Logo

कारागारमा क्षमताभन्दा ६३% धेरै कैदीबन्दी



काठमाडौं ७ पुस ।
कैदीबन्दीको संख्या बढ्दै गए पनि कारागार व्यवस्थापन भने भद्रगोल छ । कारागार व्यवस्थापन विभागका अनुसार मुलुकभरका कारागारको क्षमता ११ हजार तीन कैदीबन्दी अटाउने छ, तर १८ हजार पाँच सय कैदीबन्दी राख्नुपरेको छ । यो संख्या क्षमताभन्दा ६३ प्रतिशतले धेरै हो । करागारको क्षमता बढाउन नसकिएपछि बन्दी व्यवस्थापनमा समस्या देखिएको छ ।

विभागका महानिर्देशक कृष्णचन्द्र घिमिरेले कारागारको क्षमता वृद्धि हुन नसक्दा विभिन्न समस्या देखिएको बताए । ‘छिटफुटबाहेक कारगारको क्षमता वृद्धि गर्न सकिएको छैन । कैदीबन्दीको संख्या भने दैनिक बढ्दो छ । यसले व्यवस्थापनमा ठूलो समस्या निम्तिएको छ,’ उनले भने ।

कुन वर्षमा कति कैदीबन्दी बढे ?
विभागको तथ्यांकअनुसार आर्थिक वर्ष ०६९-७० मा १५ हजार दुई सय कैदीबन्दी थिए । त्यो संख्या बढेर आव ०७०-७१ मा १६ हजार पाँच सय पुग्यो । आव ०७१-७२ मा १७ हजार चार सय, आव ०७२-७३ मा १७ हजार सात सय र अहिले मुलुकभर १८ हजार पाँच सय कैदीबन्दी छन् । पाँच वर्षयताको तथ्यांक विश्लेषण गर्दा प्रत्येक वर्ष कैदीबन्दीको संख्या एक हजारका दरले बढेको देखिन्छ । तर, करागारको क्षमता भने ०५० देखि बढाउन सकिएको छैन ।

४ वर्षदेखि कारागारको संख्या बढेन
०५० मा ७२ जिल्लामा ७४ कारागार थिए । त्यो संख्यामा अहिलेसम्म कुनै परिवर्तन हुन सकेको छैन । ‘मुलुकमा अपराधको घटना बढेका छन् । कैदीबन्दीको संख्या बढ्नु स्वाभाविकै हो । सरदरमा प्रत्येक वर्ष एक हजारको संख्यामा कैदीबन्दी बढेको देखिन्छ । तर, कारागारको संख्या जतिको त्यति छ, केही ठाउँका कारागारको क्षमता बृद्धि भए पनि त्यो पर्याप्त छैन,’ उनले भने । कारागार ऐन ०१९ को दफा ६ अनुसार रोगी, देवानी, फौजदारी मुद्दा लागेका पागल, अर्धपागल, महिला र अन्य कैदीबन्दी छुटाछुट्टै राखिनुपर्ने व्यवस्था छ ।

कारागारको क्षमता वृद्धि गर्न नसकिएकै कारण कैदी थुनुवा, गम्भीर प्रकृतिका अपराधी, सामान्य अपराधी, बिरामी कैदी तथा अन्य कैदीबन्दीलाई छुटाछुट्टै राख्न सकिएको छैन । ‘कानुनतः अपराधको प्रकृतिअनुसार कैदीबन्दीलाई छुटाछुटै राखिनुपर्ने व्यवस्था छ । महिला कैदीबन्दीबाहेक अरूलाई कानुनअनुसार राख्न सकिएको छैन । कारागारको क्षमता नभएकै कारण यो समस्या आएको हो,’ विभागका महानिर्देशक घिमिरेले भने ।

तेस्रोलिंगी कैदीबन्दीलाई राख्न समस्या
विभागका अनुसार कारागारमा तेस्रोलिंगी कैदीबन्दी आउँदा व्यवस्थापनमा ठूलो समस्या आउने गरेको छ । तेस्रोलिंगी कैदीबन्दीलाई पुरुष र महिला दुवै रहने कारागारमा राख्न नसकिने भएकाले समस्या आउने गरेको विभागको भनाइ छ । विभागका अनुसार तेस्रोलिंगी कैदीबन्दी राख्न छुट्टै ठाउँ नभएकै कराण गोलघरभित्र राख्नुपर्ने अवस्था आएको छ । गोलघरमा सामान्यतः गम्भीर अपराधीलाई राख्ने गरिन्छ । ‘तेस्रोलिंगी कैदीबन्दीलाई राख्न समस्या छ । पुरुष र महिला दुवै रहने ठाउँमा पनि राख्न नसकिने रहेछ । त्यसैले उनीहरूलाई गोलघरमा राखिने गरिएको छ,’ विभागका महानिर्देशक घिमिरेले भने ।

११ सय विदेशी कैदीबन्दी
मुलुकभरका ७४ कारागारमा अहिले ३५ देशका ११ सय विदेशी कैदीबन्दी छन् । त्यसमध्ये ९० प्रतिशत भारतीय कैदीबन्दी छन् । त्यसपछि बंगलादेश र पाकिस्तानका कैदीबन्दी धेरै छन् । उनीहरूमध्ये अधिकांश लागुऔषध मुद्दा र विदेशी मुद्रा अपचलनमा सजाय भोगेकाहरू छन् ।

सरकारले बजेट नदिँदा नुवाकोटको कारागार बनेन
सरकारले बजेट नदिएपछि नुवाकोटमा बन्ने भनिएको मुलुककै ठूलो कारागार निर्माण अलपत्र बन्न पुगेको छ । सात हजार चार सय क्षमताको कारागार निर्माण आव ०७३-७४ मै सुरु भएको थियो । तर, सरकारले चालू आर्थिक वर्षका लागि आवश्यक बजेट नदिएपछि निर्माण कार्य अलपत्र बन्न पुगेको छ । करिब पाँच अर्ब रुपैयाँ लागतमा चार वर्षमा कारागार निर्माण पूरा गर्ने बताइएको थियो । ‘नुवाकोटमा बन्ने भनेको कारागार निर्माण अलपत्र बनेको छ । सरकारले बजेट नदिँदा काम अघि नबढेको हो,’ विभागका महानिर्देशक घिमिरेले भने ।
नयाँपत्रिकाबाट



प्रतिक्रिया दिनुहोस्