काठमाडौं ८ पुस । नेपाल र भारतबीचका सन्धि र सम्झौता पुनरावलोकनका लागि सुझाव दिन गठित प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को छैटौं बैठक पुस अन्तिम साता तय भएको छ ।
पाँचौं बैठकसम्म भएका दुईपक्षीय छलफललाई अन्तिम रूप दिन दिल्लीमा गत कात्तिक २५ र २६ मा तय भएको छैटौं बैठक अन्तिम समयमा स्थगन भएको थियो । नेपाली टोली पुन:संरचना गर्ने कि गठन प्रक्रिया परिवर्तन गर्ने भन्ने अन्योल देखिएकै अवस्थामा यो बैठक हुन लागेको हो । समूहको म्याद सकिने आगामी असारभित्र तीनवटा बैठक बस्नुपर्ने हुन्छ । अधिकारीका अनुसार समितिको निश्चित समयसीमा, कार्यादेश र बजेट रहेकाले यसमा समय थप्न मिल्दैन । यसअघि दुईपक्षीय बैठकले तय गरेका र कार्यान्वयनमा आउन नसकेका विषयमा आन्तरिक छलफल भइरहेको जनाइए पनि देखिने गरी थप काम हुन सकेको छैन ।
सांसदको हैसियतमा ईपीजी सदस्य रहेका राजन भट्टराई काठमाडौं ४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएपछि उनको सदस्यताले निरन्तरता पाउने कि नपाउने भन्ने अन्योलबारे परराष्ट्र अधिकारीले छलफल अघि बढाएका छन् । यसबारे निक्र्याेल गर्न आइतबार ईपीजीका नेपाली सदस्यहरुको बैठक बस्दै छ ।
ईपीजीमा दुवैतर्फबाट ४/४ सदस्य छन् । ३ भिन्न क्षेत्रका विज्ञ र एक जना सांसद । २०७१ साउनमा नेपाल र भारतका परराष्ट्रमन्त्रीहरूबीच ईपीजीमा प्रतिनिधित्वबारे भएको सहमतिअनुसार प्रक्रिया अघि बढेको थियो । भट्टराई सांसदको कोटाबाट ईपीजी सदस्य बने पनि मन्त्रिपरिषद्बाट सिफारिस हुँदा सांसद नलेखिएकाले उनको सदस्यतामा कुनै असर नपर्ने तर्क पनि गरिएको छ । टोलीलाई संसद्मा समेत जिम्मेवार बनाउने तवरले यसको प्रतिनिधित्वमा सहमति भएको थियो । भट्टराई त्यतिबेला समानुपातिकतर्फका सांसद थिए ।
यसअघि दिल्लीमा तय भएको छैटौं बैठक नेपालको निर्वाचन र भारतीय टोलीका सदस्य जयन्त प्रसादको स्वास्थ्यका कारण स्थगन भएको थियो । पाँचौं बैठकमा पनि जयन्त सहभागी थिएनन् । ‘तिथि तय भएको छ । अब लगातारझैं तीन बैठक बसेर यसलाई अन्तिम रूप दिने तयारी छ । सचिवालयले यसअघि भएको बैठकको सम्झौतालाई अघि बढाइरहेको छ ।