ३ पुस । अनमोल केसी स्टारर फिल्म ‘कृ’को प्रतिक्षा झन्डै डेढ वर्षदेखि व्यापक रुपमा भइरहेको छ । यसैबीच फिल्मको ट्रेलर निर्माण पक्षले शुक्रवार साँझ युुट्युबमा सार्वजनिक गर्‍यो । इन्टरनेटमा रिलिजसँगै ‘कृ’ ट्रेलरले लाखौं भ्यू पाइरहेको छ । योसँगै ट्रेलरले युट्युबमा नेपाली फिल्मको ट्रेलरले यसअगाडि बनाएको सबै रेकर्डलाई तोडिदिएको छ ।

यसअघि सबैभन्दा चाँडो युट्युबमा सर्वाधिक हेरिने ट्रेलरको रेकर्ड फिल्म ए मेरो हजुर २ को नाममा थियो । फिल्मको ट्रेलरले युट्युबमा सार्वजनिक २४ घण्टामा साढे ५ लाख बढी भ्यू पाएको थियो । तर, ‘कृ’ले युट्युबमा यो रेकर्ड पनि तोडेको छ । यसलाई, सार्वजनिक भएको २२ घन्टामै ६ लाखभन्दा बढी पटक हेरिएको छ ।

फिल्मको ट्रेलर सार्वजनिक भएको १९ घन्टामै नेपालमा युट्युब ट्रेन्डिङको नम्बर १ स्थानमा उक्लिएको छ । ट्रेलर सार्वजनिक भएको २ घन्टामै १ लाख पटक हेरिएको पहिलो ट्रेलर नै ‘कृ’को बनेको छ । ट्रेलरलाई २८ हजार लाइक र २ हजार डिसलाइक मिलेको छ । ६ हजारभन्दा बढी कमेन्ट प्राप्त ‘कृ’ ट्रेलरलाई अधिकांशले उत्कृष्ट प्रतिक्रिया दिएका छन् ।

अनमोलको क्रेज फिल्मको ट्रेलरले बनाएको किर्तिमानी रेकर्डले नै प्रष्ट पार्छ । यो फिल्म माघ २६ गतेबाट प्रदर्शनमा आउँदैछ । ट्रेलर हेर्ने सबैले अनमोलको रोमान्टिक र एङ्ग्री अवतारलाई खुब रुचाएका छन् । ‘कृ’ को अर्थ रिभेन्ज हुन्छ ।

सुवास इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई द सुपर काजोल फिल्मस्ले प्रस्तुत गरेको हो । फिल्ममा अनमोल केसी, अदिती वुढाथोकी, सरोज खनाल, रुपा राना, अनुपविक्रम शाही, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका छ ।

सुवास गिरी र भूवन केसी निर्माता रहेको फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । फिल्मका कार्यकारी निर्माता कमल गिरी हुन् भने सह–निर्माता श्री पराजुली रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्