Logo

ओली, देउवा र प्रचण्डसँग मोदीको फोनवार्ता, के भयाे कुराकानी ?



काठमाडौं ७ पुस । नेपालका प्रमुख तीन दलका अध्यक्षसँग भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले टेलिफाेन संवाद गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी अाेली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आज टेलिफोन कुरकानी गरेका हुन् ।

संविधान कार्यान्वयनकाे क्रममा प्रदेश तथा  प्रतिनिधिसभा निर्वाचित सम्पन्न भएकाे सन्दर्भ पारेर माेदीले नेता त्रयलार्इ टेलिफाेन गरी बधार्इ दिए । सफलतापूर्वक निर्वाचन सम्पन्न गराएकामा प्रधानमन्त्री देउवाकाे प्रशंसा गरेका माेदीले ठूलाे सफलता हासिल गरेकामा एमाले अध्यक्ष अाेलीलार्इ बधार्इ दिएकाे नेताहरूका सचिवालयले जनाएका छन् ।

निर्वाचनमा वाम गठबन्धनको ठूलो सफलताका लागि अध्यक्ष ओलीलाई बधाई तथा शुभकामना दिँदै मोदीले यस सफलताले नेपालमा लोकतन्त्रलाई सुदृढ बनाएको बताए । यस्तै, निर्वाचनमा हासिल परिणाम र गठबन्धनको जितले नेपालमा राजनीतिक स्थायित्व कायम हुने र आर्थिक विकास हुने विश्वास उनले व्यक्त गरे ।

यस्तै मोदीले सरकार गठनलगत्तै भारत भ्रमणका लागि अध्यक्ष ओलीलाई निमन्त्रणा गरेका छन् । एमाले नेता प्रदीप ज्ञवालीका अनुसार, मोदीले ओलीलाई स्वागत गर्न आतुर रहेको भन्दै नयाँ सरकारसँग सहकार्य गर्न प्रतिक्षारत रहेको पनि बताएका थिए ।

ओलीले प्रत्युत्तरमा आफ्नो ध्यान स्थायित्व, लोकतन्त्रको सुदृढीकरण, सुशासन र आर्थिक विकासमा केन्द्रित भएको भन्दै यसका लागि छिमेकीहरुसँग सुसम्बन्ध कायम गरिने बताएका थिए । ओलीले भारत र चीनसँग शान्ति र समृद्धिका लागि सहकार्य गरिने बताए । ओलीले नेपाल भ्रमणका लागि मोदीलाई निमन्त्रणा दिए ।

देउवालाई मोदीले निर्वाचन सफलतापूर्वक सम्पन्न भएको र प्रतिनिधिसभामा निर्वाचित भएकोमा बधाई दिएको स्वकीय सचिव भानु देउवाले जानकारी दिए । प्रचण्डलाई पनि मोदीले सञ्चोविसञ्चो सोधेको, निर्वाचित भएकोमा बधाई दिएको उनका सहयोगी मनहरि तिमल्सिनाले जानकारी दिए । नयाँपत्रिकाबाट



प्रतिक्रिया दिनुहोस्